|

काठमाडौँ : अभिनेता दयाहाङ राईले चलचित्र मनसरामा आफूले निभाएको भूमिका अर्को व्यक्तिबाट हेर्न इच्छुक भएको बताएका छन्।

सोमवार ललितपुरमा चलचित्र मनसरा निर्माण टिमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चलचित्रमा आफूले खेलेको कलाकारको भूमिका अर्को कोहीबाट हेर्ने इच्छा भए पनि आफूले नै निभाउनुपरेको र कस्तो न्याय गरेको छु भन्ने बारेमा पनि चलचित्र हेरेपछि दर्शकले न्याय गर्ने बताए।

उनले चलचित्रको आफ्नो पात्र डाहलाग्दो रहेको बताए। त्यस्तै लेखक उपेन्द्र सुब्बाले मनसरा धानको एउटा प्रजाति भएको र त्यसलाई मानिसको रुपमा प्रतिविम्बित गरेर चलचित्र देखाउन लागेको बताए।

उनले मनसरा मेहनतसहित धेरै काम गरेर पचाउनसक्ने व्यक्तिहरुले मात्रै खाने गरेको बताए। शहरमा बस्नेहरुले मनसराको खाना पचाउन नसक्ने  उनले बताए। त्यस्तै मनसरा अडिलो धान भएकाले मेहनतीहरुले धेरै रुचाउने पनि बताए। मनसरा मात्रैको बियाड नफल्ने भएकाले अरुसँग मिसाएर रोपिने गरेको उनले बताए। नेपाली समाज मिश्रित समाज भएकाले सबै सहयोगी र मिलेर बसेको रुपमा मनसरालाई चलचित्रमा उतारिएको उनले खुलाए। 

त्यस्तै अभिनेत्री मिरुना मगरले अझै राम्रो काम गर्न आफैँले आफैँलाई प्रेसर दिएर अभिनय गरेको बताइन्। उनले मनसरामा आफूले गरेको पात्र भेटिराखेको र देखिराखेको पात्र रहेको बताइन्। मनसरामा काम गर्दा एकल महिलाको दुःखहरु आफूले बुझ्ने अवसर पाएको पनि उनले सुनाइन्।

उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘मनसरा’मा अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानलगायतका कलाकारको अभिनय रहेको छ। 

फिल्ममा लिम्बू र ब्राह्मण समुदायका पात्रहरूबीचको विवाहेत्तर सम्बन्ध देखाइएको छ। शैलेन्द्र कार्कीले खिचेको यो फिल्म वैशाख २१ मा प्रदर्शनमा आउँदैछ। फिल्ममा निमेष श्रेष्ठको सम्पादन, झुमा लिम्बू र सुशान्त गौतमको संगीत छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.