|

काठमाडौं : नेपाली कांग्रेसले पुस ६ गते नै संसदीय दलको नेता पाइसकेको छ। महामन्त्री गगन थापालाई हराउँदै सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन भए। कांग्रेसमा संसदीय दलको उम्मेदवार बन्न सभापति बाहेक अन्य सांसदहरूले पनि पाउने व्यवस्था छ। 

कांग्रेस विधानमा संघीय संसद्‌मा रहेका पार्टीका सांसदहरू कांग्रेस संसदीय दलका सदस्य रहने र उनीहरूले आफूमध्येबाट दलको नेता चयन गर्ने व्यवस्था छ।

शेखर कोइराला समूहका थापाले आफूभन्दा दुई पुस्ता अगाडिका नेता देउवासँग चुनाव लडेका थिए। थापाले २५ मत पाउँदा सभापति देउवाले ६४ मत पाए। पराजित भए पनि महामन्त्री थापाले हार स्वीकार गरिसकेका छैनन्।

सार्वजनिक कार्यक्रमबाटै उनी संसदीय दलको नेता परिवर्तन गर्नेतर्फ लाग्ने दाबी गर्छन्। म त असार ६ गते काठमाडौंमा भएको एक कार्यक्रममा उनले भनेका थिए, ‘क्लियर छु हेर्नुस्, विधिभित्रै रहेर यो कुरा गरिरहेको छु। म नेपाली कांग्रेसको सांसद हुँ। यो बदल्नुपर्छ भनेरै संसदीय दलको नेता हुने कोसिस गरेको हो। मैले सबै साथीहरूको मन चित्त त बुझाउन सकिनँ तर म थाकेको छैन, हारेको छैन।’ 

यद्यपि महामन्त्री थापाले आफ्नो पक्षमा बहुमत सांसद नआउने चाल यसअघि नै पाइसकेको हुनुपर्छ। संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए तर आफ्नै पक्षका पूरै सांसदको मत नपाएका थापाले आफू संसदीय दलको नेताका लागि परिपक्क भइनसकेको चाल पाए। 

शेखर कोइरालालाई हापेर दलको नेताका उठेका थापा आफू निर्वाचित हुनेमा आशावादी भए पनि ढुक्क थिनन्। उनले संसदीय दलको नेता बन्नका लागि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्न अस्वीकार गरेका थिए। कांग्रेस चैत १७ र वैशाख २१ गते ९ मन्त्रीसहित सरकारमा सहभागी भएको थियो।

देउवासँग चिढियो इतर पक्ष 
संस्थापन इतर पक्ष पार्टीको नेतृत्व परिवर्तनको पक्षमा छ। शेरबहादुर देउवाले पार्टी सञ्चालनमा सक्रियता नदेखाएको, निर्वाचनमा गठबन्धन गरेर जनमत घटाएको, संगठनलाई शिथिल बनाएको, पार्टीका विभागहरूलाई पूर्णता नदिएको,संसदीय दलको सचिवालयलाई पूर्णता नदिएको लगायतका कारण देखाउँदै संस्थापन इतर पक्ष नेतृत्व परिवर्तनको पक्षमा छ।

केन्द्रीय कार्यसमिति, संसदीय दल लगायतमा बहुमतमा रहेका सभापति देउवा तत्कालै नेतृत्व छोड्ने पक्षमा छैनन्। यद्यपि शेखर समूह संसदीय दलको नेता परिवर्तन गर्ने कसरतमा जुटेको छ। पछिल्लो केही दिनयता शेखर पक्षका सांसदहरू देउवाको विकल्पमा शेखरलाई हेरिरहेका छन्। 

आफ्नो पक्षमा माहोल नबन्ने चाल पाएका महामन्त्री थापाले पनि संसदीय दलको नेतामा शेखरलाई साथ दिने भएका छन्। उनले कोइरालालाई अगाडि सारेर भए पनि देउवालाई हटाउने रणनीति लिइरहेको स्रोतले जानकारी दियो। 

‘अहिलेको परिस्थितिमा गगन दाइको पक्षमा माहोल बन्ने अवस्था छैन। पुस ६ गते नै दलको नेतामा पराजित भएपछि उहाँ शेखर दाइलाई अगाडि सार्ने मनस्थितिमा पुग्नुभएको छ। सार्वजनिक अभिव्यक्तिलाई नियाल्दा पनि उहाँ (गगन थापा) शेरबहादुर दाइको विकल्पमा हुनुहुन्छ भन्ने प्रष्ट छ’, संस्थापन इतर समूहका एक नेताले थाहाखबरसँग भने। 

स्रोतका अनुसार कोइराला पक्षले दशैं अगाडिसम्म बहुमत जुटाएर संसदीय दलमा देउवाको विकल्प खोज्ने तयारी गरेको छ। यसका लागि नेताहरूले भेटघाट तीव्र बनाएका छन्। 

‘अहिलेको गठबन्धनलाई यथावत् राख्दै शेरबहादुर दाइको विकल्प खोज्ने तयारी भइरहेको छ। यसका लागि शीर्ष नेताहरूले बहुमत जुटाउने र त्यसैअनुसारको माहोल बनाउँदै हुनुहुन्छ। सम्भवतः दशैं अगाडिसम्म केही होला’, कोइराला निकट ती नेताले थाहाखबरसँग भने। 

नेता गुरु घिमिरे नेतृत्वले काम गर्न नसकेपछि अविश्वासको प्रस्ताव ल्याएर हटाउने व्यवस्था पार्टी विधानले नै गरेको बताउँछन्। उनले शेखर, धनराज गुरुङ र गगनबीच देउवाको विकल्पका विषयमा पूर्वसहमति भएको बताए। 

‘नेतृत्वले काम गर्न नसकेपछि विकल्प ल्याएर हटाउनुपर्छ। यसका लागि नेताहरूबीच भेला हुने, छलफल गर्ने परम्परा सामान्य नै हो। संसदीय दलको नेतामा शेखर, धनराज र गगनबीच सहमति बनिसकेको छ। पुस ६ मा उहाँ (शेखर दाइ)ले चुनाव जित्ने अवस्था थिएन। त्यसकारण गगनलाई उठाउने र दोस्रोपटक अवसर आउँदा शेखर दाइ उठ्ने सहमति भइसकेको छ’, उनले भने।  

संसदीय दलका नेता, लगनबिनाको बाजा ! 

नेपाली कांग्रेस तेस्रो दलले नेतृत्व गरेको सरकारमा छ। प्रतिनिधिसभामा ८८ सिटसहित पहिलो स्थानमा रहेको कांग्रेसले ३२ सिट रहेको नेकपा माअ‍ोवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन जनाएको छ। कांग्रेसका नेताहरूले यो गठबन्धन पाँच वर्ष जाने बताउँदै आइरहेका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि अहिलेको गठबन्धन पाँच वर्ष जाने र सरकारको नेतृत्व आलोपालो गर्ने बताउँदै आइरहेका छन्। कांग्रेस प्रचारप्रसार विभागका प्रमुख मीनबहादुर विश्वकर्मा संसदीय दलको नेता परिवर्तन गर्ने हल्ला सत्य नभएको दाबी गर्छन्। 

‘यी मनगढन्ते हल्ला हुन्। कसैले आफू हाइलाइटमा आउन यस्तो भ्रम फैलाए। संसदीय दलको नेता परिवर्तनको कुरामा सत्यता छैन’, संक्षिप्त प्रतिक्रिया दिँदै उनले थाहाखबरसँग भने। 

राजनीतिक विश्लेषक विश्लेषक पुरञ्जन आचार्य कांग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको दाबी गर्छन्। सभापति देउवा तेस्रो कार्यकालका लागि नेतृत्वमा आए पार्टी विभाजन हुने बताउँदै उनले शेखर कोइरालासहितका भिजन भएका नेताहरू कांग्रेसको नेतृत्वमा आउनुपर्ने बताए। 

‘शेरबहादुरजी तेस्रोपटक सभापति भएर पार्टीलाई कन्ट्रिब्युसन गर्न सक्नुहुन्छ। किनकि त्यसपछि उक्त पार्टीमा युवा र ऊर्जावानहरूको आकर्षण नै रहँदैन। त्यसपछि छुट्टै खालको राजनीतिक धार बन्छ। शेरबहादुरलाई प्रधानमन्त्री हुन नदिन कांग्रेसका युवाहरूले रोक्नुपर्छ’, उनले भने। 

शेखर समूहका नेता दीपक खड्का सभापति देउवाले तत्कालै नेतृत्व छोड्ने सम्भावना नरहेको बताउँछन्। 

‘शेरबहादुर दाइले सजिलै नेतृत्व छोड्नु होला भन्ने लाग्दैन। अहिले उहाँसँग बहुमत सदस्य हुनुहुन्छ। शेखर दाइले पनि आँट गरेर संसदीय दलको नेतामा अगाडि बढ्नुहुन्छ भन्ने लाग्दैन’, उनले थाहाखबर भने। 

प्रचण्डसँग असन्तुष्ट इतर पक्ष
नेपाली कांग्रेसको इतर पक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा छ। महामन्त्री गगन थापा प्रतिनिधिसभाबाट प्रधानमन्त्रीलाई पटकपटक चेतावनी दिन्छन्। सरकारले प्रभावकारी काम नगर्न नसकेको बताउँदै सरकारको अपजसको भारी कांग्रेसले नबोक्ने उनको भनाइ छ। गत भदौ १२ गते संसद् बैठकमार्फत आफूहरूलाई हेपेको मन नपर्ने भन्दै नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० को विरोध गरे। 

उनले भने, ‘प्रधानमन्त्रीलाई म यहीबाट भन्न चाहन्छु- मसँग बहुमत छ। यहाँ आएका सबै सांसद थपडी बजाउन आएका होइनन्। हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन। यो विधेयकका यति धेरै प्रश्न छन्। यो विधेयक मात्रै होइन‚ यो संसद्लाई जुन ढंगले व्यवहार गरिएको छ। जे गरे पनि हुन्छ भन्ने ठानिएको छ। प्रधानमन्त्रीज्यू अब नयाँ ढंगले कुराको सामना गर्न तयार हुनुहोला।’

नेता कोइराला पनि प्रधानमन्त्री प्रचण्डसँग सन्तुष्ट छैनन्। जातीय पहिचानको राज्य बनाइदिने जस्ता अराजक अभिव्यक्ति प्रधानमन्त्री प्रचण्डले दिन नहुने बताउँदै उनले आपत्ति जनाए। 

मंगलबार पार्टीनिकट कर्मचारीहरूको संगठन नेपाल निजामती कर्मचारी युनियनले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भने, ‘देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, हामी जातीय पहिचानको राज्य बनाइदिन्छौँ भनेर भन्न मिल्दैन। यसरी देश चल्दैन। यो कुरा गम्भीर रूपले पार्टीले पनि लिनुपर्छ, कर्मचारीहरूले पनि लिनुपर्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.