|

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिने बताएकी छन्। आइतबार मन्त्रालयमा सूचना प्रविधि क्षेत्रका अन्तर्राष्टिय प्रतिनिधिहरुसँगको भेटघाट कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

उनले नेपालबाट गत आर्थिक वर्षमा मात्रै ६७ अर्ब बराबरको सफ्टवेयर निर्यात भइरहेको एक अध्ययनबाट देखिएको बताइन्। उनले युवा पलायन रोक्न, देशभित्रै रोजगारी सिर्जना गर्न र बिना अवरोध स्वतन्त्र रुपमा सफ्टवेयर निर्यात गर्नसक्ने भएकाले सरकारले २०८१-०८२ को नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन्।

उनले प्रविधि र प्रणालीहरुको सुरक्षित र जवाफदेही प्रयोग, एवं डिजिटल इकोसिस्टम निर्माणका लागि आवश्यक कानुनहरु सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक निर्माणलाई तीव्रता दिएको पनि बताइन्।

उनले विश्व अर्थतन्त्र नै शिथिल भएको अवस्थामा सञ्चार तथा सूचना प्रविधिको प्रयोग गर्दै प्रविधिमैत्री संरचना र सोहीबमोजिम दक्ष जनशक्ति व्यवस्थापन गर्नसके सुशासन र आर्थिक समृद्धि हासिल गर्न सकिने सरकारको बुझाइ रहेको बताइन्। शिक्षा, स्वास्थ्य र अन्य सेवा क्षेत्रमा समेत सूचना र प्रविधिको क्षेत्रमा बढोत्तरी भएको दाबी गरिन्। उनले नेपाल जस्तो भूपरिवष्ठित देशले सूचना प्रविधि उद्योगमार्फत रोजगारी सिर्जनाका साथै निर्यात प्रवद्र्धन गर्दै देशको अर्थतन्त्रलाई सुदृढ र विकसित गर्नुपर्ने बताइन्।

सूचना प्रविधि उद्योगलाई एकै थलोबाट सञ्चालन गर्न आइटी पार्क, सूचनाप्रविधि हब जस्ता अवधारणालाई पनि सरकारले नजिकबाट हेरिरहेको बताइन्।

मन्त्री शर्माले सूचना तथा प्रविधिको विकास, विस्तार र लगानीका सन्दर्भमा सरकार गम्भीर रहेको बताइन्। उनले देशमा लगानी भित्र्याउन आवश्यक कानुन परिमार्जनका लागि सरकार सक्रियतापूर्वक लागिरहेको पनि बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.