|

रौतहट : गर्मीका कारण अस्पतालमा बिरामीको चाप बढिरहेका बेला रौतहटको वृन्दावन नगरपालिका अन्तरगतका कुनै पनि स्वास्थ्य संस्थामा पर्याप्त औषधि नरहेको चिकित्सकहरु स्वयम् बताउन थालेका छन्। 

सो पालिकाभित्र नौ वटा स्वास्थ्य चौकीहरु छन्। सबै स्वास्थ्य चौकीमा राज्यले तोकेका निःशुल्क औषधिको अभाव भएको हो। स्वास्थ्य संस्थामा सरकारले निःशुल्क दिने भनेका औषधिसमेत पाउन छाडेपछि सर्वसाधारण मेडिकलबाट महँगो शुल्कमा औषधि किनेर खान बाध्य भएका छन्।

वृन्दावन नगरपालिकाले नगरभरिका स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका औषधिहरुसमेत उपलब्ध गराउन नसकेका कारण स्वास्थ्य चौकीहरू सिटामोल र आइरण चक्की वितरण गरेर बस्न बाध्य भएका छन्। 

वृन्दावन नगरपालिका–३ मा रहेको विश्रामपुर स्वास्थ्य चौकीका डाक्टर राजेन्द्रप्रसाद यादवले नगरपालिकाको स्वास्थ्य शाखाले सर्वसाधारणले पाउने निःशुल्क औषधिसमेत नपठाएकाले समस्या भएको बताए। 

विश्रामपुर स्वास्थ्य चौकीमा औषधिको नाममा सिटामोल, आइरण चक्की र क्षयरोगको औषधि मात्र रहेको यादवको भनाइ छ। नगरपालिकाको स्वास्थ्य शाखाले औषधि आज आउँछ भोलि आउँछ भनेको ३ महिना बित्दासमेत औषधि नआएको यादवले गुनासो गरे।

सो पालिकाअन्तरगत सबै स्वास्थ्य चौकीमा औषधि नपाएका कारण आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण निजी मेडिकलबाट महँगो शुल्क तिरेर औषधि खरिद गर्न बाध्य भएका छन्।

नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थाबाट ९१ प्रकारका औषधि निःशुल्क पाउने बताएको भए पनि रौतहटका स्वास्थ्य संस्थामा सामान्य ज्वरो र रुघाखोकीको औषधिसमेत सर्वसाधारणले पाउन छाडेका छन्। 

वृन्दावन नगरपालिकाको वडा नं–१ मा रहेको स्वास्थ्य चौकीमा समेत सिटामोल, आइरन चक्की र क्षयरोगको औषधिबाहेक औषधि नभएको सो स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले बताए।

औषधि अभावका विषयमा वृन्दावन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रासनारायण पटेलसँग बुझ्दा औषधि खरिदको प्रक्रियामा रहेको र अबको तीन÷चार दिनभित्रमा नगरका सबै स्वास्थ्य शाखामा औषधि पुग्ने बताए।

वृन्दावन नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा निःशुल्क औषधि पाउने आशामा उपचार गराउन जाने गरिब तथा विपन्नहरुलाई सकारी स्वास्थ्यकर्मीले आफूहरुकोमा औषधि नभएको भन्दै निजी अस्पताल र मेडिकलमा पठाउने गरेको स्थानीय बासिन्दा दयाराम पटेलले बताए। 

सो पालिकामा लामो समयदेखि औषधिको अभाव हुँदै आए पनि पालिकाले औषधि खरिद गर्नेतर्फ ध्यान नदिएको वृन्दावन–२ का स्थानिय विगु राउतको भनाइ रहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.