बालकृष्ण अधिकारी
जीवनमा कतिपय कुराहरू विस्मृत हुन गाह्रो हुन्छ। तीमध्ये आफूले अध्ययन गरेको विद्यालय पनि एक हुन सक्छ। कारण अनेक होलान् तर सम्झनामा आइरहन्छ। आज म विद्यार्थीले विद्यालय सम्झने कारणहरूको बारेमा लेख्न लागेको भने होइन।
मानिसले आफू पढेको विद्यालयको गुन तिर्न विभिन्न कामहरू पनि गरेका छन्। त्यसको फेहरिस्त पनि लेख्न लागेको होइन। हाल आएर विद्यार्थीहरूको विद्यालयप्रतिको व्यवहार र बोली फेरिएको छ। सबै त भन्न नमिल्ला तर अधिकांश विद्यार्थीको विद्यालयप्रति साँच्चै सम्मान छैन।
उनीहरू विद्यालयलाई केवल एक शैक्षिक तह पास गरी माथिल्लो तहमा उक्लने अथवा कागजी सर्टिफिकेट प्राप्त गर्ने उद्योगको रुपमा मात्र लिन्छन्।
विद्यालय, गुरु गुरुआमालगायतलाई जुन सम्मान पहिले हुन्थ्यो आज औपचारिकतामा सीमित भएको छ। आजभोलि एउटा विषय बेलाबेलामा चर्चामा आइरहन्छ। विद्यार्थीले पिटाइ खाएको। विद्यार्थीलाई नकरात्मक असर नै पर्ने गरी पिट्नुपर्छ भन्ने पक्षधर म हुँदै होइन।
यसमा मेरो व्यक्तिगत अनुभव छ। यो सबैमा लागू हुन्छ भन्ने पनि छैन। जतिबेला म कक्षा पाँचमा पढ्थेँ, एक जना पाण्डे (सम्मानसाथ नाम गोप्य राख्छु) थरका गुरु हुनुहुन्थ्यो। म उसबेला गणित विषयमा अति कमजोर थिएँ। उहाँले मलाई बुझाउन पनि राम्ररी नै बुझाउनुभयो र बेलाबेला दनक पनि दिँदै गर्नुभयो। त्यसबेला खुब रिसले मनमनै सराप्थेँ अहिले गौरवका साथ धन्यवाद दिन्छु।
अर्का द्ईजना ढकाल (सम्मानसाथ नाम गोप्य राख्छु) थर गरेका गुरुहरू हुनुहुन्थ्यो, निमावि तहमा। ढकाल सरहरू विद्यालय नआएको दिन हामीलाई दसैँ आएझैँ लाग्थ्यो तर वर्षदिनमा दसैँ आएजस्तो उहाँहरू पनि वर्षदिनमा एकदुई दिन मात्र गयल भइदिने।
अनुशासन अति कडा उहाँहरूको। पढाइको त कुरै नगरौँ, पितृ बुझाइदिनुहुन्थयो। एकजना ढकाल गुरुले गणित पढाउन्जेल कहिले गणितमा दाग लागेन। अर्का ढकाल गुरुले नेपाली विषय पढाएको प्रभावले नै आज नेपाली विषय शिक्षक बनेँ तर दुई ढकालका कुटाइ हामीले जति सायदैले खाए होलान्।
अर्का एक जना खड्का (सम्मानसाथ नाम गोप्य राख्छु) गुरु हुनुहुन्थ्यो। पटक्कै नपिट्ने। साहित्यिक पाठहरू एकै पटमा दिमागमा फुत्त छिर्नेगरी पढाउने खुबी उहाँमा जति अरूमा मैले भेटिनँ।
कहिलेकाहीँ गीत रच्नुहुन्थ्यो र म पनि यसो रच्न नक्कल गर्थेँ।
उहाँहरूको स्वभाव थाहा नभएर पनि धेरै कुरा फरक पर्थ्यो । आजभोलि सँगै उठबस गरेका अग्रजहरू आफ्ना गुरु बन्दा विद्यार्थी त्यति असहज महसुस गर्दैनन्। शिक्षक पनि विद्यार्थीसँगै बसेर मदिरा पिएको मैले पनि देखेको छु। अनि कसरी होस् त सम्मान। पहिले शिक्षा प्राप्ति नै असहज थियो। बल्लबल्ल पाएको अवसरलाई सदुपयोग गरौँ भन्ने हुन्थ्यो।
आज शिक्षा सहज भएको छ। सजिलै पाइने कुराको त्यति महत्व नराखेको पो हो किरु फेल भइएला र पुनः उही कक्षा दोहोर्याउनु पर्ला भन्ने कम्ता डर हुँदैनथ्यो। अहिले भर्ना भएपछि सिधै पास। हुन त सरकारले फेल नहुने गरी पढाउनु भनेर ‘नो फेल सिस्टम’ राखेको हो तर फेल गराउनै हुन्न भन्ने बुझ्नाले गाह्रो पार्यो। अनि ’इ’ ग्रेडसम्म पनि पास अझ भनौँ परीक्षामा बसेर नाम मात्र लेखे पनि पास। कसरी गम्भीरताका साथ लिन्छन् त विद्यार्थीले पढाइलाई?
मानिसलाई सिक्न कि इच्छाशक्ति प्रवल चाहिन्छ हैन भने डर र बाध्यता हुनै पर्छ। पहिले ज्ञानको माध्यम किताब गुरु र विद्यालय मात्र थियो। अहिले प्रशस्त छन् अनि ज्ञानका लागि नभई नहुने एकाग्रता भङ्ग गर्ने साधनहरू पनि प्रसस्त छन्। विद्यार्थीहरू पुस्तकबाट विमुख हुनुका पछाडि विद्यार्थीमैत्री पुस्तक नभएर पनि हुन सक्छ। अहिले पुस्तकहरूमा केही सुधार गरिएको छ तर यसको नतिजा आउन समय लाग्छ। मातृभाषा एकाथरी र अध्ययन गर्नुपर्ने भाषा र माध्यम भाषा अर्काथरी भएपछि पनि पढाइप्रति वितृष्णा पैदा हुँदो रहेछ।
पहिले ज्ञान प्राप्त गर्न सामाजिकीरकण हुनै पर्दथ्यो। जसबाट सद्भाव र संस्कार दुबैको विकास हुन्थ्यो। अहिले एउटा कुनामा बसेर इन्टरनेट चहार्दा भइहाल्छ। जहाँबाट संस्कार खासै सिकेको पाइनँ मैले। इन्टरनेटमा सबै संस्कारी नै हुन्छन् भन्ने नहुँदो रहेछ र त्यहाँ प्रायः स्वघोषित गुरु हुँदा रहेछन्।
अब विद्यालयतर्फ जाऔँ। सरकारले निजामति कर्मचारी र शिक्षकलाई प्रदान गरेको सेवासुविधाको विभेदले पनि शिक्षक शिक्षिकामा नैराश्यता पलाएको हुन सक्छ। जुन कुरा बेलाबेला सामाजिक सञ्जालमा पोखिने गर्छन्। मन खुसी नरहेसम्म ज्ञान प्रदान र प्राप्ति दुवै प्रभावहीन हुन्छन्। अनि संस्थागत विद्यालका अधिकांश सञ्चालकले त झन शिक्षकलाई जुन दर्जा प्रदान गर्छन् नि, त्यो भन्दा बढी हैसियत शारीरिक श्रम गर्न खाडी मुलुक गएका मजदुरले पाउँछन्। यिनीहरू पनि बौध्दिक श्रमिक हुन् भन्ने भावना पटक्कै पाइन्न तिनमा। अनि कसरी प्रभावकारी शिक्षण हुन्छ र?
सामुदायिक विद्यालयहरूमा क्षमतावान् भन्दा अरुनै कुनै उद्देश्यले नियुक्ति दिनु, संस्थागत विद्यालयमा सामान्य परीक्षाबिना र विषय नै नमिल्ने शिक्षक, अझ भनौँ जो सस्तोमा काम गर्छ उसैलाई नियुक्ति दिनु शिक्षाको गुणस्तरमा कमी आएको नदेखिएको तर वास्तविक कारण हुन्। अर्को कुरा कतिपय सामुदायिक विद्यालयमा परीक्षा हुने तर उत्तरपुस्तिका जाँच नै नहुने हुन्छ भने संस्थागत विद्यालयमा केवल परीक्षा केन्द्रित पढाइ हुन्छ र फि तिरेपछि पास होइन्छ भन्ने धारणा पनि छ।
बाह्र महिनाको कोर्ष छ-सात महिनामा सक्नुपर्ने बाध्यकारी नियम छ कतिपय संस्थागत विद्यालयमा। प्रयोगात्मक शिक्षा यदाकदा मात्र भेटिन्छ। नामको लागि वा देखाउन मात्र ल्याव राख्ने गरेका उदाहरणहरू विद्यार्थी नै बताउँछन्।
लोकसेवाको परीक्षा तयारी गर्न प्रतिस्पर्धीले घुँडा धस्नुपर्छ टुप्पी कस्नुपर्छ। विद्यालयको परीक्षा भनेपछि विद्यार्थीले भन्दा शिक्षकले बढी तयारी गर्नुपर्छ। परीक्षा फितलो पारिदिने, अधिकांशको उत्कृष्ट अंक आइहाल्छ, विद्यालयको पनि गुणस्तर यसैमा मापन हुन्छ र अभिभावक पनि मख्ख विद्यार्थी पनि दङ्ग।
डिग्री पढेर पनि दुईचार जोर जुत्ता फाटुन्जेल जागिर खोज्दा सामान्य जीविका चल्ने जागिर नपाएर पासपोर्ट बोकेर विदेशिनै पर्छ भने किन मिहिनेतले पढ्नु? व्यवसायमुखी शिक्षा त छैन सबैको पहुँचमा। अझ संस्थागत तथा नीजि क्षेत्रमा कतिपय सरकारी क्षेत्रमै पनि पहुँच, भनसुन, राजनैतिक आस्था र घुसकै भरमा सजिलै जागिर पाउने भएपछि किन मिहिनेत गरेर पढ्नु किन सभ्य संस्कार सिकिरहनु?
अनौठो लाग्ला, देशको अस्थिर प्रणालीले पनि शिक्षामा असर गरिरहेको छ। सरकारको नियमानुसार सञ्चालन भएका केही बाहेक बाँकी संस्थागत विद्यालयले त्यति लामो लकडाउनमा शिक्षक कर्मचारीको हालखबरसम्म सोधेनन्, तलबको कुरा के गर्नु।
न्यून तलबमा काम गरिरहेका शिक्षकका अनेकौँ समस्या हुन्छन्। मस्तिस्कभरि तनाव बोकेर जति नै राम्रो गर्छु भने पनि सकिन्न। त्यमाथि पनि आत्मसम्मान नै नरहने गरी गरिने सामाजिक व्यवहारले झन जोस मरेर आउँछ।
त्यस्तो अवस्थामा शिक्षकहरू विद्यार्थीमैत्री बन्न सक्दैनन्। जसको असर विद्यार्थीमा पर्छ। कहिलेकाहीँ शिक्षक बढी नै मैत्री बनिदिन्छन्। यसले गर्दा पनि उनीहरू पढाइलाई लापरवाही गरिदिन्छन्।
हिजोआज यसो नियाल्दा विद्यालयीय वातावरण र सामाजिक वातावरण दोस्रो विश्व जस्तै बनेको छ। समाज एक हिसाबले चलिरहेको छ। समाजले फड्को मार्न खोजिरहेको छ। अधिकांश विद्यालय भने पुरानै ढाँचामा छन्। समाजअनुकुल र समाजसापेक्ष तर समाजसुधारक शिक्षा, पाठ्यक्रम र पाठ्यपुस्तक र विद्यालयीय वातावरण हुन आवश्यक छ।
अबको शिक्षा अङ्कमा होइन व्यवहार र क्षमतामा नापिनु पर्दछ। विद्यार्थीको रुची एकातिर छ अभिभावक र विद्यालय भने किताबी साध्य घोकाउन र परीक्षामा ‘ए प्लस’ को अंकगणितमा लाग्ने हो भने समाजमा उक्त व्यक्ति भक्षक भएर पक्कै आउँछ किनकि यस्तो शिक्षा प्रणालीले उसमा नकरात्मकता र प्रतिशोधको भावना विकास हुन्छ। बालबालिकाले शिक्षा आफ्ना लागि लिने हो नकि परिवार, समाज, विद्यालय वा अरू कसैका लागि। उसको आफ्नो पनि जीवन छ। ऊ कुनै निर्जीव वस्तु होइन जसलाई अरुले चाहेजस्तो मात्र बनाउन सकिन्छ।
हाम्रो परीक्षा प्रणालीलाई पनि सुधार गर्नुपर्छ। फरक प्रतिभा भएकालाई एकै प्रकृतिको परीक्षा प्रणालीबाट जाँचिनु उचित हुन्न। माछा, चरा, चितुवालाई एउटै प्रणालीबाट उनीहरूको रफ्तार नाप्न सकिन्न।
विद्यार्थी बिग्रिनुमा विद्यालयमा हुने अनावश्यक राजनैतिक प्रभाव पनि हो। अझै पनि जातिवादी, वर्णवादी राजनीति चल्छ, नदेखिने पारामा। विद्यालयमा शिक्षकको भेषमा राजनैतिक कार्यकर्ताको भर्तिले विद्यालय ध्वस्त पारेको छ। विद्यालमा कम पढाउने वा नबुझाई पढाउने अनि कोचिङ सेन्टर र ट्युसन सेन्टरमा आइज त्यहाँ राम्रो पढाइ हुन्छ भन्ने शिक्षकले त विद्यार्थीले आफूलाई नगन्दा आफैलाई ‘ममः’ भने हुन्छ।
यसमा विद्यालयको मात्र दोष छैन। विद्यार्थी चापभन्दा विद्यालय र शिक्षक कम हुनु र सम्बन्धित निकायबाट स्वच्छ निगरानी र नियमन नगरिनु प्रमुख कारण हुन्।
सकरात्मक पाटाहरू टन्नै छन्। अरु कुनै दिन गरौँला। नेपालको शिक्षा नेपाल सुहाउँदो हुनुपर्छ। विश्वका समृद्ध मुलुकहरूले आफ्नो देश र उद्देश्यअनुरुपका शिक्षा प्रदान गर्दछन्। हामी भने विश्वव्यापीकरणको नाममा अर्कैतिर टेस्ट गरिएको प्रणालीलाई जबरजस्ती लादिरहेका छौँ। ‘भिक्षा दिनेको इच्छा’ ले हाम्रो मौलिकता सखाप पार्छ। यसले विद्यालय, विद्यार्थी र समग्र समाज नै ध्वस्त पार्छ।
अरुसँग तुलना गर्ने प्रवृत्तीते हामीलाई समस्यामा पारिरहेको छ। हामी अरु वा अरुजस्तो भइरहनै पर्दैन। हामी आफैँमा हामीजस्तै छौँ, हामी बनौँ। यसले गरेन उसले गरेन, यो भएन र त्यो भएन भन्नु भन्दा आफूले सक्ने जति गुणस्तरीय र संस्कारयुस्त शिक्षामा योगदान गरौँ। बुझ्नै पर्ने कुरो के छ भने शिक्षा अंकमा मात्र मापन गर्नु मूर्खता तो किताबी किरो बन्नु मात्र पढाइ ठान्नु मूर्खता हो। जीवन शास्त्र र अंकगणितले मात्र चल्दैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।