‘खिसी गर्नेहरू अहिले आमाबाट पाठ सिक्नुपर्छ भन्छन्’

|

काठमाडौं : केटाकेटी उमेरमा नै उनलाई पढ्न औधी मन लाग्थ्यो‚ धेरै पढ्ने चाहन्थिन्। अक्षर चिन्ने र पढ्ने रहर थियो। उनी पढ्न स्कुल जान खोज्थिन् तर गाउँलेले उल्याउँदै भन्थे, ‘छोरी मान्छे पढ्यो भने पोइल जान्छ, छोरीले पढेर के काम!’ 

गाउँलेका यस्ता वचन सुनेपछि उनी पढ्न छाडिदिइन्‚ स्कुल गइनन्। अनि पढ्ने उमेरमा भारी बोक्दै, मेलापात गर्दै, लेकबेँसी गर्दै, चुह्लाचौकामै बालापनको समय बित्यो रत्नकुमारी सुनुवारको। त्यसैले आफ्ना लागि कालो अक्षर भैँसी बराबर भएको बताइन् उनले। 

विसं २००१ साल मंसिर १ गते रामेछापमा जन्मिएकी उनको विवाह २०२० साल २० वर्षकै उमेरमा भयो। त्यसपछि २०३६ सालमा उनी गाउँबाट राजधानी काठमाडौं पसिन्।

काठमाडौंको कोटेश्वरस्थित अहिले रहेको भाटभटेनी सुपरमार्केट पछाडि उनको परिवारले घर किनेर नै बस्यो। पतिसहित उनले आफ्ना ३ छोरा र १ छोरी पढाए‚ हुर्काए र बिहेवारी गराएर पारिवारिक जिम्मेवारी पूरा गरिन्।

त्यसपछि मात्र बल्ल उनले फुर्सद पाइन् बालकैदेखि दबिएर रहेको पढ्ने लेख्ने आफ्नाे उत्कट चाहना पूरा गर्न। त्यसकै लागि उनी २०५७ सालमा कक्षा १ मा भर्ना भइन्। 

उनै ७९ वर्ष पूरा गरेर ८० वर्षमा पाइला टेकेकी रत्नकुमारीले हिजो (मंगलबार) देखि कक्षा–१२ को परीक्षा दिइरहेकी छन्। कोटेश्वर बहुमुखी क्याम्पसमा उनले परीक्षा दिँदै गरेको तस्वीर सामाजिक सञ्जालमा छ्यापछ्याप्ति भएपछि भाइरल भएकी छिन् यतिखेर उनी।

८० वर्षको उमेरमा पढेर उनले ज्ञानका लागि‚ अध्ययनका लागि चाहना भए उमेरले छेक्दैन भन्ने प्रमाणित मात्र गरेकी छैनन्‚ एउटा गतिलो उदाहरण बनेकी छन्। उनले बुधबार थाहाखबरसँग हाँस्दै भनिन्, ‘३ छोरा १ छोरीलाई हुर्काएँ, पढाएँ, बिहेदान गर्ने पर्‍याे, त्यसपछि पो बल्ल फुर्सद भयो नि मलाइ पढ्न।’

यो अवस्थासम्म आइपुग्न उनका अनेकन् संघर्ष छन्। उनले धेरै समस्या झेलेकी छन्। उनका अनुसार थापाथलीमा ६ महिना प्रौढ शिक्षाको कक्षा लिइन्।

त्यसपछि २०५७ सालमा कोटेश्वरमा कक्षा-१ मा भर्ना भएर नै पढिन्। त्यहाँ उनले ६ वर्ष अर्थात् कक्षा ६ सम्म पढिन्। त्यसपछि तीनकुने महिला विद्यालयमा पढिन्। त्यहीँबाट ३ वर्षअघि अर्थात् कोरोनाको समयमा साविक एसएसलसी (एसइई) उत्तीर्ण गरिन्।

त्यहाँबाट फेरि अध्ययनलाई निरन्तरता दिँदै कोटेश्वर बहुमुखी क्याम्पसमै कक्षा ११ मा मानविकी संकायमा भर्ना भइन्। कक्षा-११ को परीक्षा दिइसकिन्।

अहिले कक्षा-१२ को वार्षिक परीक्षामा पनि २ वटा विषयको जाँच दिइसकेकी छन्। रत्नकुमारीलाई नाति पर्ने छिमेकी लोकेन्द्र शाहीले परीक्षामा साथ दिएका छन्। कक्षा १० मा अध्ययनरत शाहीले उत्तरपुस्तिकामा उत्तर लेखिदिन्छन्।

‘म आँखा देख्निनँ, बिरामी पनि छु। त्यसैले म प्रश्नको उत्तर जे भन्छु नातिले लेखिदिन्छन्,’ रत्नकुमारीले भनिन्।

उत्तर लेखिदिने शाहीले अहिलेसम्मको परीक्षा राम्रो भएको सुनाए। ‘उहाँलाई मैले प्रश्न भन्छु अनि उहाँले उत्तर भन्नु हुन्छ, जे भन्नुहुन्छ त्यही लेखिदिन्छु। २ वटा परीक्षा सकिइसकेको छ, राम्नै भएको छ। राम्रो अनुभव भएको छ,’ उनले भने। 

कोही पढाइ नछाडुन् भनेर उनले पढिन् 

रत्नकुमारीले यो तहसम्म पढ्नुको पनि कारण छ। उनी अरू महिला तथा पुरूषहरूलाई एउटा सन्देश दिन चाहन्छिन्। त्यो सन्देश हो– बीचमा कसैले पनि पढाइ नछाडुन्।

आफू सानो हुँदाको ताकाको स्थितिलाई सम्झिँदै उनी भन्छिन्, ‘पहिला महिला तथा पुरूषहरूले कक्षा ७/८ पढेर धेरैले छाडे। कोही विदेश गए, कोही अहिले नेपालमै छन्, अहिले उनीहरू पछुताइरहेका छन्। त्यसैले अब कसैले बीचमै पढाइ नछाडुन्, मलाई देखेर पनि पढ्न उत्साहित हुन्, पढेर ठूलो मान्छे होऊन् भनेर म पढिरहेँ।’

पहिला खिसी गर्नेहरू अहिले वाहवाही गर्छन्

रत्नकुमारी बुढ्यौलीमा विद्यालय जाँदा कतिपयले खिसी गरेका थिए। ‘सुरूमा पढ्दा बुढीमाउ लखरलखर हिँड्ने?, पढेर के गर्छ्यौ? बरू घाम तापेर बस्नु भन्थे,’ उनले ती अरूले खिसी गरेको दिन सम्झिइन्, ‘तर मैले जे भने नि भन, म भोलि नै मर्ने भए पनि एसइई दिएर मात्रै मर्छु भनेर जवाफ दिन्थेँ, अनि विद्यालय हिँड्थेँ।’

                                                                   रत्नकुमारी र परीक्षामा सहयाेग दिइरहेका लोकेन्द्र शाही

उनै खिसी गर्नेहरू अहिले रत्नकुमारीबाट अरूले पाठ सिक्नुपर्ने भन्न थालेको बताउँछिन् उनी।

‘अहिले जिस्काउँदैनन्, अरू नपढ्ने केटी, पढाइ छाडेकाहरूले हजुरआमाले पढ्नु भयो, हामीले पढेनौँ भन्छन्। तपाईंबाट अरूले पाठ सिक्नुपर्छ भन्छन्, त्यसवेला खुसी लाग्छ, पढ्नलाई उमेरले छेक्दैन रहेनछ, दिमाग लाउन सके उमेरले छेक्दैन, रोक्दैन,’ मुस्कुराउँदै उनले भनिन्।

अहिले यो उमेरमा पढ्दा उनका परिवारसँगै शिक्षक,शिक्षिका अनि कक्षाका अरू विद्यार्थीहरूले खुसी मान्ने गरेको उनले बताइन्।

‘कक्षामा म पढ्दा अरू नातिनातिनी उमेरकाहरू रमाइलो मान्छन्,’ उनले भनिन, ‘सर/म्यामहरूले पनि मज्जाले पढाउँछन्, लेखाउँछन्। मलाई झनै पढ्ने प्रेरणा मिल्छ।’

स्नातकसम्म निःशुल्क पढाउने कलेजको घोषणा

१२ कक्षाको परीक्षा चलिरहेको छ‚ सकिएको छैन। उनी अहिले बिहान परीक्षा केन्द्रमा परीक्षा दिन ट्याक्सीमा आउँछिन्। ट्याक्सीमै फर्किन्छिन्।

उनको पढ्ने चाहना र लगावलाई देखेर कोटेश्वर बहुमुखी क्याम्पसले बुधबार रत्नकुमारीकै अगाडि स्नातक (ब्याचलर)सम्म निःशुल्क पढाउने घोषणा गरिसकेको छ।

तर आँखाले साथ नदिने भएकाले यसपछि पढ्न नसक्ने भन्दै कक्षा १२ पछि अध्ययनलाई विराम दिने सोचमा छिन उनी।

उनले भनिन्, ‘परीक्षा दिइसकेपछि म पढेर खाउँला भन्ने छैन, बिरामी छु, आँखाको मोतिबिन्दु छ, अपरेसन गर्न मिल्दैन भन्छन् डाक्टरले, आँखा देखे त १५/१६ पढ्ने विचार र रहर थियो। तर सक्दिनँ‚ दिमागले भ्याउँदैन, अब यतिमै सन्तोक मान्ने होला।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.