|

काठमाडौँ : सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा एमालेले सत्ता सहकार्य कमजोर पार्ने कुनै पनि काम नगर्न सत्तारुढ दलहरुसँग आग्रह गरेको छ।

आइतवार ललितपुरको सनराइज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा १५ बुँदै समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सो आग्रह गरेको हो। 

मुलुकलाई थप अस्थिरता र अन्योलतर्फ धकेल्ने कामप्रति सजग रहन र राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दलहरुलाई आह्वान गर्ने प्रस्ताव बैठकले पारित गरेको पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिए। 

एमालेले आफ्नो पार्टीसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच नयाँ सत्ता समीकरण निर्माण गर्ने समझदारी गर्दै नयाँ सत्ता सहकार्य आरम्भ भएकोमा सन्तोष व्यक्त गर्दै उक्त सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ। 

त्यसैगरी ५ दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमार्फत आजका मुख्य समस्याहरु समाधान गर्नेगरी तालिकाबद्ध रुपमा काम गर्न सरकारलाई पनि सुझाव दिइएको उपमहासचिव रिमालले बताए। 

विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढी चिर्दै पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रुपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने संकल्प पनि एमालेले गरेको छ।

अत्यन्त असहज र प्रतिकूल अवस्थामा पार्टीलाई यस बिन्दुसम्म ल्याई पुर्‍याउन कुशलतापूर्वक अगुवाई गर्ने कमरेड अध्यक्ष केपी शर्मा ओलीलगायत १०औँ महाधिवेशनबाट निर्वाचित सिंगो नेतृत्व पंक्तिलाई बैठकले विशेष धन्यवाद ज्ञापन गरेको उपमहासचिव रिमालले बताए।

‘यो बैठक विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रुपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने संकल्प गर्छ‚’ उनले भने, ‘अत्यन्त असहज र प्रतिकूल अवस्थामा पार्टीलाई यस विन्दुसम्म ल्याई पुर्‍याउन कुशलतापूर्वक अगुवाई गर्ने कमरेड अध्यक्ष केपी शर्मा ओलीलगायत १०औँ महाधिवेशनबाट निर्वाचित सिंगो नेतृत्व पंक्तिलाई यो बैठक विशेष धन्यवाद ज्ञापन गर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.