धनकुटा : धनकुटामा जारी शहीद भीमनारायण गोल्डकपको १६ औँ संस्करणको चौथो दिन भएको खेलमा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको खेलमा सिराहाको सलहेस फुटबल क्लबलाई १–० ले पराजित गर्दै आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले सेमिफाइनलको यात्रा तय गरेको हो। यो खेलसँगै पहिलो चरणका खेल सम्पन्न भएका छन्। बुधबारको खेलमा पहिलो हाफमा एक गोल नभए पनि दोस्रो हाफमा खेलको ६६ औँ मिनेटमा धनकुटाले अग्रता लिएको थियो।
आफूले पाएको कर्नर सदुपयोग गर्दै धनकुटाले अग्रता लिएको हो। बुद्ध चेम्जोङ प्रहार गरेको कर्नर बललाई खमिर गुल्सन कन्दङवाले गरेको गोल नै निर्णायक गोल बनेको थियो। यसैगरी धनकुटाको जितमा धनकुटाका गोल किपर प्रदीप भण्डारी नायक बने।
उनले खेलको ५८ औँ मिनेटमा सलहेसका फागुराम थारूले प्रहार गरेको पेनाल्टी सहित दर्जनौँ प्रहारको बचाउ गरेका थिए। खेलको म्यान अफ द म्याच भएका भण्डारीले नगद ५ हजार ५ रुपैयाँ हात पारे।
योसँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने चारवटै टोलीको पनि टुंगो लागेको छ। प्रतियोगिताअन्तर्गत बिहीबारबाट सेमिफाइनलका खेल हुनेछन्। जसअन्तर्गत सेमिफाइनलको पहिलो खेल बिहीवार विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं र राष्ट्रिय जागृति क्लब सुनसरीबीच हुनेछ भने शुक्रबार बिर्तामोड युनाइटेड क्लब झापा र आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानबीच दोस्रो सेमिफाइनल खेल हुने भएको छ। दुवै सेमिफाइनल खेलका विजेताबीच शनिबार फाइनल खेल हुने आयोजकले जनाएको छ।
दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिता आगामी २९ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए।
२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ। तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ। श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।