|

म्याग्दी : नीलो आकाशमुनि हरियो पहाडमा रातै फुलेका लालीगुराँस। क्षितिजपारी दन्तेहलर जस्ता चाँदी झै टल्कने सेता हिमाल। तरेली परेको भिरालो भूगोलमा ढुङ्गाको सिँढी बनाएर चिटिक्क पारिएको पदमार्ग। प्रकृतिको यौवन छचल्किए जस्तो देखिने म्याग्दीको दुरु लेकमा पर्यटकीय पूर्वाधारहरु निर्माण भए पछि आन्तरिक पर्यटकहरु पुग्न थालेका छन्।

म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित पर्यटकीय स्थल दुरुलेक पछिल्लो समय आन्तरिक पर्यटकहरुको आकर्षक गन्तव्यस्थल बन्न थालेको छ।

दुई वर्षअघि गण्डकी प्रदेश सरकार र मालिका गाउँपालिकाको गरी करिब रु ३० लाखको लागतमा यहाँ पदमार्ग, शत्तल, मन्दिरलगायत पर्यटकीय पूर्वाधार निर्माण भएपछि दुरुलेकमा आन्तरिक पर्यटकहरु पुग्न थालेका मालिका गाउँपालिका वडा नं २ का वटाअध्यक्ष उदयकुमार बूढाथोकीले बताए।

 वडाअध्यक्ष बूढाथोकीका अनुसार समुद्री सतहदेखि तीन हजार,चार सय ८४ मिटर उचाइमा अवस्थित दुरुलेखमा हिमशृङ्खला र ग्रामीण भूगोलको अवलोकनका लागि यहाँ पर्यटक पुग्ने गरेका हुन्। प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलको रूपमा दुरुलेक महत्वपूर्ण रहेको छ।

वडा अध्यक्ष बुढाथोकीले भने ‘पछिल्लो समय यहाँ आन्तरिक पर्यटकहरु रमाउन आउने गरेका छन्। विशेषगरी बागलुङ र म्याग्दीका आन्तरिक पर्यटक यस क्षेत्रको भ्रमणमा आउन थालेका हुन्। गण्डकी प्रदेश सरकारको थप रु १० लाख बजेटबाट पर्यटक बस्ने घर निर्माण गरिएपछि बाह्य पर्यटकको आगमन पनि बढ्न थालेको छ।’

मालिका गाउँपालिकाको केन्द्र दरबाङदेखि दक्षिण भागमा पर्ने रुम गाउँ कुल २०.७४ वर्ग कि.मी मा फैलियको छ। यहाँको अधिकांश भाग वन क्षेत्रले ओगटेको छ। गाउँको शिरानमा पर्ने दुरुलेकमा लालीगुराँसको घनाजङ्गल, दर्जनौँ हिमालको दृश्य तथा म्याग्दी बागलुङलगायत जिल्लाका ग्रामीण बस्तीका डाडाँकाडा हेरेर रमाउन पर्यटक आउने गरेका छन्। यहाँबाट धौलागिरि, अन्नपूर्ण, निलगिरीलगायत हिमाल नजिकबाट देख्न पाइने मालिका गाउँपालिका २ रुमका वडासदस्य समेत रहेका भक्तबहादुर पुनले बताए।

वडासदस्य पुनले भने ‘प्राकृतिक दृश्यसँग रमाउन आउने पर्यटकलाई दुरुलेकदेखि झण्डी डिलसम्म पुग्ने पदमार्ग र चौतारी निर्माणले सहज भएको छ। पर्यटकलाई मठ्ठा चढाउने भीरले पनि थप आकर्षित गरेको छ। वसन्त ऋतुसँगै लालीगुराँस फुल्ने हुँदा पर्यटक दुरुलेक पुग्छन्। पर्यटकको बसाइ लम्ब्याउनका लागि पूर्वाधार निर्माणमा जोड दिइरहेका छौँ।’

 जिल्ला सदरमुकाम बेनीबजारदेखि मालिका गाउँपालिकाको केन्द्र दरवाङ हुँदै अधिभारा, फूलबारी, डाडाँगाउँ, निस्कोट, रुम जैम, घाङ्लेपानीसम्म सवारीसाधनमा यहाँ पुग्न सकिन्छ। घाङ्लेपानीबाट करिब चार घण्टामा लालीगुराँसको घनाजङ्गल हुँदै गाई भैँसी र भेडा बाख्राका गोठ, वन्यजन्तुको अवलोकन र आवाज सुन्दै पदयात्रामार्फत दुरुलेकमा पर्यटक पुग्छन्।

गुराँसे जङ्गलले राताम्मे वन र मनोरम हिमशृङ्खलाले पर्यटकलाई लोभ्याउने गरेको र हिउँदमा यहाँ गाई भैँसी र भेडा बाख्राका लागि गोठको व्यवस्था गरिएको स्थानीयवासी धन विकले बताए।

दुरुलेकमा भीर मौरीको मह सिकारका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न सक्ने प्रशस्तै सम्भावन पनि छन्। पहराहरुमा बग्रेल्ती भीरमौरीका गोला छन्। त्यहाँका भीरहरुमा रुम र बागलुङको ताराखोलाका मह सिकारीहरुले परम्परागत रुपमा मह निकाल्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.