काठमाडौँ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ०८४ सालमा एमालेलाई बहुमतमा पुर्याउनेगरी काममा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
आइतवार पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले ०८४ सालमा पार्टीलाई बहुमतमा पुर्याउनेगरी काम गर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन्।
उनले एमाले बलियो भएमात्रै राष्ट्रिय शक्ति बलियो हुने भन्दै एमाले कमजोर हुँदा राष्ट्रिय शक्ति कमजोर हुने बताए। उनले पार्टीलाई सुदृढ र मजबुत बनाउन नेतृत्वको आचरणहरुलाई पनि सुदृढ गर्नुपर्ने बताए।
उनले एमाले राष्ट्रिय शक्तिको रुपमा स्थापित भएको भन्दै एमालेलाई निर्णायक बिन्दुमा पुर्याउनुपर्ने आवश्यकता रहेको बताए। उनले एमालेलाई बलियो बनाउन विचारमा स्पष्ट, संगठनमा सुदृढ र जनतामा स्थापित भएको नेतृत्व पार्टीले खोजेको बताए।
‘नेकपा एमाले आफैँ एउटा राष्ट्रिय शक्ति हो। तर निर्णायक रुपमा एमालेरुपी राष्ट्रिय शक्ति निर्णायक बिन्दुमा पुग्नुपर्ने आवश्यकता छ। त्यसका लागि हामीले योजनाबद्ध ढंगले पार्टी अगाडि बढाउनु जरुरी छ‚’ उनले भने‚ ‘मिसन ०८४– एमालेलाई बहुमतमा पुर्याउने, त्यो भनेको एमालेरुपी राष्ट्रिय शक्तिलाई निर्णायक ठाउँमा पुर्याउने काममा हामी सबै लाग्नुपर्छ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका नेता, कार्यकर्ताहरु पब्लिक अडिटमा रहने भन्दै पब्लिक अडिटमा बेरुजु निस्किने छुट आफूहरुलाई नभएको बताए। उनले व्यक्तिगत आचरण राम्रो बनाउन पनि आग्रह गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।