काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्।
आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८० /०८१ को नीति तथा कार्यक्रममाथि बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले समर्थन गर्न अयोग्य रहेको नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम फिर्ता नलिए छक्का हानेर रिङ आउट गर्ने बताए। उनले सत्तारूढ दल नेपाली कांग्रेससहित सबै दलहरूलाई नीति तथा कार्यक्रमको विपक्षमा उभिन आह्वान गरे।
‘कसैले यसको पक्षमा टेबल ठटाउन कसरी सकिन्छ? यसलाई कसैले पनि समर्थन नगरौँ। पहिलो कुरा सम्माननीय प्रधानमन्त्रीज्यूले फिर्ता लिनुस्। फिर्ता नलिए छक्का हानेर पठाइदिनुपर्छ। रिङ आउट गर्नुपर्छ,’ उनले भने।
यस्तै, अध्यक्ष ओलीले नेपाली कांग्रेस पाँच-सातवटा मन्त्रीमा नीति तथा कार्यक्रमको पक्षमा उभिन नहुने बताए। ‘यो कार्यक्रमबाट देश अगाडि जान्छ? देशप्रति गर्ने प्रतिबद्धता यही हो? पाँच सातवटा मन्त्री भए पुग्यो नेपाली कांग्रेसलाई? देशप्रतिको उत्तरदायित्व छैन्?,’ उनले प्रश्न गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।