|

काठमाडौं : केही वर्षअघिसम्म तराई क्षेत्रमा मात्रै देखिने डेंगु संक्रमण हाल पहाडी तथा उच्च हिमाली क्षेत्रमा समेत ठूलो समस्या बन्दैछ।

मुख्यगरी एडिस एजेप्टाई र एडिस एल्वोपेक्टस लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण पहिलो पटक नेपालमा एक विदेशीमा सन् २००४ मा चितवनमा देखिएको थियो। त्यसपछि सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए। त्यसयता डेंगु रैथाने रोगजस्तै बनेको छ र हरेक वर्ष बर्खाको समयमा जनस्वास्थ्यको ठूलो समस्याको रूपमा देखा पर्न थालेको छ।

अझै डरलाग्दो विषय के छ भने एक /दुई वर्षअघिसम्म हरेक बर्खामा शून्य संक्रमण रहने डोल्पा, मुस्ताङ जस्ता उच्च हिमाली क्षेत्रमा समेत डेंगु देखिन थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो विवरण हेर्ने हो भने एकदुई वर्ष अघिसम्म हरेक वर्षातमा शून्य डेंगु संक्रमण रहने डोल्पा, मुस्ताङजस्ता उच्च हिमाली क्षेत्रमा यो वर्ष १७ जनासम्म संक्रमित पाइएको छ। डेंगु मात्रै होइन पछिल्ला वर्षमा धेरै तापक्रम हुने तराई तथा अन्य केही पहाडी जिल्लामा मात्रै देखिने गरेको औलो तथा कालाजारजस्ता संक्रमण उच्च पहाडी तथा हिमाली जिल्लामा  देखिन थालेको छ। यसले गर्दा तराई क्षेत्रमा मात्रै कालाजार डेंगु तथा मलेरिया जस्ता रोगको न्यूनीकरणका लागि गरिने कार्यक्रम पहाडी र हिमाली क्षेत्रमा समेत विस्तार गर्नुपरेको छ।

सुरुमा आयतित रूपमा नेपालमा भित्रिएको डेंगु संक्रमण हाल देशभरका सबै जिल्लामा फैलिएर रैथाले रोग जस्तै बनेको छ। पछिल्ला वर्षहरूमा वर्षातको समयमा नेपालमा डेंगु संक्रमण जनस्वास्थ्यको ठूलो समस्याको रूपमा लिने गरिएको छ। अझै डरलाग्दो विषय के छ भने प्राय: सामान्यतया मनसुन बाहिरिएर चिसो शुरु भएपछि डेंगु कम हुँदै जाने गरेको पाइने भए पनि यो वर्ष चिसो बढ्दा समेत झन् बढ्दै गएको ईडीसीडीको विवरणले देखाएको छ।

अघिल्लो वर्षको अवस्था हेर्ने हो भने हरेक वर्ष डेंगु सामान्यतया नेपालमा जेठदेखि भदौसम्म तीव्र गतिमा फैलिएर असोज लागेपछि विस्तारै ओरालो लाग्ने गरेको पाइन्छ। तर हाल यो वर्षमा मनसुन बाहिएर चिसो मौसम शुरु हुँदा सम्म डेंगु संक्रमण कम भएको छैन। ईडीसीडीको पछिल्लो विवरण हेर्ने हो भने पनि गत पुस ( जनवरी एक) देखि हाल सम्म ४२ हजार ४११ जना संक्रमित थपिसकेका छन भने २० जनाको मृत्यु भइसकेको छ।

सबैभन्दा धेरै संक्रमण असोज महिनामा नै ( सेप्टेम्बर अक्टोबर) महिनामानै देखिएको छ। ईडीसीडीको विवरणमा सेप्टेम्बरमा ११हजार ५८० र अक्टोबरमा ९ हजार १४२जना संक्रमित भेटिएका छन्। सेप्टेम्बर अक्टोबर महिना भनेको डेंगु संक्रमण कम हुँदै जाने मौसमको रूपमा लिने गरिन्छ तर अहिले भने यही महिनामा संक्रमित बढेको देखिन्छ।

नेपालमा डेंगु रोग सन् २००४ मा पहिलो पटक एक व्यक्तिलाई देखिएको र सन् २००६ बाट प्रकोपको रूप लिँदै गएको छ। गत वर्ष ५४ हजारभन्दा बढी मानिस संक्रमित थिए। बढ्ने क्रम जारी छ। यसको प्रमुख कारण पछिल्लो समय बढ्दै गएको जलवायु परिवर्तन नै रहेको विज्ञ बताउँछन्।

सामान्यतया डेंगु सार्ने लामखुट्टेलाई २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ। तर पछिल्लो समय १२ देखि १३ डिग्रीमा पनि डेंगु सार्ने लामखुट्टै सहजै बाँच्न सक्नेगरी वातावरण अनुकूल बन्ने गरेकाले डेंगु संक्रमण बाह्रै महिनाजस्तो देखिन थालेको छ। यसको प्रमुख कारण भनेको नै जलवायु परिवर्तनले गर्दा हिमाली पहाडी र हिमाली क्षेत्रमा पनि बढ्दै गएको तापक्रमनै प्रमुख रहेको विज्ञ बताउँछन्।

बढ्दो तापक्रमले तराईमा भन्दा पहाडी र उच्च हिमालीमा क्षेत्रमा कीटजन्य रोगले डरलाग्दो रुप लिन थाल्यो

ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार दुईतीन वर्षयता नेपालमा  तराईका जिल्लाभन्दा उच्च हिमाली जिल्ला र पहाडी जिल्लाहरुमा डेंगु मलेरिया जस्ता कीटजन्य संक्रमण धेरै देखिने प्रमुख कारण जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम नै प्रमुख हो। उनका अनुसार तराईका जिल्लामा प्रकोपकै रूपमा देखिएको डेंगु संक्रमण गर्मी बढेपछि घटेको पाइएको थियो । किनकि, तापक्रम ३५ डिग्री सेल्सियस नाघेपछि डेंगु सार्ने लामखुट्टे बाँच्न सक्दैन। तर यसको विपरीत पहाडी र हिमाली क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दो छ। किनकि हाल १२ देखि १३ डिग्री सेल्सियसमा पनि सहजै बाँच्न सक्नेगरी डेंगु सार्ने लामखुट्टेले आफूलाई वातावरण अनुकुल बनाउँदै लगेको छ।

‘डेंगु गराउने लामखुट्टे नेपालगञ्ज तथा एकदमै धेरै तापक्रम हुने तराईका जिल्लाहरुमा भन्दा पहाडी र हिमाली जिल्लामा धेरै देखिन थालेको छ पछिल्लो बर्षमा त तराईका जिल्लामा डेंगु ‘केस’ एकदमै कम रिपोर्ट भएको छ। यसको प्रमूख कारण भनेको पहाडी र हिमाली जिल्लामा पनि तापक्रम बढ्नु र तराईका जिल्लामा एकमदमै धेरै तापक्रमण बढ्नु हो यही अवस्था आगामी दिनमा हुँदै गयो भने हिमाली जिल्लामा डेंगु जस्ता कीटजन्य रोगले डरलाग्दो अवस्था सिर्जना गर्न सक्छ’ ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. दाहालले भने।

यस्तै नेपालको सन्द्रभमा पूर्वी तराई र पहाडी जिल्लामा भन्दा पश्चिम तराई,पहाडी र हिमाली जिल्लामा डेंगु जस्ता कीटजन्य रोगहरुको संक्रमणदर पछिल्ला बर्षहरुमा बढ्दै गएको समेत डा. दाहालले बताए। डा दाहालले भने ‘हाम्रोमा पूर्वी तराई र पहाडी जिल्लाहरुमा भन्दा पश्चिम तराई,पहाडी र हिमाली जिल्लाहरुमा डेंगु जस्ता कीटजन्य रोगको संक्रमणदर पछिल्ला बर्षहरुमा बढ्दै गएको अझै विशेषगरी नेपालमा कालिकोट, जुम्ला, मुगु, दार्चुला, बझाङ र बैतडी जिल्लामा डेंगुको केश धेरै नै रिपोर्ट हुन थालेको छ यस्तै कोशी प्रदेशको पनि ताप्लेजुङ र सोलुखुम्बु जस्ता हिमाली जिल्लामा डेंगु रिपोर्ट हुन थालेको छ, दुईतीन वर्षअघि सम्म यी जिल्लाहरुमा प्राय: शून्य संक्रमण हुन्थ्यो।’

जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम वृद्धिको कारण पछिल्ला वर्षहरूमा डेंगु, मलेरिया, चिकनगुनिया, जापानिज इन्सेफ्लाइटिस जस्ता कीटजन्य रोग महामारीकै रूपमा देखिन थालेको बताउँछन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा.मेघनाथ धिमाल। उनका अनुसार पछिल्ला वर्षमा तराईमा पाइने लामखुट्टेले पहाडी र हिमाली वातावरण अनुकुल हुँदै जाँदा त्यहाँ डेंगु जस्ता संक्रमण तीव्ररूपमा बढ्दै गएको वातावरणीय स्वास्थ्यमा विद्यावारिधि समेत गरेका परिषदका प्रमूख अनुसन्धान अधिकृत डा धिमालको भनाइ छ। ‘हाम्रोमा वारवरण यसरी परिवर्तन भएको छ कि पहाड र हिमाली क्षेत्रमा पनि तापक्रमण बढ्दो छ भने अर्को तर्फ जाडो मौसममा पनि तापक्रम धेरै घटेको पाइँदैन,  जसले गर्दा डेंगु जस्ता संक्रमण १२ महिना बाच्न सक्ने मौसम बन्न थालेको छ। अहिले चिसो शुरु हुँदा सम्म पनि डेंगु संक्रमण कम भएको देखिँदैन  जलवायु परिवर्तनले हाम्रो जस्तो देशलाई कस्तो असर गरिरहेको छ भन्ने यो एक उदाहरण हो’, डा. धिमालले भने।

नेपालमा डेंगु संक्रमण बढ्दै गएपछि यसअघि स्वास्थ्य अनुसन्धान परिषदले डा. धिमालकै नेतृत्वमा डेंगु तथा कीटजन्य संक्रमणको किन नेपालमा बढिरहेको छ भनेर एक अध्ययन गरेको थियो, जसमा समुद्री सतहबाट ८५ मिटर उचाइको वीरगञ्जदेखि दुई हजार १०० मिटर उचाइको धुन्चेसम्म ८३४ वटा घरबाट जमेका पानीको नमूना संकलन गरेको थियो।  यो अध्ययनले पहाडी र हिमाली क्षेत्र पनि कीटजन्य रोगका लागि उपयुक्त वातावरण बन्दै गएको हुँदा डेंगुजस्ता संक्रमण नेपालमा फैलिएको निस्कर्ष निकालेको थियो।

अध्ययनका क्रममा समुद्री सतहबाट ८५ मिटर उचाइको वीरगञ्जदेखि दुई हजार १०० मिटर उचाइको धुन्चेसम्म ८३४ वटा घरबाट जमेका पानीको नमूना संकलन गरेको थियो। नमुनामा डेंगु फैलाउने लामखुट्टेका जीवाणु प्राय: सबै ठाउँमा फेला परेको थियो। डा. धिमालले भने ‘ हामीले गरेको अध्यनले पनि वातारणमा आएको तीव्र परिवर्तनले कीटजन्य रोगका लागि उपयुक्त वातावरण बन्दै जाँदा डेंगु, मलेरिया, चिकनगुनिया र जापानिज इन्सेफ्लाइटिस जस्ता कीटजन्य रोग तराईमा मात्र नभएर पहाडी र हिमाली क्षेत्रमा तीव्ररूपमा देखिन थालेको छ।’

अर्को डर लाग्दो कुरा भनेको वातारणमा आएको परिवर्तको प्रमुख कारण नेपालले  भन्दा पनि ठूला देशले गरेको गल्तीले गर्दा हाम्रो वातावरणमा परिवर्तन हुँदा डेंगु, मलेरिया, चिकनगुनिया, जापानिज इन्सेफ्लाइटिस जस्ता कीटजन्य संक्रमण जनस्वास्थ्यको ठूलो समस्याको रूपमा देखिन थालेकाले सरोकार निकाय वेलैमा सचेत हुने अवस्था आएको डा. धिमाल बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.