|

काठमाडौँ : तेस्रो लगानी सम्मेलन शुरु भएसँगै स्वदेशी उद्यमी व्यवसायीले सम्मेलनमा भएको सहभागिताले नेपालमा लगानीको वातावरण खुला भएको महसुस भएको प्रतिक्रिया दिएका छन्।

सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन आइतवारदेखि काठमाडौँमा शुरु भएको छ। विदेशी तथा स्वदेशी लगानी भित्र्याउने उद्देश्यले शुरु भएको लगानी सम्मेलन शुरु भएसँगै नेपाली उद्योगी व्यवसायीहरूले सरकारले नीतिगत सुधार गरी नीतिगत स्थिरता कायम गरे लगानीको गन्तव्य बन्नसक्ने अवस्था देखिएको बताए। स्वदेशी उद्यमी व्यवसायीहरूले सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि आवश्यक नीतिगत सुधार गर्न अझै धेरै आवश्यक रहेको बताए।

उनीहरूले लगानी सम्मेलनमा लगानीकर्ताको उपस्थिति उत्साहजनक भएको भन्दै राम्रो लगानी प्रतिबद्धता आउने अपेक्षा गरे। उनीहरूले सरकारले राष्ट्रिय पुँजी निर्माण र विदेशी लगानीको वातावरण बनाउने लगानीमैत्री स्थिर कानुन बनाउन आवश्यक देखिएको बताए। उनीहरूले अध्यादेशमार्फत ९ वटा कानुनमा संशोधन गरी कानुनी सुधारमा सरकारले प्रतिबद्धता जनाए पनि अझै धेरै नीतिगत अप्ठेरा रहेको बताए।

व्यवसायीहरूले विगतका लगानी सम्मेलन जस्तो प्रतिबद्धता मात्रै जनाउने तर राज्यले चासो नदिने गरेको भन्दै सम्मेलन सकिएसँगै प्रतिबद्धता भएअनुसार कार्यान्वयनका लागि तदारुकता देखाउन जरुरी रहेको बताए। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनको शुरुवातको दिन हेर्दा नेपालमा लगानीको वातावरण देखिएको बताए। उनले अब नेपालमा लगानी गर्ने वातावरण बन्ने अवस्था देखिएको प्रतिक्रिया दिए।

उनले लगानी सम्मेलनमा प्रधानमन्त्रीदेखि विदेशी लगानीकर्ताहरू सबैले जलविद्युतका बारेमा चर्चा गरेकाले जलविद्युतमा लगानीमैत्री वातावरण बन्ने विश्वास बढेको बताए। उनले जलविद्युत्‌मा सरकारले लगानीमैत्री वातावरण बनाउने र लगानीमैत्री नीतिहरू बनाउन सके जलविद्युत्‌मा लगानी आउने वातावरण देखिएको बताए।

उनले सरकारले यसलाई मद्देनजर गरेर तत्काल जलविद्युत्‌मा लगानीमैत्री वातावरण बनाएर नेपाली निजी क्षेत्रलाई पनि समावेश गराए २८ हजार मेगावाट विद्युत् उत्पादनमा सहज हुने बताए। सरकारले सम्मेलन सकिएपछि पनि लगानीका लागि भएका प्रतिबद्धता कार्यान्वयनमा जुट्न आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.