|

विराटनगर : कोशी प्रदेशसभा बैठक आरम्भ हुनुअघि नै  प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले उठेर विरोध व्यक्त गरेका छन्।

कोशी प्रदेश सरकारको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा यसअघि समावेश भएका कार्यक्रम कटौती भएको भन्दै मंगलबार प्रदेशसभा बैठकमा नेकपा (एमाले) र राप्रपाका सांसदले उठेर विरोध जनाएका हुन्।

प्रदेशसभामा सांसदहरूले उठेर विरोध जनाएपछि सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न समय दिएका थिए।

सोही क्रममा एमाले संसदीय दलका उपनेता रामबहादुर मगरले मुख्यमन्त्रीले सांसदमा बजेटप्रतिको प्रतिबद्धता भुलेको बताएका छन्। उनले आफूहरूसँग छलफल भएअनुसार गरिएको सहमतिअनुसार पनि बजेट नआएको उनले बताए।

‘बजेटको रातो किताब आएको छ, यो रातो धेरैपटक लिइसक्यो तर त्यो पासै नभएको रातो चाहिँ रातो होइन रहेछ। त्यसैले अबदेखि त्यो पहिले पास नहुन्जेल सेतो बाँडौँ, पास भइसकेपछि मात्रै रातो बाँडौँ’, उनले भने, ‘त्यो मात्रै कार्यान्वयनमा जाने रहेछ, नभए जनताले के सोच्छन् भने रातो किताबमा आयो भने र अस्ति नै हामीले हिक्मतजी को कार्यकालमा एकखेप बाँडेर तल सबैलाई देखाएर यो–यो काम हुने भयो भनेर ढाँटिसकेका छौँ। अब अर्को रातो किताब आएको छ। यो पनि ढाँटको दोस्रो पुस्तक भयो।’

सरकारले लगभग आधा वर्ष बितेको बजेट व्यस्थापन गर्दा ध्यान दिनुपर्ने बताउँदै उनले प्रतिपक्षका सांसदहरूबाट आएको कार्यक्रमलाई छानीछानी हटाएको आरोप लगाए। उनले भने, ‘सांसदले माग पेश गर्नुभयो तर इमान्दार बन्ने हो कि बेइमान बन्ने भन्ने मूल प्रश्न हो।’

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सहमतिविपरीत बजेट आएको भन्दै आक्रोश व्यक्त गरे।

‘आर्थिक विधेयकमा सहमति भए पनि अस्ति विनियोजित बजेटलाई केही घटाएर शीर्षकलाई कटौती नगर्ने निर्वाचन क्षेत्र र सांसदमार्फत खर्च गरिने रकमलाई व्यवस्थित ढंगले उहाँहरूलाई सोधेर त्यस क्षेत्रमा विनियोजन गरिने भन्ने सहमति बनेको थियो’, उनले भने, ‘बजेट पूर्वाग्रही ढंगले आयो।’

माग गरेको बजेट आधा कटौती भएर बजेट आएको उनले बताए। आफूखुसी ढंगले बजेट विनियोजन गरिएको बताउँदै उनले  राजनीतिक प्रतिशोधको भावना राखेर सरकारको भविष्य के हुने ? प्रश्न गर्दै उनले भने, ‘आफू प्रदेशसभा चाहिँदैन भनेर सडकमा नारा लगाइरहेको मान्छे हो, तपाईंको बजेटले ९० प्रतिशत सांसदहरू असन्तुष्ट हुनुहुन्छ, मलाई त झन् बल पुग्छ।’

उनले प्रदेशमा प्रतिनिधित्व गरिरहेकाले संविधान परिवर्तन नभएसम्म पालना गर्नुपर्ने भएकाले बजेटमाथि भएको कमी कमजोरीलाई औँल्याउने कोसिस गरेको उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.