|

चन्द्रौटा : कपिलवस्तुको विजयनगर पालिका वडा नं. ६ मा स्तरोन्नति भइरहेको बाटो स्थानीयले भत्काएका छन्। पुरानो बाटोलाई गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० मा स्तरोन्नति गर्ने योजना स्वरूप सोही बाटोमा मिस्कट बिछ्याएर स्तरोन्नति भएको सडक स्थानीय बासिन्दाले भत्काएका हुन्।

गाउँपालिकाको पहुँच मार्ग आरटिओ र हुलाकी सडकसँग जोडिने सहायक मार्गको रूपमा विकास गरिँदै गरेको सडक वडा नं. ६ को थान खजहनी गाउँमा स्थानीय बासिन्दा गान्ही यादव, पुन्ने यादव, अर्जुन यादव र नन्कु कोरीले आफ्नो जग्गामा सडक बनेको भन्दै शनिवार भत्काएका हुन्।

सङ्घीय संरचना हुनु भन्दा अघिबाट नै प्रयोग भइरहेको सोही बाटोमा जिविस गाविसले समेत लगानी गरी विस्तार गरेकाले पुरानो सडकलाई स्तरोन्नति गर्न गाउँपालिकाले यस आर्थिक वर्षमा ४ लाख लगानी गरी वडा नं. ६ को थानखजहनी सडक खण्डमा स्तर उन्नति गरेको वडाध्यक्ष प्रेम कलवारले बताए।

लामो समयसम्म विवादका कारण विकास गर्न नसकिएको र पछि सहमति गरेर गत वर्ष सडक विस्तार गरिएको वडाध्यक्ष कलवारको भनाइ छ।

यता लुम्बिनी प्रदेशका पूर्वमन्त्री जानकीप्रसाद यादवले स्थानीय बासिन्दालाई आवश्यक नभएको सडक गाउँपालिकाले केही व्यक्तिको फाइदाका लागि मात्रै बनाएको र गरिब व्यक्तिहरूको जग्गामा बाटो बनाएकाले स्थानीयले बाटो भत्काएको बताएका छन्। 

गाउँपालिकासँग विवादका विषयमा छलफल गरौँ भन्दा पालिकाले संवाद नगरेको र जग्गाधनीलाई मुआब्जा नदिएको अनि विनासहमति सडक बनाएकाले स्थानीयले सडक भत्काएको स्पष्ट पारे। आफूले स्थानीय बासिन्दालाई सडक भत्काउन रोकेको र अन्याय भएको भए न्यायका लागि पहल गर्ने समेत आश्वासन दिएको पूर्व मन्त्री यादवले बताए।

स्थानीयले भत्काएको बाटो वडा नं. १ को थरौली जुटपानी हुँदै खडैचा आउने सडक नै सोही बाटो भएको विजय नगर गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए।

आरटिओ र हुलाकी मार्ग सँगै जोडिने सोही सडक हुँदै बदैदर गाउँ र खजहनी गाउँ पुगिने, आधारभूत स्वास्थ्य चौकी, सामुदायिक भवन खजहनी, जनजागृति विद्यालय जाने सडक पनि सो सडक नै भएकाले गाउँपालिकाले सडकको स्तर उन्नतिका लागि बजेट छुट्याएर काम गरेको बताए।

यसरी सीमित फाइदाका लागि पूरै सडक भत्काउनु र जनताको करबाट हुने विकासमा अवरोध गर्नु सही नभएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.