|

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेशीको दबाबमा सत्ता समीकरण फेर्दै हिँडेको आरोप लगाएका छन्।

पार्टीनिकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आइतवार काठमाडौँमा आयोजना गरेको महिला भेलामा उनले यस्तो आरोप लगाएका हुन्। अध्यक्ष लिङदेनले प्रधानमन्त्री प्रचण्डको प्राथमिकता सत्तामात्रै रहेको आरोपसमेत लगाए। 

सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काममात्र ठूला दलहरुले गरिरहेको उनको आरोप थियो। 

अध्यक्ष लिङदेनले देशलाई लुटाहाहरुबाट मुक्त गराउन आफ्नो पार्टीले मात्रै इमान्दार भएर पहल गरिरहेको दावी गरे। उहाँले मुलुकले लुटाहातन्त्रलाई धान्न नसक्ने उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउनेतर्फ लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

‘देशको सरकार कसको हुनु पर्छ, कसको नेतृत्वमा हुनुपर्छ‚ चुनावमा कुन कुन पार्टी मिलेर चुनाव लड्नुपर्छ भन्ने कुरासमेत विदेशीले तय गर्न थाले। विदेशीको दबाबमा भएका प्रधानमन्त्री सत्ता समीकरण फेर्दै हिँड्छन्‚’ अध्यक्ष लिङदेनले भने, ‘अहिले विहान उठ्दा प्रधानमन्त्रीले समीकरण परिवर्तन गरिसकेका हुन्छन्। उनीहरुको प्राथमिकतामा सत्ता मात्रै छ होइन कि मिलिजुली बाँकी रहेको देश लुट्ने र अस्ति लुटेको कारबाहीबाट जोगिनका लागि आपसमा जोडिने।’

अध्यक्ष लिङदेनले आफूहरुले गत निर्वाचनअघि नै देशको सरकार बनाउने निर्णय नेपालीको हातमा हुनुपर्छ भन्ने एजेण्डा बोकेको र त्यसलाई कार्यान्वयनमा लैजान प्रयासरत रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.