|

धनगढी : नेकपा (एकीकृत समाजवादी) पार्टीको बैठकमा खैलाबैला भएको पाइएको छ। धनगढीको निर्माण व्यवसायी संघको हलमा भएको समाजवादी पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय बैठकमा खैलाबैला मच्चिएको हो।

भदौ १४ गते समाजवादी मोर्चाको सन्देश सभाबारे छलफल गर्न डाकिएको बैठकमा नेताहरूबीच आपसमै विवाद भएपछि खैलाबैला भएको बताइएको छ। स्रोतका अनुसार पार्टीका जिल्ला अध्यक्षहरूले सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री तथा समाजवादीका केन्द्रीय सदस्य नरेश शाहीको विषयमा प्रश्न उठाएपछि विवाद भएको हो।

प्रदेश सरकारले ल्याएको बजेटको विषयलाई लिएर प्रश्न उठाउँदा हलमा विवाद पैदा भएको बताइन्छ। स्रोतले जानकारी दिएअनुसार अर्थमन्त्री शाहीको गृहजिल्ला बाजुरासहित अन्य जिल्लाका पार्टी अध्यक्ष र प्रदेश सदस्यहरूले बजेटमा आफ्नो असन्तुष्टि पोखेका थिए। मन्त्री शाहीमाथि उनकै गृहजिल्लाका अध्यक्ष पुर रावत खनिदा उनी बैठकमा सबैको तारो बनेको स्रोतको दाबी छ।

बजेटका सवालमा समाजवादीकै नेताहरूले सिफारिस गरेका योजना नहालेको र पार्टीका योजनाभन्दा पनि कमिशनका योजना हालेको अर्थमन्त्रीमाथि आरोप लगाएका थिए।

यस्तै डोटी समाजवादीका अध्यक्ष दीर्घ बोगटीले बैठकमै पनि पार्टी र कार्यकर्ताको भावनाविपरीत मन्त्रीले गतिविधि गरेको बताएका थिए।

मन्त्री शाहीले नेताहरूका प्रश्नको जवाफ दिने वेला हलसमेत खाली बनेको बताइन्छ। मन्त्री शाहीले भने विवाद नभएको दाबी गरे। उनले आफूलाई बजेट परेन भनेर सामान्य गुनासो गरेको तर विवादै भने नभएको बताए।

पार्टीमा प्रश्न र गुनासा स्वाभाविक रहेको उनको भनाइ छ। बैठकमा पार्टीका स्थायी कमिटी सदस्यहरू, केन्द्रीय सदस्यसहित प्रदेश इन्चार्ज, अध्यक्ष र जिल्लाका अध्यक्षहरू समेत सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.