वासनादार, मसिनो चामलको खपतले आयात बढेको बढ्यै

|

काठमाडौँ : विश्वकै आधाभन्दा बढी मानिसको मुख्य खाद्यबाली धानको उत्पादन वर्षेनि बढ्दा पनि नेपालले हरेक वर्ष ठूलो धनराशि आयातमा खर्चिनुपरेको छ। 

पछिल्ला वर्षमा धानबालीको क्षेत्रफल घट्नुका साथै उत्पादकत्व पर्याप्त बढ्न नसक्दा आयात गर्नुपर्ने बाध्यता रहेको विज्ञहरू बताउँछन्। धान खेती हुने जमिन गत आर्थिक वर्षको तुलनामा ०.६१ अर्थात् ८ हजार ८ सय हेक्टरले घटेर १४ लाख ३८ हजार ९८९ हेक्टरमा सीमित भएको छ। समग्रमा खेती गर्ने परिवार बढे पनि जग्गाको क्षेत्रफल घट्दा उत्पादनमा नकारात्मक असर परेको छ। 

२०७८ को कृषिगणना अनुसार ४१ लाख ३० हजार ७८९ परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा खेती गरेका थिए भने अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषकले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा खेती गरेका थिए।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले उत्पादन बढेर यो वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान फलेको छ। चालू आर्थिक वर्षको धान उत्पादन पछिल्लो चार वर्षको औषत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढेको हो। नेपालमा वर्षेधानको औसत उत्पादकत्व प्रतिहेक्टर ३.९८ टन रहेकोमा चैते धानको प्रतिहेक्टर ४ टनभन्दा बढी छ। 

आयात किन घटेन ?

धानविज्ञ राजेन्द्र उप्रेती धानखेती हुने जमिन घट्नुका साथै उत्पादन पनि पहिलेको तुलनामा हुनुपर्ने जति नहुँदा आयात गर्नुपर्ने अवस्था रहेको बताउँछन्।

‘चामलको आयात रोक्न, उत्पादकत्व बढाउनेतर्फ सरकार, अनुसन्धान गर्ने नार्क र किसान समेत गम्भीर रूपमा लागेका छैनन्’‚ उप्रेती भन्छन्‚ ‘९० को दशकमा नेपाल, भारत, बंगलादेश, भियतनामको उत्पादकत्व उस्तै–उस्तै करिब ३ टन प्रतिहेक्टर थियो। भियतनाम ६ टन, बंगलादेश ५ टन, भारत ४ टन, श्रीलंकाको उत्पादकत्व ६ टनभन्दा बढी भइसक्यो। हामी ३ देखि साढे ३ टनको आसपासमै छौँ।’ 

उनका अनुसार धानखेती हुने जग्गा पछिल्लो १४–१५ वर्षमा एक लाख हेक्टर घटेको छ। तथ्यांकमा धानबाली भित्र्याउने समय मंसिर, पुसमाघतिर नै चामलको आयात बढी हुने गरेको देखिन्छ। ‘यसबाट हाम्रा मिल र किसानहरूले चाहेको जस्तो धान यहाँ उत्पादन गर्न सकेका छैनौँ भन्ने हो। उपभोक्ताले रुचाएकै चामल निस्कने धानको जात विकास गरेर उत्पादन गर्न सके आयात घट्छ’‚ उनले भने। उनका अनुसार अहिले नेपाली उपभोक्ताले थकाली लङग्रेन, जिरा मसिनो, ज्ञान, इन्डियन बासमती लगायतका चामल बढी प्रयोग गरिरहेका छन् तर यी जात नेपालमा अनुसन्धान र राज्यको सिफारिसबाट गइरहेका छैनन्। जसले गर्दा नेपालका किसानहरूले उत्पादन गरेको धान मुख्य खानाभन्दा अन्य प्रयोजनमा प्रयोग भइरहेको छ।

‘देशभर मसिनो चामल खाने एउटा वर्ग तयार भएको छ, जसको माग पूरा गर्न आयात गर्नुपरेको छ’, धानविज्ञ उप्रेतीले भने‚ ‘मागअनुरूपका धानको जात विकास भएन। नेपालीले आफूले उत्पादन गरेको धान नखाएर मिठो मसिनो खोज्यो, जसले गर्दा किनेर खाने बढे, तिनको माग धान्न आयात गर्नैपर्‍यो।’

उप्रेतीका अनुसार अहिले पूर्वी नेपालमा सबैभन्दा धेरै (५०–६०) प्रतिशत रञ्जित जातको धान लगाइन्छ। दोस्रो नम्बरमा लगाइने धानको जात सोर्ना हो तर यी दुवै भारतीय जात हुन्। नेपालबाट सिफारिस भएको जातमा नपर्ने उप्रेतीले बताए। चैते दुई, हर्दिनाथ १, हर्दिनाथ ५ लगायतका चैते धानका जात, नेपालकै अनुसन्धान प्रणालीमार्फत सिफारिस भएका धान हुन् तर वर्षामा लगाइने धानहरूमा सरकारी सिफारिसका जात निकै कम पर्छन्। पूर्वी नेपालमा सबैभन्दा धेरै (५–६ प्रतिशत मात्र) लगाइएको मोटा धान राधा १२ पनि मुख्य खानाको रूपमा भन्दा चिउरा, मुरैका लागि मिलले किन्ने गरेका छन्। 

नेपालको तराईमा धेरै धान फल्ने गरेको छ। हावापानी सुहाउँदो बीउ नहुँदा धानको फसल लाग्न र बाली पाक्न ढिला हुँदा अर्को बालीलाई समेत असर गर्ने गरेको छ। जसका कारण किसानले धान नफल्दै काटेर पराल, घाँसका रूपमा बेच्ने र तोरी, आलु लगायत तरकारीजन्य एवं नगदेबाली लगाउने गरेका पाइएको छ। 

ढिँडोभन्दा भात मीठो

धानपछिको मुख्य बाली मकै नखाएर बेच्ने र त्यही पैसाले धानचामल किनेर खानेहरू बढेकाले पनि समस्या भएको छ। धानविज्ञ उप्रेती भन्छन्‚ ‘नेपालीलाई मकै र यसका परिकार मन पर्न छोड्यो। बरु मकै बेचेर चामल किन्छन्। मकै, मकैको ढिँडो, रोटीभन्दा भात मिठो मान्ने बढे। यसले पनि आयात बढाउन मद्दत गरिरहेको छ।’

उनले मिलहरूले ल्याउने धान, किसानले उत्पादन गरेको धान र नेपाल सरकारले सिफारिस गरेको धानबीच कुनै सम्बन्ध नदेखिएको एक अध्ययनका क्रममा पाएको बताए। किसानले उत्पादन गरेको धान खानाभन्दा अन्य चिउरा, भुजा, गाईबस्तुको दाना बनाउन प्रयोग हुनेदेखि रक्सी बनाउने लगायतमा प्रयोग भइरहेको छ। ‘यसरी मकै पनि मुख्य खानाबाट बाहिरियो र उत्पादन गरेको धान पनि खानाभन्दा अन्य प्रयोजनका लागि प्रयोग भएपछि उत्पन्न खाडल पुर्न विदेशबाट चामल आयात गर्नुपरेको देखिन्छ’‚ उनले भने। 

तर सरकार, अनुसन्धान गर्ने निकाय र स्वयं किसान पनि रुचाइएको जातको पहिचान, विकास गर्ने, भित्र्याउने र सहजीकरण गरी उत्पादनमा जोड दिन सकिएको छैन। ‘भारत, श्रीलंका, बंगलादेशमा सरकारी निकायबाट जारी गरिएका धानको जात हाम्रोमा पनि सहजै आउनुपर्ने हो तर सरकारले नै पर्याप्त पहल गरेको देखिदैन’‚ उप्रेतीले भने‚ ‘त्यहाँ धेरै फलेका धान नेपालको हावापानी सुहाउँदो छ‚ छैन‚ नार्कले अनुसन्धान गरी किसानसम्म पुर्‍याउन नेपाल सरकारले उचित सहजीकरण गरिदिनुपर्छ।’

खुला सिमानाका कारण समस्या

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का धानबाली संयोजक मथुरा यादव पनि नार्कले किसानको अपेक्षानुसार काम गर्न नसक्नु कमजोरी भएको बताउँछन्। सरकारले अनुसन्धानमा कम बजेट छुट्याएको भन्दै उनले जनशक्तिको अभावबीच नार्कले आफ्नो क्षमतानुसार काम गर्नुपर्दा किसानको आशा अपेक्षानुसार काम गर्न नसकेको बताए।

‘तर खुला सिमानाका कारण किसानले धेरै फल्ने भन्दै हावापानी सुहाउँदो बीउ छान्न नसक्नु, आफूले फलाएको बेचेर मिठो मसिनो छनोट गरी महँगोमा किनेर खान कारण पनि समस्या भएको हो’‚ उनले भने। 

किसानले आफूले उत्पादन गरेको बेचेर मिठो चामल किन्ने गरेको बताउँछन्। ‘किसानको आय बढ्यो, आफूसँग भएको मोटा धान बेचेर मिठो खान मसिनो किनेर ल्याउँछन्’, उनले भने‚ ‘पहिले पहाडतिर बाटोघाटो पर्याप्त थिएन, गाउँठाउँमा जे फल्छ, पाइन्छ‚ त्यो उब्जाएर खान्थे तर अहिले ढुवानीको सहजताले मिठो मसिनो किनेर खान थाले‚ जसले गर्दा पहिलेभन्दा उत्पादन बढे पनि आयात घट्न सकेन।’ 

हरेक वर्ष धान, चामललगायतको आयात बढेको छ। नेपालले हरेक वर्ष धान र चामल किन्न एक खर्ब रुपैयाँभन्दा धेरै खर्चिने गरेको छ। सबैभन्दा धेरै धानचामल भारतबाट आयात हुने गरेको छ। 

आर्थिक वर्ष २०३८।३९ देखि आजसम्म नेपालले लगातार धान आयात गरिरहेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०।८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ जुन आव २०७०।७१ यता तुलनात्मक रूपमा बढी हो। तथ्यांकअनुसार नेपालमा आव २०७७।८८ मा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको थियो। आव २०७९।८० मा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.