|

काठमाडौँ : नकारात्मक प्रभाव देखिएको स्वीकार्दै यतिखेर कोभिडविरुद्धको खोप एस्ट्राजेनेकाले विश्वभरबाट फिर्ता लिन शुरु गरेको छ। 

अक्सफोर्ड युनिभर्सिटीको सहकार्यमा एस्ट्राजेनेका विकास गरेको र यसकै सूत्रबाट भारतको सीरम इन्स्टिच्यूट अफ इन्डियाले कोभिशिल्ड खोप बनाएको थियो। यही सूत्रबाट बनेका कोभिशिल्ड लगायतका खोप विश्वभर लगाउन रोक लगाइएको छ।

यो खोपको नकारात्मक प्रभावको बारेमा सन् २०२१ मै प्रश्न उठेका थिए। यो खोप लगाएपछि रगत जमेको उजुरी परेका थिए।

कोरोनाकालमा १ अर्ब ७५ करोड मात्रा कोभिशिल्ड लगाइएको थियो र डिसेम्बर २०२१ मा सीरम इन्स्टिच्यूट अफ इन्डियाले यो खोप उत्पादन बन्द गरेको थियो।

नेपाल र भारतमा धेरैले एस्ट्राजेनेकाको खोप कोभिशिल्ड लगाएका थिए। नेपालमा कोभिडविरुद्धको खोप अभियान नै कोभिशिल्ड खोपबाट भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार हालसम्म नेपालमा एस्ट्राजेनेकाले बनाएको खोप र त्यही सूत्र प्रयोग गरी भारतमा बनेको कोभिशिल्ड खोप १६ लाख लाख १७ हजारभन्दा बढी मात्रा नेपालमा भित्रिएको छ। कोभिशिल्ड १३ लाखभन्दा बढी नेपालीले लगाइसकेका छन्। व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाकी वरिष्ठ फार्मेसी अधिकृत निशा पराजुलीले भनिन्‚ ‘कोभिडविरुद्धको कोभिशिल्ड नामक खोप १६ लाख १७ हजारभन्दा बढी मात्रा हाम्रोमा आएको छ‚ जसमा सबै खोप लगाइएको छ। अहिले यो खोप हामीसँग बाँकी छैन।’

२०७७ साल माघ पहिलो हप्ता पहिलोपटक नेपालमा कोरोनाविरुद्धको खोप अभियान भारत सरकारले दिएको कोभिशिल्ड खोपबाट शुरु गरिएको थियो।

नेपालमा कोभिड महामारीको समयमा ‘कोभिशिल्ड' स्वास्थ्यकर्मी, सफाइकर्मी र एम्बुलेन्स चालक, पत्रकार लगायत अग्रपंक्तिमा खटिएकालाई लगाइएको थियो। त्यही खोपले अहिले आएर स्वास्थ्यमा प्रतिकूल असर गरेका घटना बाहिरिए।

खोप उत्पादक कम्पनीले विश्वबजारबाट खोप फिर्ता माग्न थालेपछि नेपालमा तत्कालीन समयमा खोप लगाएकाहरूलाई हालसम्म के कस्ता स्वास्थ्य जटिलता देखिएको छ कि भनेर स्वास्थ्य मन्त्रालयले अध्ययन गर्न निर्देशन दिने भएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने‚ ‘हाम्रोमा पनि एस्ट्राजेनेकाको सूत्रमा बनेको कोभिशिल्ड खोप धेरैलाई लगाइएको थियो। तत्कालीन समयमा खोप लगाएलगत्तै धेरैमा ज्वरो आउने‚ टाउको दुख्ने जस्ता लक्षण देखिएको जानकारी त आएको थियो। हाल उक्त खोपका केही दुर्लभ तथा खतरनाक नकारात्मक प्रभाव भएको पुष्टि भए जस्तै हाम्रोमा पनि यस्तै नकारात्मक प्रभाव देखिएको छ कि छैन भनेर अब राष्ट्रिय खोप सल्लाहकार समितिलाई अध्ययन गर्न जिम्मेवारी दिने भएका छौँ। हामीसँग त्यो समयमा यो खोप कुन कुन समूहले लगाउनु भएको थियो भन्ने सबै विवरण छ। त्यसैअनुसार खोप सल्लाहकार समूहले अध्ययन गर्छ र त्यसपछि आएको प्रतिवेदनको आधारमा अघि बढ्छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.