काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा विकासका लागि पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव रहेको बताएका छन्।
आइतवारदेखि शुरु भएको दुईदिने लगानी सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा विकासको प्रचुर सम्भावना रहेको बताए। उनले विदेशी लगानीका लागि खुला क्षेत्र, कर नीति र आम्दानी फिर्ता गर्ने सन्दर्भमा नेपालको लगानी व्यवस्था अहिले उदार रहेको जिकिर गरे। उनले विदेशी लगानीका लागि प्रायः सबै क्षेत्र खुला रहेको बताए।
उनले कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, पर्यटन, जलविद्युत् र सूचना प्रविधि जस्ता प्रमुख क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीले परिवर्तनकारी प्रभाव छोड्न सक्ने बताए। उनले नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा प्रवर्धन गर्न विभिन्न देशसँग द्विपक्षीय लगानी संरक्षण सम्झौता गर्न सरकार इच्छुक रहेको बताए।
उनले सबै प्रमुख राजनीतिक दलहरू नेपालमा वैदेशिक लगानी प्रवर्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दामा सहमति कायम गर्न एकजुट हुन प्रतिबद्ध रहेको बताए।
देउवाले भने, ‘हाम्रो देशमा विकासको प्रचुर सम्भावना छ तर हामीसँग विकासका फाइदा प्राप्त गर्न पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव छ। सन् १९९० मा नेपाली काँग्रेसको सरकारले अर्थतन्त्रलाई उदारीकरण, निजी क्षेत्रलाई आमन्त्रण र विदेशी लगानीका लागि अनुकूल वातावरण सिर्जना गरेको थियो। त्यो छोटो अवधिमा हाम्रो सरकारले नीतिहरू पुनर्संरचना गर्यो। विदेशी लगानीका लागि खुला क्षेत्र, कर नीति र आम्दानी फिर्ता गर्ने सन्दर्भमा नेपालको लगानी व्यवस्था अहिले उदार छ। विदेशी लगानीका लागि प्रायः सबै क्षेत्र खुला छन्।’
सभापति देउवाले लोकतान्त्रिक ढाँचाअन्तर्गत आर्थिक विकासलाई अगाडि बढाउन बजार र निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए। सरकारले सामाजिक न्याय र नेपाली समाजका सबै खण्डको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो जिम्मेवारी नगुमाई लगानी र व्यवसायका लागि अनुकूल वातावरण सिर्जना गर्ने बताए। नेपालले विदेशी लगानीकर्ताहरूप्रति भेदभावपूर्ण नीति नअपनाएको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।