सिलिण्डरमै फर्किए स्थानीय

|

काठमाडौँ : सिलिण्डर युग अन्त्य गरेर घर–घरमा ग्यास पुर्‍याउने उद्घोषसहित पाँच वर्षअघि उद्घाटन भएको वायोग्यास प्लान्ट दुई वर्षदेखि बन्द छ। सडक विस्तारका क्रममा फुटेको पाइपलाइन बनाउन नसक्दा २०७५ सालमा डेढ करोड लगानीमा बनेको वायोग्यास प्लान्ट सञ्चालनमा आउन नसकेको हो। 

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ‘घर–घरमा ग्यास पाइप’ भन्ने चुनावी नारालाई सार्थकता तुल्याउन भन्दै वायोग्यास प्लान्टको परिकल्पना गरेका थिए।

नविकरणीय ऊर्जा विस्तार आयोजनाअन्तर्गत बनेको उक्त प्लान्टको २०७५ भदौ ५ गते विराटनगरमा ओली आफैँले उद्घाटन गरेका थिए। विराटनगर महानगरपालिका–१४ जतुवामा २२० घनमिटर क्षमताको ग्यास प्लान्ट उद्घाटन गर्दै उनले सिलिण्डर ग्यासलाई प्रतिस्थापन गर्ने उद्देश्यअनुरूप काम गरेको उद्घोष गरेका थिए।

तर सञ्चालनमा आएको तीन वर्ष नपुग्दै प्लान्ट बन्द भएपछि उपभोक्ताको उत्साह अहिले निराशामा परिणत भएको छ। एलपी ग्यासको तुलनामा सस्तो र गुणस्तरीय गोबर ग्यासबाट खाना पकाउन पल्किएका स्थानीय ३२ घरका उपभोक्ता दुई वर्षयता पुनः सिलिण्डर ग्यास किन्न बाध्य बनेका छन्। 

खाना पनि राम्रोसँग पाक्ने भएकाले सिलिण्डर ग्यासभन्दा गोबर ग्यास नै राम्रो हुने स्थानीय सरिताकुमारी चौधारीले बताइन्। अर्की स्थानीय श्यामाकुमारी यादवले अहिले सिलिण्डर किन्नुपर्ने बाध्यता भएको बताइन्।

विराटनगर–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा पालिएका करिब दुई सय गाईको गोबरबाट ग्यास उत्पादन हुन्छ। जुन अहिले पनि रोकिएको छैन। त्यहाँ कार्यरत १८ कर्मचारीले मेसिन बिग्रन नदिन ग्यास उत्पादनको कामलाई निरन्तरता दिए पनि पाइपलाइन फुटेका कारण उपभोक्ताको घरसम्म ग्यास पुग्न सकेको छैन। 

उत्पादित ग्यास त्यत्तिकै खेर गइरहेको छ। नाला निर्माणका लागि सडक खन्ने क्रममा दुई वर्षअघि जेसीबीले पाइपलाइन नै फुटाइदिएपछि त्यसयता प्लान्टबाट ग्यास आपूर्ति ठप्प बनेको हो। 

प्लान्ट पुनः सञ्चालनका लागि करिव २५ लाख रुपैयाँ लाग्ने र त्यसका निम्ति सरकार स्वयंले तदारुकता देखाउनुपर्ने कर्मचारी बताउँछन्। श्रीकृष्ण गौसेवा सदन, विराटनगरका इन्चार्ज सन्तोष यादवले पाइप किन्न २० देखि २५ लाख लाग्ने भए पनि चासो नदेखाइएको बताए।

गोबरबाट उत्पादित ग्यासलाई बेलुनमा राखेर अटोमेटिक प्रेस मेसिनबाट चौबिसै घण्टा उपभोक्ताको घरमा ग्यास पुर्‍याउने काम करिब तीन वर्षसम्म मात्र भयो। त्यसयता भने गोबरग्यास उपभोक्तासम्म नपुर्‍याइ बाहिरै फाल्नुपर्ने अवस्था आएपछि ग्यासबाट आउने आम्दानी पनि ठप्प बनेको छ। 

जसकारण त्यहाँ कार्यरत कामदारलाई तलब दिनै नसक्ने अवस्थामा गौसेवा सदन पुगेको छ। श्रीकृष्ण गौसेवा सदनका अध्यक्ष शंकर अग्रवालले गोबर ग्यासबाट गौशाला सञ्चालनमा सहयोग पुग्ने गरेको बताए। आर्थिक श्रोत आउने गरेको भए पनि बन्द भएपछि अहिले कठिन भइरहेको उनले सुनाए।

संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, विश्व बैंक तथा जलवायु लगानी कोषको सहयोगमा सञ्चालित नवीकरणीय उर्जा विस्तार आयोजनाको एक करोड ११ लाख, श्रीकृष्ण गौसेवा सदनको २७ लाख र विराटनगर महानगरपालिकाको १२ लाख गरी कुल डेढ करोडको संयुक्त लगानीमा उक्त प्लान्ट निर्माण गरिएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.