|
फाइल तस्वीर

काठमाडौँ : सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चौथो शिविर (७९५० मिटर) सम्म बाटो खुलेको छ।

पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि चौथो शिविरसम्म डोरी टाँग्ने ‘रोप फिक्सिङ’ भएको छ। मौसमले साथ दिए वैशाख २८ गते (मे १० तारिख) देखि सगरमाथा आरोहण हुने विभागको अनुमान छ।

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार मौसमले साथ दिए रोप फिक्सिङ टोलीले केही दिनमै चुचुरोसम्मै डोरी टाँग्नेछन् र वैशाख २८ देखि आरोहण शुरु हुनेछ। 

यसअघि आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाइसकेको थियो।

‘यो याममा सगरमाथालगायत ल्होत्सेमा दोस्रो शिविर (क्याम्प २) देखि चुचुरोसम्म रोप फिक्सिङको जिम्मेवारी पर्वतारोहण सञ्चालक सङ्घ नेपालको व्यवस्थापनमा सेभेन समिट ट्रेक्स प्रालिलाई दिइएको र आइतवार रोप फिक्सिङ टोलीले चौथो शिविरसम्म डोरी टाँग्ने काम सम्पन्न गरेको छ’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३७ आरोही समूहका ७० महिला र ३२० पुरुष गरी कूल ३९० आरोहीले आरोहण अनुमति लिएका छन्। 

सगरमाथा आरोहणबाट मात्रै ५५ करोड ८५ लाख ४४ हजार ४४९ रुपैयाँ रोयल्टी जम्मा भएको छ।

निर्देशक गुरुङले सगरमाथा आरोहणमा उत्साहवर्द्धक रुपमा आरोही आइरहेको बताउँदै अझै २/४ आरोहण समूहले अनुमति लिनसक्ने बताए। 

अहिले विभागबाट पर्वतारोहीले धमाधम अनुमति लिइरहेका छन्। धेरै पर्वतारोही सगरमाथा आधार शिविर पुगिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.