|

कास्की : गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरङ्ग (ओपिडी) सेवालाई थप गरी १२ घण्टा पुर्‍याउने निर्णय गरेका छन्। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्दै उनले सो निर्णय गरेका हुन्। अस्पतालहरुले बिहान १० देखि साँझ ५ बजेसम्म ‘ओपिडी’ सेवा सञ्चालन गर्दै आएकामा अबदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म उक्त सेवा सञ्चालन गर्नेछन्। 

अधिकारी कास्की–१ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए। नेकपा (एमाले)सहित नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। 

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा, १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि नेपाली कांग्रेसबाट निर्वाचित सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि एमालेको नेतृत्वमा प्रदेश सरकार बनेको हो। 

कांग्रेसले भने मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति असहमति जनाएको छ। मुख्यमन्त्री अधिकारीले एमालेका २२, माओवादी केन्द्रका आठ (सभामुखसहित) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन जुटाएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.