|

काठमाडौँ : नेताहरूको सत्तामोहका कारण कर्णाली प्रदेश सरकार अस्तव्यस्त बनेको छ।

माओवादी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजकुमार शर्मासँगको टकरावका कारण एमाले संसदीय दलका नेता एवं वर्तमान मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। यसले गर्दा प्रदेशका सबै मन्त्रालयको जिम्मेवारी आफैँ सम्हाल्न बाध्य भएका छन्।

नियुक्त भएको दुई साता हुन लाग्दासमेत मुख्यमन्त्री कँडेलले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। केन्द्रमा सत्ता गठबन्धन आफ्नो पोल्टामा परेसँगै माओवादी केन्द्रबाट मुख्यमन्त्री पद फुत्काउन सफल भए पनि सरकार विस्तार गर्न कँडेल असफल भएका छन्।

चैत २७ गते माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्री बनेका कँडेलनिकटस्थले पूर्वमुख्यमन्त्री तथा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माको असहयोगले मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताउने गरेका छन्। अर्थ, सामाजिक, वन, पर्यटन र ऊर्जा सिँचाइ मन्त्रालय नपाएसम्म सरकारमा नजाने अडान माओवादीले लिएको छ। माओवादीले चाहे जति मन्त्रालय दिन एमाले तयार देखिएको छैन।

मन्त्रिमण्डल बनाउन नसकेका कँडेलले आफूलाई दोष दिनु फट्याइँ मात्रै भएको शर्माको भनाइ छ। 

मुख्यमन्त्री कँडेलले माओवादीलाई मनाउन प्रधानमन्त्री प्रचण्डदेखि एमाले अध्यक्ष केपी ओलीसम्मलाई भेटिसकेका छन्। 

आधा कार्यकाल मुख्यमन्त्री दिने केन्द्रको सहमतिमा कँडेलले कागज नगरेसम्म मुख्यमन्त्रीलाई साथ नदिने शर्माले थाहाखबरसँग संकेत गरेका छन्। शर्मा पनि आफू मुख्यमन्त्री बन्दा वा भइसकेपछि कँडेलले गरेको असहयोगको बदला लिने रणनीतिमा देखिन्छन्।

अघिल्लो प्रदेशसभाका सबै सांसदलाई मन्त्री बनाएको माओवादी केन्द्रले योपटक १२ जनालाई उसैगरी भाग पुर्‍याउने लक्ष्यका साथ अघि बढेको छ। माओवादीको सत्ता यात्रा एमालेले राम्ररी बुझे पनि मनाउन भने सकेको छैन।

एमाले प्रदेशसभा सदस्य कलबहादुर हमालले माओवादीले नमाने विश्वासको मतपछि मात्रै सरकार विस्तार हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.