|

काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेस प्रधानमन्त्री र गृहमन्त्रीसँग चिढिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना नेता बालकृष्ण खाँणलाई जेल हालेपछि आफ्नै सरकारसँग चिढिएको कांग्रेस दोस्रोपटक एक सांसदलाई पक्राउ गरेसँगै झनै रूष्ट छ। 

आइतबार बालुवाटारमा बसेको बैठकमा सभापति शेरबहादुर देउवा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिए। उनले आफ्ना नेताहरूलाई छानी छानी पक्राउ गरेको भन्दै श्रेष्ठमाथि कड्किएका थिए। देउवाले भेपमा लुकाएर ल्याएको ९ किलो सुन प्रकरणमा नाम जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि आवश्यक अनुसन्धान समेत नगरेको आरोप लगाए। 

नक्कली शैक्षिक प्रमाणपत्रको विषयमा आफ्ना सांसद सुनिल शर्मालाई पक्राउ गरिएकोमा कांग्रेस नेताहरूले आपत्ति जनाउँदै आइरहेका छन्। साउन २६ गते बसेको संसदीय दलको बैठकमा अधिकांश सांसदहरूले सरकारले आफ्ना नेतालाई पक्राउ गरेर प्रतिशोध साँध्ने काम गरेको आरोप लगाएका थिए। पार्टीभित्रैबाट दबाब आएपछि देउवाले मन्त्री श्रेष्ठसँग रोष प्रकट गरेका हुन्। 

‘कसैको बयानका आधारमा बालकृष्णलाई ल्याएर थुन्ने, छानबिन गर्ने ? तर यतिको छापामा आउँदा, सीआईबीको रिपोर्ट, सबैतिर हुँदा पनि महरालाई ल्याएर छानबिन किन नगर्ने ? मैले पार्टीमा जवाफ दिनु पर्दैन ?,’ देउवाले आक्रोश पोखे। 

साउन २ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको ६० किलो सुन प्रकरणमा महराको कनेक्सन चिनियाँ नागरिकसँग देखिएको सिआईबीको अनुसन्धानले समेत पुष्टि गरिसकेको छ। तर, सत्ताको आडमा महरामाथि कुनै छानबिन नै गरिएन। 

यही विषयलाई लिएर एमालेले एक महिना सदन चल्न दिएन। उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै एमालेले साउन १० गतेदेखि सदन ठप्प पारेको हो। तर, मंगलबार संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच आयोग बनाउने सहमति भएसँगै सदन संचालन भएको छ। एमालेले सुन प्रकरणमा गृह, अर्थमन्त्रीसहित माअ‍ोवादी केन्द्रका उच्च पदस्थ नेताको संलग्नता रहेको आरोप लगाउँदै आइरहेको छ। 

कांग्रेसका ८ मन्त्रीको भेला

कांग्रेसका ८ जना मन्त्री मंगलबार एकै ठाउँमा भेला भए। उपसभापति एवं उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने ८ जना मन्त्रीलाई बोलाएर छलफल गरेका हुन्। 

भेलामा खड्कासहित, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेत, महिला तथा बालबालिका मन्त्री सुरेन्द्रराज आचार्य, परराष्ट्र मन्त्री नारायणप्रकाश साउद, उद्योग मन्त्री रमेश रिजाल, शहरी विकास मन्त्री सीता गुरूङ र  युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु सहभागी थिए। अर्थमन्त्री डा. प्रकाशशरण महत क्यानडा भ्रमणमा छन्।

सरकारमा गएको साढे चार महिना हुँदा कांग्रेसका मन्त्रीको प्रस्तुतीकरणलाई लिएर प्रश्न उठिरहेका बेला खड्काले बोलाएर छलफल गरेको बैठकमा सहभागी युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले जानकारी दिए। कांग्रेस चैत १७ गते ९ मन्त्रालय लिएर सरकारमा सहभागी भएको थियो। 

मन्त्री लिम्बुले कांग्रेसका मन्त्रीहरूले सम्हालेका मन्त्रालयका कामकारबाही प्रभावकारी बनाएर सरकार र पार्टीलाई सफल बनाउने विषयमा छलफल भएको जानकारी दिए। 

‘अन्तरमन्त्रालय समन्वय, पार्टीका मन्त्रीको कार्यसम्पादन, पार्टीका साथीहरूका कुरा सुन्ने र त्यसलाई कार्यान्वयन गर्ने र मन्त्रालयहरूमा देखिएका कन्फ्युजन हटाउने विषयमा छलफल भयो,’ उनले थाहाखबरसँग भने। 

साथै मन्त्री लिम्बुले पार्टी र संगठनको सुदृढीकरणका विषयमा समेत छलफल भएको बताए। उनले उपसभापतिको नेतृत्वमा सरकारमा रहेकाले पार्टीगत हितका विषयमा छलफल भएको बताए। 

‘मन्त्री पदभन्दा बाहिर हाम्रो पार्टी छ। सरकारमा भएका बेला पार्टीको हित, संगठन सुदृढीकरणमा विशेष भूमिका निर्वाह गर्ने सहमति भएको छ,’ उनी भन्छन्। 

उद्योग मन्त्री रिजालले गठबन्धनलाई पाँच वर्ष कसरी टिकाउने भन्ने विषयमा गहन छलफल भएको बताए। 

‘यो गठबन्धनलाई पाँच वर्ष कसरी टिकाउने भन्ने विषयमा छलफल भयो। गठबन्धनविरूद्ध अभिव्यक्तिहरू आइरहेकाले त्यसलाई रोकेर सबैले समान धारणा बनाउने र सोही बमोजिमका अभिव्यक्तिहरू दिने सहमति भयो,’ उनले थाहाखबरसँग भने। 

गठनबन्धन पाँच वर्ष टिक्ने विषयमा शंका छ र? भन्ने प्रश्नमा मन्त्री रिजालले थपे, ‘कतिपय साथीहरूले सार्वजनिक रूपमा गठबन्धनविरोधी अभिव्यक्ति दिँदा समस्या उत्पन्न भइरहेको छ। त्यसकारण हामीले गठबन्धन विरोध गतिविधि नगर्ने विषयमा छलफल गरेका हौं।’ 

कतिपयले मन्त्रीहरूको भेलालाई गठबन्धनविरूद्धको घेराबन्दीका रूपमा चित्रण गरेका छन्। सिलसिलेवार रूपमा आफ्ना नेता पक्राउ पर्नु र सभापति देउवाको पछिल्लो असन्तुष्टिपछि भएको मन्त्रीहरूको भेलालाई गठबन्धनभित्रको खटपटको आशंका गरिएको छ। बैठकमा सहभागी मन्त्री डिगबहादुर लिम्बुले आफूहरूको भेला गठबन्धनको विरुद्धमा नरहेको  बताए। 

‘यो गठबन्धनको एगेन्स्टमा कांग्रेस छैन। अभिव्यक्ति स्वतन्त्रताका कारण केही साथीहरूले गठबन्धनको विपक्षमा बोल्न सक्छन्। ती सबै विषयमा समीक्षा भयो। यो गठबन्धन पाँच वर्ष ढुक्कले जान्छ,’ उनले भने। 

नेता पक्राउ ‘सुनियोजित’ 

अर्थमन्त्रीलाई छलेर राखिएको बैठकको उद्देश्यमाथि नै प्रश्न उठिरहेको छ। मन्त्री महत क्यानडामा रहेका बेला आठ मन्त्रीको भेला भएको हो। अर्थमन्त्रीविरूद्ध सांसद सुनिल शर्माले अभिव्यक्ति  दिएकै कारण पक्राउ परेपछि महतले पक्राउ गर्न निर्देशन दिएको आरोप लाग्दै आइरहेको छ। तर, सोही मन्त्री नभएको मौकामा छुट्टै भेला हुनुलाई कतिपयले छुट्टै अर्थमा लिएका छन्।

यस विषयमा हामीले मन्त्री रिजाललाई नै सोध्यौं। अर्थमन्त्री नभएको मौकामा किन भेला राख्नुभयो? उनले भने, ‘यो संयोग मात्रै हो। हामीले कुनै व्यक्तिविरूद्धमा भेला गरेका होइनौं। उहाँ आएपछि पनि पुनः बस्नेछौं।’

साथै बैठकमा गृहमन्त्री श्रेष्ठले आफूहरूलाई नै जानकारी नदिई कांग्रेस नेताहरूलाई पक्राउ गर्ने र धरपकड गरेको विषयमा समेत छलफल भएको थियो। 

‘पछिल्लो समय कांग्रेस नेताहरूमाथि गृहमन्त्रीज्यूले सिलसिलेवार रूपमा पक्राउ गराइरहनु भएको छ। हामी सरकारमा भएर पनि जानकारी हुँदैन। यसले कार्यकर्ता तहमा असन्तुष्टि छ। सुन तस्करी प्रकरणमा माओवादी नेताहरूको निरन्तर नाम आउँदा पनि छानबिन नहुनुले आशंका जन्माएको छ। यसमा हामी गम्भीर हुनुपर्ने धारणा अन्य मन्त्रीज्यूले पनि राख्नुभयो,’ बैठकमा सहभागी एक मन्त्रीले थाहाखबरसँग भने। 

स्रोतका अनुसार व्यक्तिगत रिसिइबी साँधेर सामान्य सोधपुछका लागि नेताहरूलाई पक्राउ गर्नु सोचनीय विषय भएको कतिपय मन्त्रीहरूले धारणा राखेका थिए। 

‘गृहमन्त्रीज्यूले ढंग नपुगेर हो कि हाम्रा साथीहरूले पनि बढी बोलेर हो। दुवै विषयमा छलफल भयो। व्यक्तिगत रिसइबी साँधेर सरकारको सहयात्री दलका नेतालाई पक्राउ गर्न पाइँदैन भन्नेमा हामी एकमत छौं,’ ती मन्त्रीले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.