|

काठमाडौँ : बागमती प्रदेशमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रुपमा कार्यन्वयन गर्ने औपचारिक घोषणाको तयारी थालिएको छ। 

बागमती प्रदेश सरकारले आज मूल समारोह समिति गठन गरी घोषणा पनि गरेको छ। यही वैशाख १२ गते बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा गर्ने निर्णय गरेअनुसार त्यसको तयारी तीव्र पारिएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख २४ गते बिहान ९ बजे वसन्तपुरमा घोषणा गर्ने कार्यक्रम तय भएको बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्रचार्यले जानकारी दिए। 

मन्त्री बज्रचार्यको संयोजकत्वमा ३०३ सदस्य रहेको मूल समारोह समिति गठन गरिएको छ। काठमाडौँको खुसीबुमा आज आयोजित एक कार्यक्रममा ३०३ सदस्यीय मूलसमारोह समिति गठन गरी घोषणा गरिएको हो। 

समारोह समितिमा तामाङ भाषिक समुदायका तर्फबाट नेपाल तामाङ घेदुङका साथै अन्य तामाङ संघ संस्थाहरु र नेपाल भाषाको समुदायको तर्फबाट नेवाः देय् दवुकाहरु सदस्य रहेका छन्। 

प्रदेश सरकारले वैशाख २४ गते प्रदशेभर सार्वजानिक बिदा दिने र सोही दिन काठमाडौँको वसन्तपुरमा एक समारोह गरी कार्यन्वयनको औपचारिक घोषणा गर्ने निर्णय गरेको थियो।

सरकारको निर्णय अनुसार वैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनगरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा( रन्जना)मा लेखिएका राखिनेछन्। 

त्यसदिन बागमती सरकारले भाषा ऐन कार्यन्वयन आउने दिनको रुपमा सार्वजानिक बिदासमेत दिएकाले घोषणा समारोह सफल बनाउने तयारीमा लागेको नेपाल तामाङ घेदुङका सह–अध्यक्ष कुमार सिं घिसिङले बताए। उनकाअनुसार २४ गते घोषणा समारोह अघि काठमाडौँका विभिन्न स्थानबाट झाँकीसहितको र्‍याली निकालिने छ। 

संविधानले दिएको अधिकार कार्यन्वयनका लागि बागमती प्रदेश सरकारले ऐन बनाएर कार्यन्वयन गर्न लागेकोमा धन्यवाद दिँदै सह–अध्यक्ष घिसिङले सबै जातजाति तथा भाषाभाषी समुदायलाई कार्यक्रममा सहभागी हुन अनुरोध पनि गरेका छन्।

बागमती प्रदेश सरकारले गतवर्ष कार्तिक २३ गते ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८०’ राजपत्रमा प्रकाशित गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.