वर्षाले स्थगित भयो एउटा सेमिफाइनल

|

ललितपुर : मकवानपुरको हेटौँडा उपमहानगरपालिका महाङ्काल गाउँपालिकामा जारी प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

मानिखेलको भलिबल कोर्टमा सम्पन्न सेमिफाइनलमा सिन्धुलीको घ्याङलेख गाउँपालिकालाई २५–१७, २३–२५, २५–१८ र २५–१५ को सेटमा हराउँदै हेटौँडा फाइनलमा पुगेको हो। 

अर्को सेमिफाइनल खेल भने वर्षाका कारण अवरुद्ध भएको छ। 

गोटीखेलको भलिबल कोर्टमा आयोजक महांकाल गाउँपालिका र थाहा नगरपालिकाबीच प्रतिस्पर्धा चलिरहँदा वर्षाका कारण खेल अवरुद्ध बनेको थियो। 

पानी निरन्तर परेकाले सो खेल स्थगन गरिएको आयोजकले जनाएका छन्। स्थगन हुनुअघिसम्म महांकाल २ सेट जितेर खेलिरहेको थियो। ​स्थगित खेल र फाइनल खेल बुधवार हुने आयोजकको तयारी छ।   

यसअघि महांकालले बागमती गाउँपालिकालाई २५–२२, २९–२९ ले हराएर सेमिफाइनलमा स्थान बनाएको थियो। क्वार्टरफाइनलमा थाहाले माडी नगरपालिकालाई २५–१७, २५–२१ ले पराजित गरेको हो। 

हेटौँडाले खाँडादेवी गाउँपालिकालाई २५–१२, २५–१६ ले निरास बनाएर अन्तिम ४ मा स्थान बनाएको थियो भने अर्को क्वार्टरफाइनलमा घ्याङलेखले गोकर्णेश्वर नगरपालिकालाई २५–२३, २९–२७ ले हराएको थियो।

प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुने टोलीलाई १ लाख रुपैयाँ नगद प्रदान गरिनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल र छोरी ज्ञानु दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता संचालित छ। 
प्रतियोगितामा बागमती प्रदेशका १६ पालिकाले सहभागिता जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.