|

चन्द्रौटा : कपिलवस्तुको चन्द्रौटामा खानेपानीको अभाव भएको छ। शिवराज नगरपालिका वडा नं. ५ मा खानेपानी वितरण गरिरहेको चन्द्रौटा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले विगत केही दिनयता धारामा पानी नपठाउँदा उपभोक्ता मारमा परेका छन्।

लामो समयदेखि खडेरीका कारण जमिनमुनि पानीको सतह घटेपछि पानी वितरण गर्न नसक्दा पानीको चरम अभाव भएको छ।

बोरिङले पानी ट्याङ्कीमा पानी थोरै पठाउँदा ट्याङ्की भरिन लामो समय लाग्ने र नियमित विद्युत् आपूर्ति नहुँदा समस्या भएको चन्द्रौटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारायण भाट क्षेत्रीले बताए।

‘आज बिहान मात्रै चन्द्रौटा बजार क्षेत्रमा थोरै भए पनि पानी छोडेका थियौँ। अपुग भएपछि साँझदेखि ट्याङ्करबाट पानी वितरण गरिरहेका छौँ’‚ क्षेत्रीले भने।

केही दिनदेखि खानेपानीको समस्या रहेको स्थानीय माधवराज घिमिरेले बताए। ‘चापाकल सुकेका छन्‚ धारामा पानी नआउँदा समस्या भयो’‚ घिमिरेले भने। शनिवारदेखि चन्द्रौटा खानेपानीले ट्याङ्करबाट पानी वितरण गर्दा केही सहज भएको छ।

घिमिरेका अनुसार कुन कुन ठाउँमा कति वेला ट्याङ्करबाट पानी पाइन्छ तालिका सार्वजनिक गर्नुपर्ने बताए। पानीको सतह घटेका कारण तल्लो सतहबाट पानी निकाल्ने प्रयास पनि भइरहेको  खानेपानी समितिका अध्यक्ष क्षेत्रीले बताए।

सङ्कलन भएर फिल्टर भएको पानी ट्याङ्करको माध्यमबाट वितरण सुरु गरिएको र यसले केही हदसम्म भए पनि खानेपानीको समस्या समाधान गर्ने  क्षेत्रीले बताए।

कपिलवस्तुका अन्य ठाउँमा पनि खानेपानीको अभाव देखिएको छ। विगत दुई सातादेखि खानेपानीको चरम अभाव भएको हो। समयमा वर्षा नहुँदा जिल्लाको वाणगंगा,बुद्धभूमि शिवराजमा चापाकल सुक्नुका साथै पानीको हाहाकार हुन थालेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.