|

बैतडी : मधेश प्रदेशको राजधानी जनकपुरधाममा जारी शहीद कप अन्तरप्रदेश टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश उपाधिनजिक पुगेको छ। आज भएको सेमिफाइनलमा गण्डकी प्रदेशलाई १३ रनले स्तब्ध पार्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो।

सुदूरपश्चिमले दिएको १२७ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११३ रन मात्रै बनाउन सक्यो। उसका लागि समीर कडेलले १८, कप्तान विपिन खत्रीले १६ रन बनाए तर जिताउन सकेनन्।

सुदूरपश्चिमका लागि विकास आग्रीले कसिलो बलिङ गर्दै ३ विकेट, नरेन साउदले २ विकेट हात पारे।

त्यसअघि रामजानकी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा ९ विकेटको क्षतिमा १२६ रन बनायो। कप्तान बसन्त खत्रीले सर्वाधिक ३० रन बनाए। उनी खेलका म्यान अफ द म्याच पनि भए। किरन ठगुन्नाले २८ र दिपक बोहराले २६ रनको योगदान गरे। 

गण्डकीका कमल परियारले २ विकेट झारे। 

उपाधिका लागि अब सुदूरपश्चिमले जनकपुर-११ को सामना गर्नेछ। 

फाइनल खेल भोलि हुने सुदूरपश्चिम प्रदेशका टिम व्यवस्थापक रमेशबहादुर बोहराले जानकारी दिए।

लिग चरणबाटै अपराजित रहेको सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने सुदूरपश्चिमका प्रशिक्षक खेमराज भट्टले बताए।

बलिङ, ब्याटिङ र फिल्डिङ सबै पक्ष मजबुत रहेकाले उपाधि रक्षा गर्ने लक्ष्य रहेको सुदूरपश्चिमका कप्तान बसन्त खत्रीले बताए।

वैशाख २० देखि २९ गतेसम्म शहीद कप अन्तरप्रदेश टी-२० क्रिकेट प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहेको छ। 

मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजना, शहीद कप क्रिकेट कमिटीको संयोजन तथा नेपाल क्रिकेट सङ्घ (क्यान)को सहकार्यमा सञ्चालन भइरहेको प्रतियोगितामा सातै प्रदेशको क्रिकेट टिम र एउटा आयोजक टिम गरी ८ टिमको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेता टिमलाई २ लाख ११ हजार नगद तथा ट्रफि र उपविजेता टिमलाई १ लाख १ हजार नगद र ट्रफि पाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.