|

काठमाडौँ : विभिन्न ३९ देशका कलाकृति प्रदर्शनीसहित काठमाडौँमा आजदेखि तेस्रो अन्तरराष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तरराष्ट्रिय वाटरकलर फेष्टिवल) शुरु भएको छ। 

बबरमहलस्थित नेपाल कला परिषद्‍मा शुरु महोत्सवको आज युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरे। उक्त समारोहमा बोल्दै उनले  कलाले मुलुकको पहिचान विश्वसामु पुर्‍यउने र पर्यटन विकासमा योगदान गर्ने भएकाले यसको विकास गर्नु अत्यन्त जरुरी रहेको औँल्याए। उनले कला क्षेत्रको विकास र प्रवर्द्धनका लागि आफ्नो क्षेत्रबाट समन्वय र सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए।

सो क्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले निजी क्षेत्रबाट ३९ देशका कलाकार र उनीहरूका कृति समेटेर कला प्रदर्शनीसहित महोत्सव गर्नु आफैँमा चुनौतीपूर्ण र नमूना कार्य भएको बताए।

कार्यक्रममा भारतबाट आएका मास्टर्स आर्टिष्ट एबं अन्तरराष्ट्रिय जलरङ समाजका उपाध्यक्ष अमित कपुरले कला सिर्जनाकै लागि आफू पटकपटक नेपाल आएको र यहाँको सुन्दरताले आफूलाई लोभ्याएको स्मरण गरे।

कर्याक्रममा कला समीक्षक रमेश खनाल, मदन चित्रकार, अन्तरराष्ट्रिय जलरङ समाज नेपालका कोषाध्यक्ष, भीम श्रेष्ठ, महासचिव दिपेन्द्रमान बनेपालीलगायतले कलाको महत्वबारे जानकारी गराएका थिए ।

कार्यक्रममा अग्रज कलाकार मदन चित्रकारलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । यस्तै पत्रकार नारायण ढुंगानालाई १० हजार राशीसहित अन्तरराष्ट्रिय जलरङ पत्रकारिता अवार्डबाट सम्मान गरिएको थियो । 

जलरङका माध्यामबाट कला सिर्जनाको विकासमा पत्रकारितामार्फत पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको कार्यक्रम संयोजक एनबी गुरुङले बताए। सो क्रममा वाटरकलर योङ्ग आर्टिष्ट अवार्डबाट जीवन पौडेल र इन्टरनेशनल आर्ट प्रमोसनल अवार्डबाटचर्चित श्रेष्ठलाई सम्मान गरिएको थियो। 

कार्यक्रममा सहभागी कलाकारहरूको चित्र प्रतिष्पर्धाबाट म्यान्माका कलाकार मयन्ट नईङलाई ३०० डलरसहित स्वर्ण अवार्डबाट पुरस्कृति गरिएको थियो भने १५० डलरसहित भारतका सिलम्ब्रासन के लाई कास्य अवार्ड प्रदान गरिएको थियो। 

यस्तै बंगलादेशका अरिफर रहमान टोप्पु, मेक्सिकोका बेत्रिज ए.एच.अर्टेजा र नेपालका थमन सिंह सुनारलाई उत्कृष्ट अन्तरराष्ट्रिय वाटरकलर अवार्ड प्रदान गरिएको छ । अहिले बबरमहलमा मास्टर र अतिथि कलाकारबाट कला डेमोस्ट्रेसन भइरहेको छ।

कार्यक्रममा झण्डै विदेशीसहित २०० कलाकारहरूको प्रत्यक्ष सहभागिता रहेको छ। जलरङ महोत्सवअन्तरगत काठमाडौँ, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशाला समेत हुने तथा कलाकारहरूलाई नगरकोट लगेर सूर्याेदय र सूर्यस्तको दृष्यावलोकन गराई कला सिर्जना गराइने छ।

धेरै कलाकारले काठमाडौँको सम्पदा क्षेत्रका चित्रहरू जलरङका माध्याबाट सिर्जना गर्ने भएकाले नेपालको पहिचान विश्वसामु पस्किन पाइने र पर्यटन प्रवद्र्धनमा पनि ठूलो सहयोग पुग्ने विश्वास गरिएको आयोजक अन्तरराष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले बताए।

यसअघि समाजले महोत्सवकै रुपमा लुम्बिनी, पोखरा, काठमाडौँलगायत विभन्नि क्षेत्रमा यसैगरी कार्यक्रम गरिसकेएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.