|

काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ८९ औं पटक रक्तदान गरेका छन्। पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन उपत्यका विशेष कमिटीद्वारा आज रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

अध्यक्ष लिङ्देनले हरेक तीन महिनामा रक्तदान गर्ने गरेका छन्। ‘कोभिड भएका बखत चिकित्सकको सल्लाहअनुसार नै मनले चाहेर पनि केही समय रक्तदान गर्न पाइनँ, शरीर स्वस्थ भएपछि रक्तदान सुरु गरेको हॅु, आज मैले ८९ औं पटक रक्तदान गरें’, अध्यक्ष लिङ्देनले भने।

उनले आफूलाई रक्तदान जस्तो पवित्र कार्य गर्दा सन्तोषको अनुभूति हुने मात्रै होइन आफ्नो जीवनमा गरौँ गरौँ लाग्ने काममध्ये रक्तदान पनि भएको बताए। बिरामीलाई रगतको अभाव हुन नदिन रक्तदानलाई निरन्तरता दिनुपर्ने र राप्रपाको युवा संगठनले समय समयमा यस्तो कार्य गर्ने गरेकोमा प्रशंसासमेत गरे।

दलको भातृ संगठनले दलीय गतिविधिमा मात्रै होइन सिर्जनशील र रचनात्मक कार्यमा सहभागी हॅुदै सामाजिक दायित्व निर्वाह गर्नुपर्नेमा समेत उनले जोड दिएका छन्।

युवा संगठनका अध्यक्ष सुजित केसीले संगठनलाई देशभक्ति, मानवसेवा र समाजसेवामा समर्पित गरिरहेको र आउने दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा ६३ जनाले रक्तदान गरेको संगठनको उपत्यका विशेष कमिटीका अध्यक्ष संजय कार्कीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.