|

मनीष अर्याल

काठमाडौं : वैशाखका दिनको चर्को घाम। गर्मी र थकित एकजना सानो भाइ हामी बसेकै खाजा घरमा ड्यु पिउँदै थियो, म भने गोदावारीमा शनिबार रमाउन आएका मानिसहरुको फोटो लिँदै थिए।

यतिकैमा त्यो सानो भाइले केही भन्दै थियो, 'दाइ फोटो त सोधेर खिच्दा राम्रो होला नि।' फोटो पत्रकारिता गरेको ५ वर्षमा धेरैजना व्यक्ति, धेरै कार्यक्रम, विभिन्न आन्दोलनको फोटो खिचिसकेको छु, कहिलेकाहीँ सोधेर र कहिलेकाहीँ नसोधि फोटो खिचेको धेरै अनुभव छ मसँग। तर, एकजना सानो भाइले त्यो कुरा भन्दा मेरो ध्यान उसैतिर मोडियो र हाम्रो कुरा सुरु भयो।

मैले उसलाई नामभन्दा पनि उमेर सोधेँ, उमेर १२ वर्ष पनि नपुगेको, उमेरमा कलिलो तर व्यवहारमा निकै पाको सानो भाइ रितिक पासवान। घर रौटहट घरमा बाआमा मात्र, एकजना दाइ त्यो पनि विदेशमै हराएको, बा मुटुको रोगी, घरमा दैनिक हातमुख जोड्न पनि धौधौ रहेछ। यही अवस्थाका कारणले १२ वर्ष पनि नपुगेका रितिक कक्षा चारमा पढ्दै गर्दा गाउँकै चिनेको एकजना दाइसँग काठमाडौंतिर आएका रहेछन्।

साहुले दिएको कटन क्याण्डी र खेलौना बिक्री गर्न दिनभरि काठमाडौंका विभिन्न ठाँउहरूमा पुग्ने रितिकसँग मेरो भेट रिपोर्टिङको शिलशिलामा गोदावारीमा भयो। शनिबार गोदावारीमा लाग्ने मानिसहरुको भिड र त्यही भिडको वरिपरि हिँड्ने रितिकसँग कसैले क्याण्डी किनिदिन्छ कि भन्ने आशाबाहेक केही छैन।

मैले रितिकसँग २४ घण्टाको केवल २ घण्टा समय मात्र बिताए, उसको जीवनको भोगाइलाई नजिकबाट हेर्ने कोसिस मात्र गरेँ।  हामी सँगसँगै हिँड्दै जाँदा गोदावारीमा सामूहिक भोज भइरहेको स्थानमा पुग्यौँ र सायद रितिकको मनमा पनि आशा पलाएको थियो होला कसैले क्याण्डी किनिदेला भनेर। तर, त्यहाँ पुग्न नपाउँदै एकजना आमाले यता नआइज उता जा भन्दै रितिकलाई सातो खानेगरी कराइन्।

हामीसँगै त्यहाँबाट अलि पर गयौँ र मैले सोधेँ ती आमाले तिमीलाई किन यता नआइज भनेको? उसले मेरो प्रश्न भुइँमा खस्न नपाउँदै जफाव दियो उसको नानी बाबुहरूले किन्दे भन्छ त्यसैले। मैले फेरि सोधेँ त्यस्तै ठाउँमा त बिक्री हुन्छ होइन र? 'मलाई जबरजस्ती बिक्री गर्नु छैन दाइ कतिलाई पैसा हुन्छ कतिलाई हुँदैन। कहिलेकाहीँ त म कम पैसामा पनि सामान दिन्छु' उसले यसरी नै भन्यो।

केही समय हिँड्दै हामी अलि तलतिर ओरालो लाग्यौँ, रितककै उमेरका केटाकेटीहरू आमा बासँग खेलिरहेका देख्यौँ, तर उनी भने क्याण्डी बिक्रीका लागि हिँड्दै छन्। मैले यो कुरालाई मनन मात्र गरेँ रितिकसँग केही प्रश्न भने गरिनँ।

 सानो उमेरमा पनि बाध्यता, अवस्था र परिस्थितिले रितिकलाई इमानदार र व्यावहारिक बनाएको छ। सायद सधैँजसो गोदावारीमै आउने भएकाले होला रितिकलाई त्यहाँ नचिन्ने र नबोल्ने कमै छन्। मैले एकजना दिदीलाई सोधेँ यो भाइ कस्तो छ? तपाईँहरुसँग कस्तो बोलीचाली र व्यवहार गर्छ? दिदीबाट इमान्दार, असल छ, नराम्रो गरेको देखेको र सुनेको पनि छैन भन्दै जवाफ आयो।

रितिकको दैनिकी क्याण्डी बिक्रीका लागि  हिँड्ने हो, साहुले हातमा थमाइदिएको क्याण्डी र केही खेलौना, यही बिक्री गर्ने रितिकको लक्ष्य पनि हो।

दैनिक चार-पाँच सय कमाएर साहुलाई बुझाउँछन्

दैनिक रूपमा फरक-फरक कमाई कहिले दिनको चार सय, कहिले पाँच सय त कहिले सातसय आठसय, महिनाको तलब भने ६ हजार मात्र। त्यसमा पनि आधाभन्दा बढी कमाइ घरमा पठाउनुपर्ने। ललितपुरको लगनखेलमा साहु र साहुको भाइ अनि आफू जस्तै क्याण्डी बिक्री गर्न हिँड्ने अरू दुई चारजना साथीहरुसँगै बस्छन् रितिक।

आफ्नो गाउँबाट टाढा राजधानीमा उमेरै नपुगी काम गर्न बाध्य रितिकलाई सायद थाहा छैन आफू स्वयं बाल श्रम शोषणमा परेको छु भनेर। यसरी काठमाडौँ उपत्यकामा विभिन्न ठाउँमा क्याण्डी बिक्री गर्ने साना भाइ बहिनीहरुलाई साहुले नै गाउँबाट ल्याउने र यसरी नै काममा लगाउने गरेको रितिकले बताए।

'मेरो साहुको नाम शैलेन्द्र साह हो। हामीलाई उसैले सामान दिन्छ, दिनभरि बेच्ने कोठाबाट बिहान १० बजे निस्कने र साँझमा ७ बजे फर्कने हो। शनिबार चाँहि ८ बज्छ कोठामा फर्कंदा' रितिकले भने।

यसरी सडकका किनारा, पार्क र विभिन्न मेला जात्रामा क्याण्डी राम्रैसँग बिक्री पनि हुन्छ, महानगर तथा नगरपालिकाहरूको पछिल्लो निर्णयअनुसार विभिन्न रङ प्रयोग गरिएका क्याण्डीहरु मानव स्वास्थ्यका लागि हितकारी नभएका कारण बिक्री वितरणमा निषेध गरिएको छ।

विभिन्न बाध्यता र पारिवारिक अवस्था र परिस्थितिका कारण आफ्नो कलिलो उमेरमै बाल श्रम गर्न बाध्य भएका रितिक पासवासन र उनी जस्तै बालबालिकाप्रति सरकार र सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने देखिन्छ।

केही तस्वीर झलकहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.