|

काठमाडौँ : नेपालको दुई दिने औपचारिक भ्रमण सकेर फर्किएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आर्थिक सम्बन्ध र द्धिपक्षीय सहयोगका बारेमा नेपाल भ्रमण फलदायी रहेको बताएका छन्। 

उनले नेपालको इतिहासका विषयमा समेत जान्ने अवसर मिलेको र उक्त अवसर प्रदान गरेकामा नेपालका राष्ट्राध्यक्ष, प्रधानमन्त्री र नेपाली जनतालाई धन्यवाद दिएका छन्।

उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हात मिलाउँदै गरेको तस्वीर राखेर उक्त धारणा सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन्।

उनले भनेका छन्, 'मित्र राष्ट्रको मेरो पहिलो भ्रमणमा आतिथ्यताको लागि नेपाल, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल तथा जनतालाई धन्यवाद, जसले गर्दा मलाई यसको पुरानो इतिहासका बारेमा केही जान्ने अवसर मिल्यो। आर्थिक सम्बन्ध र द्विपक्षीय सहयोगलाई वाञ्छितस्तरमा पुर्‍याउने विभिन्न साझेदारीका साथै तिनीहरूलाई सुदृढ गर्ने विषयमा छलफल भयो।'

नेपाल भ्रमणका लागि उनी हिजो मंगलबार आएका थिए भने आज फर्किए। मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उनको उपस्थितिमा ती सम्झौता र समझदारीमा हस्ताक्षर भएको हो।

सो अवसरमा नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.