|

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार प्रदेश सभामा विश्वासको मत पाएका छन्। सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेललाई ५६ जनाले मतदान गरे। ११० जना सदस्य रहेको बागमती प्रदेश सभाको बैठकमा १०८ जना सांसद थिए। त्यसमध्ये ३७ जनाले विपक्षमा मत दिए भने १५ सांसद तटस्थ बसे।

सरकारको नेतृत्व गरेको करिब डेढ वर्षमा तेस्रो पटक विश्वासको मत लिँदा जम्कट्टेलले कसिलो बहुमत पाएका छन्। सरकारको आयु लम्बिएसँगै उनको योजना के छ ? यिनै विषयमा केन्द्रित रहेर बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग थाहाकर्मी निशा गुरुङले गरेको कुराकानी- 

पहिलोपटक विश्वासको मत लिने क्रममा जम्मा चार मत मात्रै तपाईँको विपक्षमा थियो तेस्रो पटकसम्म आइपुग्दा निरन्तर खुम्चिँदै गएको छ नि ! 

यसलाई अस्वाभाविकरूपमा लिनु हुँदैन। हामी जुन प्रक्रियामा छौँ त्यसमा सफल भइसकेपछि कति संख्या, कति मत भन्ने कुराले खास अर्थ राख्दैन। मूलरूपमा बागमती प्रदेश सभाले यो सरकारप्रति विश्वास छ भन्ने कुरा बहुमतले सिद्ध गर्‍यो । जति भए पनि बहुमत नै हो। यसमा अन्यता लिनु हुँदैन। 

पछिल्लो समय साना दलहरूलाई समेट्दा धैरै माग देखिन थाल्यो ? दुई सिट भएको पार्टीले पनि मुख्यमन्त्री दाबी गर्ने अवस्था देखियो। यसलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 

हामीले यसलाई पनि अस्वाभाविक लिनु हुँदैन। किनभने हाम्रो विशेषता लोकतन्त्र भनेको सबैको आफ्नो मत राख्ने,  ‘डिमाण्ड’ राख्ने, पूरा गर्न संघर्ष गर्ने लाग्ने स्वाभाविक हो। त्यसैले अप्ठ्यारो वेलामा सबैलाई मिलाएर लग्नुपर्ने बाध्यता हुन्छ। त्यसैले चार दलको समीकरणले सबै व्यवस्थापन गरेर जान्छ। 

ठूला दल सहज परिस्थिति हुँदा साना दललाई बेवास्ता गर्छन्। जतिखेर संकट पर्छ त्यतिखेर ठूलै मूल्य चुकाउन पनि तयार हुन्छन्। अहिले बागमतीमा पनि त्यो स्थिति देखियो। दुई सांसद हुने पार्टीकालाई पनि मन्त्री बनाउनुपर्ने अवस्थालाई के भन्नुहुन्छ?
 

प्रदेश सभामा सदस्य भएर आइसकेपछि चाहे दुई सदस्य होस् चाहे ५० सदस्य, हैसियत एउटै हो। उहाँहरूले मुख्यमन्त्री र मन्त्री दाबी गर्ने कुरालाई स्वाभाविकरूपमा बुझ्नुपर्छ। यो हाम्रो संसदभित्रको प्रक्रिया हो। त्यो प्रक्रियामा सहभागी हुन सबैले पाउँछन् भन्ने ढंगले लिनुपर्छ। 

संसदीय संमितिले १५ महिनोदेखि नै नेतृत्वबिहिन छ नेतृत्व कहिले पाउँछ?

हाम्रो कार्यव्यवस्था समितिमा छलफल भएको छ। अब प्रदेश सभाको रहेको समितिका सभापति चयन गर्ने पहिलो एजेण्डा छ। त्यो हामी तुरुन्तै अगाडि बढाउनेछौँ।

प्रदेश सरकारले कहिले पूर्णला पाउँछ? 

संसदीय समितिको सभापति टुंग्याएर मात्रै सरकारलाई पूर्णता दिन्छौँ । 

माओवादी केन्द्रबाट मन्त्री हेरफेर गर्ने कुरा उठेको छ के यसको सम्भावना? 

त्यो त अस्वाभाविक होइन। मन्त्री हेरफेर गर्ने कुरा त पार्टीको निर्णय हो। त्यसकारण हुन पनि सक्छ। 

मन्त्रालयको संख्या घटाउने विषयमा के सोच्नुभएको छ?

सकेसम्म घटाउने पक्षमै छौँ। ११ वटामा ल्याउने प्रयासमा छौँ। 

आगामी आर्थिक वर्षका लागि प्रि-बजेट छलफल पनि शुरु गर्ने वेला भएको छ। यसअघिको बजेटमा प्रतिपक्षलाई नसमेट्दा प्रदेश सभाको बैठक नै प्रभावित भएको थियो अब कसरी अघि बढ्नुहुन्छ? 

अहिले त्यस्तो हुँदैन। हामी सबैलाई समेटेर अगाडि बढ्छौँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.