काठमाडौं : शहरबजारदेखि बाहिरको गाउँ–बस्ती अर्थात् कछाड क्षेत्रलाई काँठ क्षेत्रको रुपमा चिन्ने गरिन्छ। काँठको रहनसहन केही शहरिया जीवनशैलीजस्तो देखिन्छ त केही ग्रामीण जीवनशैलीजस्तो। सामान्य बोलीचालीको भाषामा काँठ भनेको शहर पनि होइन र गाउँ पनि।
काठमाडौं उपत्यकाको कुरो गर्दा यहाँको चक्रपथभन्दा बाहिरको ग्रामिण क्षेत्रलाई काँठ भनिन्छ। यसो हेर्दा शहरिया जनजीवनजस्तो तर ग्रामीण जनजीवनजस्तो पनि देखिने काँठको जनजीवन सदियौंदेखि आफ्नै प्रकारले चल्दै आएको छ। हिजोको परिवेशमा काँठको छुट्टै पहिचान र परिचय थियो। काँठको जनजीवनमा आत्मीयता, आफ्नोपन र आदर्श समाज थियो।
काठमाडौं उपत्यकाको चक्रपथ भित्रको स्थानलाई काँठका मानिसहरू शहर भन्ने गर्दथे। आफ्नो घरगाउँबाट काठमाडौंको चक्रपथभित्र जानुपरेमा काँठका मानिसहरू शहर जाने भन्ने सम्बोधन गर्दथे। काँठका मानिसहरू उच्चशिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सवालमा शहरप्रति निर्भर थिए। काँठका आफ्नै मूल्य, मान्यता र परम्पराका कारण जीवनशैली जीवन्त थियो।
तर अहिले बिस्तारै काँठ क्षेत्र काँठको रुपमा रहन सकिरहेको छैन। यो कायापलट भएको केही समय मात्र भयो। काँठ अब काँठजस्तो रहेन। समयको आरोहअवरोहबाट काँठ अछुतो रहन सकेन। समयका कारण काँठलाई पनि सकारात्मक परिवर्तन र नकारात्मक परिवर्तनमा समाहित हुन बाध्य बनायो। करिब एक दशकको अवधिमा काँठमा ठूलो परिवर्तन आएको छ।
काठँको हरियाली लगभग सकिएको छ। काँठको जग्गा खरिद–बिक्री यसरी बढेको छ कि, जग्गा होइन त्यहाँ कुनै अमूल्य चिजको खरिद–बिक्री भइरहेको छ। आधुनिकताको नाममा जग्गा प्लटिङ गर्दा प्राकृतिक सौन्दर्यको दोहन भएको यत्रतत्र देख्न सकिन्छ। वातावरणीय दृष्टिकोणबाट समेत काँठ प्रदूषित बनेको छ। आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले तयार पारेको फेरिएको काँठ क्षेत्रको परिवर्तित जीवनशैलीबारेका केही तस्वीरहरू।
तपाईंको ईमेल गोप्य राखिनेछ ।