|

काठमाडौं : प्रतिनिधिसभा बैठक शनिबार अपराह्न ४ बजे बस्दैछ।

यो बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची छ। 

यो कार्यसूची शुक्रबार नै राखिएको थियो। तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेका कारण प्रधानमन्त्रीले सदनमा जवाफ दिन पाएनन्।

सरकारको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले  पशुपतिको जलहरीको सन्दर्भमा आफ्ना संसदीय दलका नेता केपी ओलीमाथि गम्भीर आरोप लगाएको भन्दै एमालेले त्यसको जवाफ माग्दै संसद अवरुद्ध पारेको हो।

एमालेका सांसदको अवरोधपछि २० मिनेटका लागि बैठक स्थगित गरेर छलफल गरिएको थियो। सहमति नजुटेपछि दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका थिए। विभिन्न चरणको सर्वदलीय बैठकमा पनि निष्कर्ष ननिस्किएपछि बैठक साँझ ६ बजेका लागि बोलाइएको थियो। तर सहमति हुन नसकेपछि बैठक शनिबार अपराह्न ४ बजे बस्नेगरी बोलाइएको हो।

एमाले संसदीय दलका  प्रमुख सचेतक पदम गिरीले पशुपतिनाथको जलहरीबारे उठेको प्रश्नमा सरकारले सदनलाई चित्तबुझ्दो जवाफ नदिए शनिबारको बैठक पनि चल्न नदिने बताए। जलहरी प्रकरणमा भएको अनियमितताबारे सरकारले चालेको कदमबारे पनि संसदलाई जानकारी दिनुपर्ने उनको भनाइ छ। सहमतिका लागि अहिले  दलहरूबीच छलफल भइरहेको गिरीले जानकारी दिए।

सहमति भएर बैठक अघि बढेमा नीति तथा कार्यक्रममाथि बोल्न बाँकी सांसदले आफ्नो धारणा राख्नेछन् । त्यसपछि छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीले  जवाफ दिनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.