|

विराटनगर : मोरङको लेटाङ नगरपालिकामा एक शिक्षकले छात्रा माथि दुर्व्यवहार गरेको भन्ने विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको छ। झडपमा मोरङका प्रहरी उपरीक्षकसमेत घाइते भएका छन्।

लेटाङ नगरपालिका-५ स्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले सोही विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रा माथि दुर्व्यवहार गरेको आरोपमा शुरु भएको विवादले आइतबार चर्को रुप लियो। 

शिक्षकले आफूमाथि फागुका दिन दुर्व्यवहार गरेको भन्दै छात्राले प्रधानाध्यापकलाई भनेकी थिइन्। यसबारे प्रअले आरोपित शिक्षकसँग सोधपुछ गरिरहेका वेला स्थानीयहरू विद्यालयमा आएर तानातान भएपछि विवाद बढेको थियो।

विद्यालय तनावग्रस्त भएपछि भीड नियन्त्रणका लागि सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको नगरपालिकाका प्रमुख शंकर राईले बताए। उनका अनुसार आक्रोशित भीडले विद्यालय परिसरबाट शिक्षकलाई बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो। आक्रोशित भीडले विद्यालयमा आगजनीसमेत गरेको प्रमुख राईले बताए।

स्थानीयले विद्यालयमा तोडफोड गर्दै त्यहाँ भएका मोटरसाइकलमा आगो लगाउन थालेपछि प्रहरीसमेत आएको थियो। स्थानीयले विद्यालयको क्यान्टिनमा आगजनी गरेको बताइएको छ। झडपपछि सशस्त्र प्रहरी बलको टोली त्यहाँ पुगेर स्थिति साम्य पार्न प्रयास गरेको छ।

विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई  प्रहरी बेलुका नियन्त्रणमा लिएर विराटनगर लाने क्रममा आक्रोशित भीडले आक्रमण गर्दा एक महिला प्रहरीको मृत्यु भएको बताइएको छ।

विवादका बीच नै महिला प्रहरीमाथि धारिलो हतियार प्रहार गरेको समाचार आफूले पाएको मोरङका सांसद घनश्याम खतिवडाले बताए। दुई जनाको मृत्यु भएको अपुष्ट सुचना पाए पनि पुष्टि भइ नसकेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.