|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा), नेपालको आन्तरिक विवाद अन्ततः फुटसम्मै पुगेको छ। नेतृत्व अराजक बनेको भन्दै संघीय परिषद् अध्यक्ष अशोककुमार राई समूहले पार्टी फुटाएको हो।

७ सांसद र २९ केन्द्रीय सदस्यसहित पार्टी दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएको यो समूहले पार्टीको नाम ‘जसपा’ राखेको छ।   नेतृत्व गलत बाटो हिँड्दा खबरदारी गरेर सच्याउने, विवाद हुँदा बहस छलफलबाट साझा निष्कर्ष निकालेर अघि बढ्न छाडेर पार्टी नै टुक्र्याउने स्थिति किन बन्यो? पार्टी विभाजनको कारण नेतृत्वको गलत कार्यशैली मात्रै हो  वा अन्य लुप्त कारण पनि छन्? यी नै समग्र विषयमा प्रस्तावित जसपाका केन्द्रीय अध्यक्ष राईसँग कुराकानी कुराकानीको सम्पादित अश :     

जसपा नेपालभित्रको विवाद नयाँ त होइन, तर फुटकै स्थितिमा चाहिँ कसरी पुग्यो?

तपाईँले भनेजस्तै अगाडिदेखि नै अन्तरविरोध, असन्तुष्टिहरू पार्टीत्रि थिए। ती बढ्दै गएका थिए। तीनलाई हल गरौँ, ठिक ढंगले प्रणालीबद्ध भएर पार्टीलाई अगाडि लैजाऔँ भन्ने अनुरोध मैले बारम्बार गर्दै आएको थिएँ। तर, ती चिजहरूलाई हल गर्नेगरी अनौपचारिक रुपमा बस्ने छलफल गर्ने होइन, कि खालि औपचारिक रुपमा बसीटोपोल्ने अनि आफूखुशी निर्णय गर्दै हिँड्ने अवस्था पार्टीमा बन्यो महाधिवेशनका संघारमा।

महाधिवेशन भनेको त संवेदनशील विषय हो। त्यस्तो विषयमा त्यसको अनुपात, त्यसको प्रतिनिधित्वदेखि लिएर सस्यता वितरणको प्रक्रियासम्म नै एकलौटी ढंगले आपत्तिजनक कदम चालिएपछि अब यतिकै बस्न हुन्न भन्ने परामर्श साथीहरूसँग भयो। त्यसपछि हामी अलग भएका हौँ। 

नेतृत्व गलत बाटोमा हिँड्दा खबरदारी गरेर सच्याउने, विवाद हुँदा बहस छलफलबाट साझा निष्कर्ष निकालेर अघि बढ्ने पो होला त, पार्टी नै टुक्र्याउने कुरा सही भयो र

यो चाहिँ सही नै भयो। किन भने अनेकौँचोटि सल्लाह सुझाव दिँदा पनि नेतृत्व आफ्नै पाराले चल्ने अवस्था कायमै रहेपछि गर्नुपर्ने यही नै हुन्थ्यो। 

एउटा कुरा के भने हामी पहिलो होइनौँ। छैटौँपटक पार्टी अलग गरेर हिँड्नुपर्ने अवस्थामा पुगेका हौँ। भागीनाथ गुप्तादेखि विजय गच्छादार, जेपी गुप्ता, महन्थ ठाकुर र बाबुराम भट्टराईसम्म पाँचौँचोटि भइसकेको थियो। अहिले दुर्भाग्यले हामीले छैटौँचोटि गर्नुपर्‍यो। 

भनेपछि यसैबाट बुझ्न सकिन्छ बारम्बार चाहिँ किन पार्टी टुक्रिरहेको छ? टुक्र्याउनेहरूले रहरले टुक्राएको त पक्कै होइन।  

वर्तमान सरकार ढाल्न माधव नेपाल सक्रिय भएपछि त्यसलाई रोक्न पार्टी फुटाउनुभएको भन्ने छ नि

गठबन्धन सरकार टिकाउन ढलाउन को कति सक्रिय भयो? भन्ने कुरा मलाई त त्यत्ति जानकारी छैन। तर संचार माध्यमहरूले नै दाबी गरेको कुराहरूलाई हेर्दा असन्तुष्ट जस्तो अभिव्यक्तिहरू आएका हुन्।

त्यसैकारण सरकार ढलिहाल्ने अवस्था त पुगिसकेको थियो थिएन थाहा भएन, तर यसलाई जोड्न मिल्दैन। 

किनभने हामी हाम्रो आन्तरिक कारणले नै अलग हुनुपर्ने अवस्था आएको हो। तर मैले भनिसकेको छु, हामी अस्थिरताका कारण बन्दैनौँ। त्यसैले अहिलेकै समीकरणलाई हाम्रो समर्थन रहन्छ। 

पार्टी दर्ताका लागि निवेदन दिनुभएको २४ घण्टा नबित्दै नेताहरू ब्याकहुन थालेको देखियो। तपाईँहरूको सचिव दीपक कार्की संस्थापन पक्षमै फर्किसक्नु भयो होइन

हो, उहाँ संस्थपान पक्षमै हुनुहुन्छ। त्यो साँचो कुरा हो। अब काम गर्दाखेरी कहिलेकाहीँ  मान्छेमा दुविधाहरू हुन्छन्। त्यस्तै हो। ठिकै छ।

अध्यक्ष उपेन्द्र यादव बाहिर रहनुभएको बेला पार्टी विभाजन गर्नुभयो। अब उहाँले अन्य सांसद र नेताहरू पनि उसैगरी ब्याकगराउनुभयो भने?

अहिले हामीसँग जोजो नेताहरू हुनुहुन्छ, उहाँहरूले ब्याक हुनेगरी सनाखत गर्नुभएको हो भन्ने त लाग्दैन। उहाँहरूलाई कसैले करकाप लगाएको पनि होइन। फेरि मन्त्री, सांसद भइसक्नु भएको परिपक्व उहाँहरू कुनै लोभलालच र डर धम्कीमा फस्ने र अस्थिर हुनुहुन्छ होला भन्ने मलाई लाग्दैन।  

अहिले पार्टी विभाजनका लागि ऐन क्रियाशील छैन, अध्यादेश खारेज भएको स्थिति छ। यस्तोमा पार्टीले आधिकारिकता पाउला त

हामीले कानुनी परामर्श लिएर नै गरेको हो। कानुनविदहरूले कानुन अहिले पनि विद्यमान छ भन्ने राय हामीले प्राप्त गर्‍यौँ। अध्यादेश निष्क्रिय भए तापनि अहिले नेकपा एकीकृत समाजवादी बन्दाको नियमावली जुन राजपत्रमा प्रकाशित भएको थियो, त्यो जिउँदै छ। त्यसैअन्तर्गत दर्ता गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो। 

अर्को चाहिँ कानुनकै रिक्तता भएको अवस्थमा पनि राज्यको संवैधानिक अंग आफैँ त निष्क्रिय भएर बस्न सक्दैन। उसले आफ्नो अधिकार प्रयोग गरेर काम कर्तव्य त पूरा गर्नै पर्‍यो।

त्यसो हुँदा दल दर्ता गर्नसक्छ भन्ने कानुनी परामर्श प्राप्त गरेपछि हामी अगाडि बढेका हौँ। कानुनी हिसबले पूर्ण आधार छ भन्ने विश्वास छ। 

तपाईँहरूसँग संघीय सांसद ४० प्रतिशतभन्दा बढी भए पनि केन्द्रीय सदस्य ४०६ मध्ये ३० जना मात्रै छन्, यसकारण अफ्ठ्यारो पर्ने त होइन?

अघि नै मैले भनेँ, दलसम्बन्धी नियमावली दोस्रो संशोधन २०७८ अन्तर्गत हामीले दल दर्ताको निवेदन दिएका हौँ। त्यो नियमावलीले केन्द्रीय समिति वा सांसदहरू मध्येबाट २० प्रतिशत पुर्‍याएको अवस्थामा दल दर्ता गर्न मिल्ने भनेको छ। हामीसँग संसदीय दलको ४५ प्रशित सांसद छौँ। 

पार्टी फुटाएर फेरि त्यही नाम चाहिँ किन रोज्नुभयो

नयाँ पार्टी भएको भए अलग्गै नाम राखिन्थ्यो। तर विभाजन भएको हुनाले जनता समाजवादी पार्टी नेपालबाट जनता समाजवादी पार्टी मात्रै राखेका हौँ। 

चुनाव चिह्न मुट्ठी पारेको हात रोज्नुको कुनै खास कारण छ

त्यस्तो खास कारण केही छैन। हामी सबै साथीहरूबीच यो चुनाव चिह्न सजिलो हुन्छ भन्ने भयो। संकल्पको अठोटको एउटा प्रतीक, एकता र शक्तिको प्रतीक पनि भएको हुनाले यही राखौँ भन्ने कुरा भयो। 

तपाईँको पृष्ठभूमि एमाले, गत निर्वाचन पनि एमालेकै समर्थनमा जित्नुभएको, अहिले त्यही एमाले सहितको सरकार जोगाउन लाग्नुभयो भनिएको छ, भोलि एमालेसँग विलय हुने त होइन

बिल्कुल होइन। हामी एमाले र कुनै दलसँग एकता गर्नका लागि यो सारा कसरत गरिराख्या होइनौँ। हामीले एउटा पहिचानको राजनीति र आन्दोलनलाई अगाडि बढाउनको निम्ति एउटा स्वतन्त्र शक्ति चाहिन्छ भन्ने अनुभूति भएर, त्यस किसिमका सोचका साथ यो पार्टी बनाएका हौँ।

हिजो एमालेबाट अलग्गिँदा पनि त्यही हिसाबले नै हो। अहिले पनि त्यो उद्देश्लाई बिर्सेका छैनौँ। त्यसकारण कुनै पार्टीसँग एकीकरण गर्ने कुरा आउँदैन। हामी पार्टीलाई सुदृढ र सवल बनाएर आफ्नो उद्देश्यमा निरन्तर अघि बढ्छौँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.