|

काठमाडौँ : आइतबार (चैत १८ गते) भक्तपुरस्थित शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा सिन्धुपाल्चोकका स्थायी बासिन्दा ५७ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण भयो।

२३ वटा कलेजो प्रत्यारोपण गरेको उक्त केन्द्रमा उनकै ३७ वर्षीया छोरीले आफ्नै कलेजोको टुक्रा दिएर पुनः नयाँ जीवन दिएकी थिइन्। प्रत्यारोपणपश्चात् हाल यी बाबुछोरी केन्द्रमा नै हाल थप स्वास्थ्य लाभ गरिरहेका छन्।

यसैगरी २०७६ सालमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरे। ओलीलाई आफ्नै भाञ्जी समीक्षा संग्रौलाले दान गरेको मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसयता ओली स्वस्थ जीवन बिताइरहेका छन्।

यस्तै लाजिम्पाटकी शोभा श्रेष्ठ २१ वर्षको उमेरदेखि उच्च रक्तचापको समस्या भोगिरहेकी थिइन्। १४ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छोड्यो। त्यसपछि डाइलासिसबाट जीवन धानिरहेकी शोभालाई  सासू धनमाया श्रेष्ठले आफ्नो मिर्गौला दान गरिन्।

जन्मेको तीन वर्षमै आमा गुमाएकी शोभालाई आफूलाई जन्म दिने आमाको अनुहार समेत याद छैन। उनै शोभालाई सासू धनमायाले आमाको जस्तै माया मात्रै हैन, २०६६ असार १७ मा मिर्गौला दान गरेर पुनर्जन्म दिइन्।

त्यसैगरी पछिल्लो पटक गत फागुन २७ गते धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा पोखरा महानगरपालिका–३० खुदीका ६४ वर्षीय वासुदेव लामिछानेलाई आफ्नै छोरीको कलेजोले नयाँ जीवन दियो। विसं २०७५ तिर कलेजोमा समस्या देखिएको थियो। उनले चार वर्ष औषधि खाएर रोग निको पार्ने प्रयास गरे पनि विस्तारै औषधिले काम गर्न छाडेको थियो। एक वर्षदेखि उनलाई रोगले बढी च्याप्न थाल्यो र अवस्था गम्भीर भयो।

लामिछानेको कलेजो क्षतिग्रस्त भएको र राम्रोसँग काम नगरेकाले चिकित्सकले अन्तिम चरणको उपचारका रूपमा कलेजो प्रत्यारोपण गर्न सुझाव दिए। उनकी जेठी छोरी पोखरा–३० पावरहाउस बस्ने रञ्जना लामिछाने बरालको रक्तसमूह मिलेकाले प्रत्यारोपण गर्न मिल्ने भयो। त्यसका लागि रञ्जनाको घरबाट समेत स्वीकृति मिल्यो। रञ्जनाले आफ्नो कलेजो दिएर जन्मदिने बाबुलाई नयाँ जीवन दिइन्।

यी प्रतिनिधि घटना मात्रै हो। नेपालमा मिर्गौला तथा कलेजो अंग प्रत्यारोपण सेवा शुरु भएको झन्डै डेढ दशकयताको समय हेर्ने हो भने अंग आफ्ना मान्छेलाई  दान गरेर नयाँ जीवन दिनेमा पुरुषभन्दा महिला अगाडि छन्।

नेपालमा हालसम्म सबैभन्दा धेरै अंग प्रत्यारोपण गरेको धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका अनुसार १ हजार २२२ जनाभन्दा बढीको मिर्गौला प्रत्यारोपण गर्दा अङ्ग दान गर्नेमा महिला ८७३ (७२ प्रतिशत) जना रहेका छन् भने पुरुष अंगदाता ३३९ (२८ प्रतिशत) रहेका छन्।

यस्तै दाताबाट मिर्गौला लिएर प्रत्यारोपण गर्नेमा महिलाभन्दा पुरुष बढी छन्। (८० प्रतिशत) पुरुष ग्रहणकर्ता हुँदा महिला अंग ग्रहणकर्ता जम्मा (२० प्रतिशत) मात्र रहेको देखिएको छ। अर्थात् अंगले काम गर्न छोडेपछि प्रत्यारोपण गरी उपचार गरेर लामो जीवन बाँच्नेमा महिलाभन्दा पुरुष  बढी छन्। केन्द्रका निर्देशक तथा अंग प्रत्यारोपण शल्य चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठले भने‚ ‘हालसम्म अंगदान गर्नेमा पुरुषभन्दा महिला बढी छन् भने प्रत्यारोपण गर्नेमा महिलाभन्दा पुरुष बढी छन्। यसले के पुष्टि हुन्छ भने अंगदान गरी आफन्त बचाउनेमा पुरुषभन्दा महिला अगाडि भए। यसले महिलाको भावनात्मक क्षमता धेरै हुने देखायो’।

कलेजो प्रत्यारोपणमा पनि महिलाभन्दा पुरुष नै अगाडि

हालसम्म नेपालमा शहीद मानव अंग प्रत्यारोपण केन्द्र‚ त्रिवि शिक्षण अस्पताल‚ सीएमसी चितवन र किष्ट मेडिकल कलेजमा गरी करिब ४० वटा कलेजो प्रत्यारोपण गरिएको छ। कलेजो दान गर्नेमा पनि पुरुषभन्दा महिला नै अबढी छन्। कुनै महिलाले आफ्ना छोरोछोरीलाई कलेजो दिएका छन् भने कुनै महिलाले आफ्ना श्रीमान्‌लाई कलेजो दान गरेका छन्।

डा. श्रेष्ठका अनुसार उक्त केन्द्रमा अहिलेसम्म २३ जनाको कलेजो प्रत्यारोपण भएको छ। तीमध्ये २१ जना पुरुष र २ जना महिलाले मात्रै प्रत्यारोपणको अवसर पाएका छन्। ‘खासमा उपचारमा यति ठूलो फरक नहुनुपर्ने हो। महिला भनेको अङ्ग दिने र पुरुष भनेको अङ्ग लिने जस्तो देखिएको छ। समाजमा जकडिएको पुरुषप्रधान समाज र सोचका कारण यस्तो अन्तर आएको हो कि भन्ने लाग्छ’, डा. श्रेष्ठले भने।

धुम्रपान तथा मद्यपान सेवन नगर्नेमा पुरुषभन्दा महिला अगाडि रहने हुँदा स्वास्थ्यको हिसाबले पुरुषभन्दा महिला स्वस्थ हुने अवस्था रहेकाले पनि अंग दान गर्न मिल्ने परिवारका सदस्यहरूमध्ये पुरुषभन्दा महिलाले अंगदान बढी गरेको हुन सक्ने उनको भनाइ।

‘धुम्रपान तथा मद्यपान नगर्नेमा महिला अगाडि रहने हुँदा स्वास्थ्यको हिसाबले पुरुषभन्दा महिला स्वस्थ हुने अवस्था रहेकाले पनि अंगदान गर्न मिल्ने परिवारका सदस्यहरूमध्ये पुरुषभन्दा महिलाले अंगदान बढी गरेका हुन सक्छन् तर सबैभन्दा मुख्य कुरा हालसम्म हामीले अंगदान गरेको महिला र पुरुषहरूको मनोभाव हेर्दा पुरुषभन्दा महिलामा परिवार तथा आफन्तप्रतिको प्रेम तथा समर्पणको भाव उच्च रहेको जस्तो देखिन्छ’‚ राष्ट्रिय अंग प्रत्यारोपण समन्वय समितिका अध्यक्ष समेत रहेका अंग प्रत्यारोपण सर्जन डा. श्रेष्ठले भने।

त्यसो त प्रत्यारोपण केन्द्र नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण गर्ने केन्द्र हो। विसं २०७३ मंसिर २२ गते भक्तपुरका ३६ वर्षीय बलराम नागालाई उनकी ४२ वर्षीया दिदीले कलेजो दान गरेकी थिइन्। कलेजोको पहिलो प्रत्यारोपणलाई सघाउन दक्षिण कोरियाको सोलस्थित सामसङ मेडिकल सेन्टरका चिकित्सक नेपाल आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.