हेटौडा : हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता यथावत् रहेको जनाएको छ।
सो पार्टीका बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले प्रदेशको मन्त्रीमा शपथ लिएको एक दिनपछि शुक्रवार हेटौँडामा हाम्रो नेपाली पार्टीले पत्रकार सम्मेलन गरी सालिकराम जमरकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता निरन्तर रहेको जनाएको हो।
प्रदेश सरकारको कामप्रति असन्तुष्टि जनाउँदै हाम्रो नेपाली पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय यसअघि गरेको थियो।
पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले पार्टीका प्रदेश सभा सदस्य बज्राचार्यलाई राजनीतिक अपहरण गरी मन्त्री बनाइएको आरोप लगाए।
‘आफै उपस्थित केन्द्रीय समितिको निर्णय विपरीत पार्टीका प्रदेश सभा सदस्य बज्राचार्य मन्त्री बन्नुभएको छ जुन पार्टीलाई स्वीकार्य छैन’, अध्यक्ष घिमिरेले भने, ‘सत्तारुढ दलहरूबाट राजनीतिक अपहरण गरी मन्त्री बनाउने काम भएको छ यसले राजनीतिमा विकृत सिर्जना गरेको छ।’
पार्टी प्रवक्ता रोहन कार्कीले बागमती प्रदेशमा सत्तारुढ दलबाट फोहोरी खेल भएको भन्दै जमरकट्टेल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र पार्टी निर्णय विपरीत गएमा कारबाही गरिने बताए।
मङ्गलबार सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको र मन्त्रीमा नजाने बताएका हाम्रो नेपाली पार्टीका नेता बज्राचार्यले दुई दिनमा नै आफ्नो बोली फेर्दै मन्त्री पदमा शपथ लिन पुगे।
हाम्रो नेपाली पार्टीले मङ्गलबार इमेलमार्फत सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको पत्र पठाएको बागमती प्रदेशको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।