|

काठमाडौँ : आईसीसी एकदिवसीय विश्वकप छनोटको आज भएको निर्णायक खेलमा​ नेदरल्यान्ड्सँग सात विकेटले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको छ। आज भएको निर्णायक खेलमा नेदरल्याण्ड्ससँगको हारसँगै नेपाल विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको हो।

जितका लागि नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले २७.१ ओभरमा ३ विकेटको क्षतिमा भेटायो। नेदरल्याण्ड्सको जितमा म्याक्स ओ डाउटले सर्वाधिक ९० रनको योगदान गरे।

बास डे लीडेले अविजित ४१ रनको योगदान गर्दा बिक्रमाजित सिंले ३० रन जोडे। बलिङतर्फ सन्दीप लामिछानेले दुई तथा गुल्सन झाले एक विकेट लिए।

त्यसअघि जिम्मबाबेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल ४४.३ ओभरमा अलआउट हुँदै १६७ रनमा समेटिएपछि नेपाल हारतर्फ लम्किएको हो।

नेपालका लागि कप्तान रोहित पौड्यालले सर्वाधिक ३३ रनको योगदान गर्दा कुशल भूर्तेल र सन्दीप लामिछाने समान २७/२७ रन जोडे। आजको जितसँगै समूह ‘ए’बाट जिम्बाबे, वेष्टइण्डिज र नेदरल्याण्ड्स सुपर सिक्समा पुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.