नेतृत्वमा दाबी गर्ने नैतिक आधार नभएको तर्क

|

काठमाडौं : नेपाली कांग्रेसको आगामी महाधिवेशनको लागि नेताहरूको दौडधूप बढेको छ। सभापति सहित पदाधिकारी पदमा आकांक्षी र शीर्ष नेताबीच छलफल र बैठक दिनहुँजसो चलिरहेका छन्। शीर्ष नेताहरूको घरमा नेता कार्यकर्ताको भीड लाग्ने गरेको छ।

कोठे बैठक तथा खानपानसहित आयोजना हुने गरेका बैठकमा आगामी महाधिवेशनमा जीत-हारको हिसाबकिताब हुन थालेको छ। महाधिवेशनमा विषेशगरी संस्थापन समूह र संस्थापन इतर समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ।

संस्थापन समूहमा वर्तमान सभापति शेरबहादुर देउवाले फेरि सभापति बन्ने तयारी गरेका छन्। संस्थापन इतर समूह देउवाविरुद्ध एक भएर जाने तयारीसाथ छलफलमा व्यस्त भएपनि आकांक्षी धेरै हुँदा अलमलमा परेको छ।

सभापति देउवाले सभापतिमा पुनः रहर व्यक्त गरिरहँदा उनका चुनौतीहरूको विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ। पार्टी सञ्‍चालन र प्रमुख प्रतिपक्षी दलको हैसियतले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेका कारण आगामी महाधिवेशनमार्फत्‌ फेरि पार्टी सभापति बन्न कठिन रहेको राजनीतिक विश्लेषकको तर्क छ।

यी बाहेक देउवाका अन्य चुनौतीहरू पनि देखिएका छन्। 

आफ्नै समूहबाट सभापतिका आंकाक्षी धेरै

पार्टीका पूर्व सभापति तथा पुराना नेता गोपालमान श्रेष्ठले आफू नेतृत्वमा पुगे गुट अन्त्य गर्ने उद्देश्यका साथ पार्टीको १४औँ महाधिवेशनमा सभापतिमा लड्ने तयारी गरेका छन्।

सभापति देउवाले दोस्रो पटक पार्टी सभापतिमा तयारी गर्दै गर्दा नेता श्रेष्ठले एक पटक नेतृत्वमा पुगेर पार्टी चुस्त बनाउने रहर व्यक्त गरेका छन्। देउवाले जस्तो पटक पटक सभापतिमा लड्ने रहर नगर्ने तर यसपटक सबै समूहको समर्थनमा आफू सभापति बन्ने उनको दाबी छ।

पार्टी राजनीतिमा सभापति देउवालाई काँध हालेर साथ दिदै यहाँसम्म आएका देउवाको अत्यन्तै निकट मानिने नेता श्रेष्ठले भने, 'मलाइ सभापतिमा लड्न देउवा र संस्थापन इतर गरी दुवै समूहको राम्रो साथ रहनेछ, म पुरानो नेता भएको कारण पनि सबै शीर्ष नेतालाई मिलाएर लैजान सक्नेछु, युवा पुस्तालाई समेटेर अघि बढ्नेछु।'

सभापति देउवाका अर्का विश्वासिला पात्र विमलेन्द्र निधि पनि सभापतिका आकांक्षी हुन्।

देउवालाई आफूनिकट मानिएका नेताले यसअघि जस्तै सहयोग गर्नुको साटो प्रतिस्पर्धामा उत्रिन खोजेपछि आफ्नै समूहभित्र चुनौती बढेको छ। आफ्नै समूहका नेताहरू आफूविरुद्ध प्रतिस्पर्धामा उत्रिन खोज्नु देउवाको मुख्य चुनौती हो।

यद्यपी; देउवा समूह निकट मानिने नेतृ पुष्पा भुसाल भने देउवा नै फेरि पार्टी सभापति बन्ने दाबी गर्छिन्। भुसालले पार्टीमा बढीभन्दा बढी सक्रिय सदस्य बनाएर चुनावी माहोल शुरू हुनु सकरात्मक सन्देश भएको प्रतिक्रिया दिएकी छन्।

संस्थापन इतर समूहको चुनावी तयारी, अन्य पार्टीबाट आएका नेता कार्यकर्ताको व्यवस्थापन र विभिन्न समूह वा गुटका एजेन्डालाई साझा बनाएर अघि बढ्नुपर्ने चुनौतीलाई चिर्दै फेरि पनि सभापतिको लागि तयारी गरेका देउवाले नेतृत्वमा पुग्नसके पार्टी र राष्ट्रिय राजनीतिमा निकास दिने उनको विश्वास छ। 

पार्टी सञ्‍चालनको कार्यकुशलतामाथि प्रश्न 

सभापति देउवाले पार्टी एकलौटी ढंगले चलाएको भन्दै संस्थापन इतर समूहले आरोप लगाउँदै आएको छ।

संगठन कब्जा गरेर पार्टी चलाएको, भातृ संगठनहरू गठन गर्न नसकेको र गठन भएका भातृ संगठनहरू पनि अन्य शीर्ष नेताहरूसँग सरसल्लाह नगरी आफूअनुकुल गठन गरेको भन्दै संस्थापन इतर समूहले विरोध भइरहेको हो। १४ औँ महाधिवेशन पनि पार्टी वैधानिकता समाप्त हुनै लाग्दा समेत महाधिवेशन हुने/नहुने अन्योल कायमै छ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेलले देउवाले वर्तमान नेपाली समाजको चुनौतीको सामना गर्न कस्तो खाले विचारधारा र सिद्धान्त परिमार्जन गरेर अघि बढ्नुपर्छ भन्ने चिन्तन गर्नुको साटो विपीको विचार र दर्शनका नाममा सिधै नेतृत्वका लागि लडाइँ गरिरहेको टिप्पणी गरेका छन्।

पार्टीका विभाग अपूर्ण राख्नुको साथै भातृ संगठनको महाधिवेशन समयमा गर्न नसकेर पार्टी भद्रगोल भएको अवस्थामा व्यवस्थित र वैचारिक बनाउनपर्ने एजेन्डा आउन नसकेको उनको तर्क छ।

पार्टीमा क्रियाशील सदस्यता वितरणमा संस्थापन पक्ष हावी हुनु, अघिल्लो महाधिवेशनपछि अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेका नेताहरूलाई संस्थापन पक्षमा राख्नु र पार्टीको संगठनमा समेत कब्जा जमाएर देउवाले महाधिवेशनको नतिजा आफ्नो पक्षमा पार्न खोजेको विश्लेषकको ठम्याइ छ।

यद्यपी; राजनीतिक विश्लेषक लोकराज बरालले भने देउवाको विकल्प अन्य नेता नभएको कारण देउवा नै फेरि पार्टी सभापति बन्ने ठोकुवा गरेका छन्। देउवाको कार्यशैली खराब भन्दै गर्दा अन्य नेताहरू देउवाको जत्ति पनि कार्यक्षमता नदेखिएको कारण देउवा नै सभापतिमा दोहोरिन योग्य व्यक्ति भएको उनको बुझाइ छ। 

बलियो बन्दै संस्थापन इतर समूह 

सभापतिको लागि धेरै आकांक्षी देखिएपनि देउवाको कार्यशैलीदेखि रुष्ट भएका संस्थापन इतर समूह अन्तिम समयसम्म एकढिक्का भएर महाधिवेशनमा उत्रिए भने देउवाको लागि त्यो सबैभन्दा ठूलो चुनौती हुनेछ।

सभापति भएको हैसियतले महाधिवेशन सम्पन्न गराउन जिम्मेवारी र भूमिका धेरै हुनु र नेतृत्व पनि आफ्नो हातबाट अर्को समूहलाई सुम्पिनुपर्ने अवस्था आउन नदिनका लागि देउवाले आफ्नो पक्षबाट कसरत गरिरहेका छन्।

संस्थापन इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डाक्टर शेखर कोइरालाले सम्भव भएसम्म सहमति गरेर साझा उम्मेदवार उठाउने तयारीस्वरूप छलफल गरेका छन्।

तेस्रो समूहको नेतृत्व गर्दै आएका नेता कृष्ण सिटौलालाई पनि सकेसम्म सहमति गरेर संस्थापन इतर समूहबाटै साझा उम्मेदवार खडा गर्न आग्रह गर्दै आएका छन्। यदि महाधिवेशनसम्म यो समूहले तयारी गरेजस्तै गरी सहमति जुट्यो भने सभापति देउवालाई ठूलो धक्का लाग्ने देखिएको छ। 

युवा पुस्ता व्यवस्थापन 

कांग्रेसमा युवा पुस्तालाई व्यवस्थापन गर्नु अर्को चुनौती बनेको छ।

पुराना पुस्ताका नेताहरू सभापति र अन्य पदाधिकारीका लागि तयारी गर्दैगर्दा नयाँ पुस्ताका नेताहरू पनि महाधिवेशन केन्द्रीत रणनीति बनाउँदैछन्। आशा र सम्भावना बोकेका युवा नेताहरूलाई आफ्नो गुटमा ल्याउन संस्थापन र इतर समूहले कसरत गरिरहेको भएपनि केही नेता विचार मिल्ने शीर्ष नेतालाई साथ दिन खोजेका छन् भने केही युवा नेताहरू विद्रोह गर्ने मनस्थितिमा पनि छन्।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल भन्छन्, 'आगामी महाधिवेशनमा पनि गुट र शीर्ष नेताकै फेर समातेर युवा नेताहरूले साथ दिए भने पुस्तान्तरणको कुनै सम्भावना देखिँदैन।'
 
प्रतिपक्षी भूमिकामा कमजोर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको (आजबाट प्रतिस्थापन हुने) सरकारविरुद्ध खास विरोध गरेको सुनिएन। कांग्रेस चुप बस्नुको रहस्य धेरैले खोतल्ने प्रयास पनि गरे।

तर, 'ढुंगामुढा गर्नु र सडक तताउनु कांग्रेसको चरित्र होइन' भनेर आफूलाई शालीन देखाउन खोज्यो।

यसबीच प्रधानमन्त्री केपी शर्मा ओलीले दुई/दुईपटक प्रतिनिधि सभा विघटन गरे। तर, कांग्रेसले खास विरोध गरेन। शेरबहादुर देउवाले सरकार प्रतिस्थापन गर्ने आफ्नो दायित्व नभएको भन्दै ओलीप्रति अप्रत्यक्ष सहिष्णुता देखाइरहे।

सरकारविरुद्ध कांग्रेस चुप बस्नुको प्रमुख कारण सभापति कारण देउवा नै भएको नेताहरूले बताएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यसत्ता लापरबाहीसँग चलिरहेको अवस्थामा असन्तुष्टि हुँदा समेत विरोध गर्न नपाएको बताए। उनी भन्छन्, 'पार्टीको फोरमबाट जति विरोध हुनुपर्ने हो, त्यो भएन। सडकबाट जुलुस लिएर जाउँ भनेकै हुँ। विरोधमा उत्रिने प्रस्तावको पार्टीभित्रै विरोध भयो सरकारको विरोध त परको कुरा!'

कार्यशैलीको कारण सभापति देउवाले राम्रो प्रभाव छाड्न नसकेको नेता कार्यकर्ताको बुझाइ छ। आगामी महाधिवेशनमार्फत्‌ फेरि पार्टीको नेतृत्व गर्ने आधारहरू कम भएकाले नेता-कार्यकर्तामा देउवाप्रति विश्वासको वातावरण नभएको संस्थापन इतर समूहका नेताहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.