|

धनगढी : प्रहरी दिवस २०८० को अवसरमा प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशी पुरस्कृत भएका छन्।

प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरको हातबाट डीएसपी जोशी पुरस्कृत भएका हुन्। वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रमुख रहँदा जोशीले उत्कृष्ट सेवा गरेबापत पदक पाएको बताइएको छ।यसअघि असोज १० मा जोशी कारबाहीमा परेका थिए। कारबाहीको एक महिना नपुग्दै उनलाई पदक दिइएको हो।

गृह मन्त्रालयले वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत रहँदा जोशीलाई हेडक्वार्टर तानेको थियो। 

तर जोशीलाई दिइएको पदकमा प्रश्न खडा भएको छ। राजनीतिक पहुँचका भरमा उनलाई पदक दिइएको चर्चा प्रहरी वृत्तभित्रै चलेको छ।

कास्कीको पोखरास्थित मणिपाल अस्पताल प्रकरणमा कमाण्ड सम्हाल्न नसकेको भन्दै डीएसपी जोशीलाई त्यसबेला प्रहरी प्रधान कार्यालयमा तानिएको थियो।
डीएसपी जोशीलाई त्यहाँबाट तानेर उनको स्थानमा अर्का डिएसपी राजेन्द्र श्रेष्ठलाई पठाइएको थियो।

मणिपालमा लमजुङकी ५७ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि तनाव भएको थियो। सोही क्रममा मृतकका आफन्त र स्थानीयका साथै प्रहरीबाटै डाक्टरमाथि आक्रामण भएको थियो।

मृतकका आफन्त र चिकित्सकबीच तनावपूर्ण अवस्था भइरहेको बेलामा सुरक्षामा खटिएका एक प्रहरीले ‘डाक्टरलाई साप चुटेर आएँ’ भन्दै आक्रोशित भीडलाई उक्साएका थिए। यही प्रकरणलाई लिएर डीएसपी जोशीको सरुवा भएको थियो।

त्यसअघि कैलाली बस्दासमेत उनी विवादित बनेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.