|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन। दाहालको दिल्ली दौडाहाको दोस्रो दिन आज छलफल र सम्झौताहरुको मुख्य दिन हो।

दाहाल बिहान राजघाटमा पुगेर महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरेपछि प्रधानमन्त्रीले ११ बजेर ५ मिनेटमा हैदरावाद हाउसको नीलगिरि कक्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने तालिका छ। दुई प्रधानमन्त्रीबीच आधा घण्टा वन टु वन कुराकानी हुनेछ। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलसहित दुईपक्षीय छलफल हुनेछ।

त्यसपछि दुवै प्रधानमन्त्रीले केही आयोजनाको संयुक्त उद्घाटन गर्नेछन्। भारतसँग दीर्घकालीन ऊर्जा व्यापार, बंगलादेशसँगको विद्युत् व्यापारमा प्रसारण लाइनको अनुमति र नेपालले पाउनुपर्ने हवाइ रुटका विषयमा समझदारीहरु हुनेछन्।

त्यस्तै केनेक्टिभिटी र कृषि सहयोगका परियोजनाहरुमा पनि छलफल हुनेछ। विद्युत् क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न दीर्घकालीन सम्झौताहरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। संयुक्त पत्रकार सम्मेलन सकिएपछि हैदरावाद हाउसमै नेपाली प्रतिनिधि मण्डलको सम्मानमा भारतीय पक्षले दिवाभोज आयोजना गर्नेछ।

प्रधानमन्त्री दाहालले दिउँसो ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनगढ र साढे ४ बजे राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यसूची छ।  साँझ साढे ५ बजे नेपाल र भारतका उद्योगी व्यवसायीले होटेलमा आयोजना गर्ने संयुक्त कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन्।

तेस्रो दिन अर्थात् शुक्रबार बिहान ८ बजे विमानमार्फत प्रधानमन्त्री दाहाल भारतको मध्यप्रदेशको ठूलो सहर इन्दोर जानेछन्। दिउँसो त्यहाँ फोहोर व्यवस्थापन प्लान्टको निरीक्षण गर्ने कार्यक्रम छ।

शुक्रबार प्रधानमन्त्री दाहालको इन्दोरमै बास बस्नेछन्।  त्यहाँ उनीसँग मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्नेछन्। मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्।

भ्रमणको अन्तिम दिन शनिबार (जेठ २० गते) प्रधानमन्त्री दाहालले विशेष आर्थिक क्षेत्रको अवलोकन भ्रमण गरी दिउँसो १ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आउनेछन्।

त्यहाँ एक घण्टा बिताएर नेपाल एयरलाइन्सको नियमित उडानबाट ४ बजेर २० मिनेटमा स्वदेश फर्कनेछन्।  पहिलो विदेश भ्रमणका क्रममा बुधबार दिउँसो नेपाल एयरलाइन्सको विमानबाट जम्बो टोलीसहित भारत गएका छन्।

भ्रमणको पहिलो दिन प्रधानमन्त्री दाहालसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभल र विदेशसचिव विनयमोहन क्वात्राले भेट गरेका छन्। डोभलसँगको कुराकानीपछि प्रधानमन्त्री दाहाल नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी बने। त्यहाँ प्रधानमन्त्री दाहालले भारतीय प्रवासी नेपालीहरुलाई सम्बोधन गरे ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.