|

विराटनगर : प्रदेशको नामकरणको विवादले यति बेला कोशी प्रदेश अशान्त छ।

फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानसहितको पुनः नामकरणको माग राख्दै पहिचान पक्षधर आन्दोलनरत छन्। राजधानी केन्द्रित आन्दोलन पछिल्लो समय पूर्वी पहाडतर्फ उक्लिएको छ।

नेकपा एमालेको संकल्प यात्रा सम्भावित गर्ने लक्ष्यसहित प्रदेश १ पुनः नामकरण संघर्ष समितिले शनिवार र आइतवार कोशी प्रदेशभर यातायात बन्दको आह्वान गरेका छन् भने यात्राको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउनेदेखि आक्रमणको प्रयाससमेत भएको छ।

त्यसो त कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई समेत पहिचान पक्षधरले झापाको दमकमा एउटा कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा कालो झण्डा देखाएर नारा जुलुससमेत गरेको थिए।

शनिवार बन्दकर्ताले इलामको रोङ गाउँपालिका-४ किटेनीमा पराल बोकेको गाडीमा आगजनीसमेत गरेका छन्। झापाबाट पराल बोकेर आएको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दको समय कुदाएको भन्दै शनिवार साँझ बन्दकर्ताले रोकेर आगजनी गरेका थिए।

त्यसो त पहिचानको आन्दोलन एमाले लक्षित भएको भन्ने गुनासो नआएको पनि होइन। एमाले कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी न्यौपानेले पछिल्लो समय पहिचानको आन्दोलन एमाले लक्षित देखिएको आरोप लगाउँछन्।

‘आन्दोलन एमाले लक्षित देखिन्छ,’ उनले भने, ‘त्यस्तो देखिन्छ, त्यस्तो नहुनुपर्ने हो किन भएको हो?’

पछिल्लो समय पहिचानको आन्दोलनलाई कसरी लिनुभएको छ? भन्ने प्रश्नमा उनले विधिबाट टुंगो लाग्ने र कानुनी संवैधानिक हिसाबले हुने भएकाले जबर्जस्ती केही नहुने बताए।

‘विधि‚ प्रक्रिया‚ कानुन, संविधानअनुसार गर्ने कुरालाई जे निर्णय हुन्छ त्यसैलाई स्विकार्नुपर्छ र जे हुन्छ त्यही रुपमा हुन्छ। त्यसलाई हामीले खुल्ला रुपमा लिन्छौँ कुनै दुर्भावना छैन,’ उनले भने, ‘त्यसलाई शान्तिपूर्ण, संवैधानिक विधिबाट अगाडि बढाउने विषयलाई हामी केही भन्दैनौँ।’

एमाले लक्षित नभएको पहिचान पक्षधरको दावी

यता, प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले आन्दोलन एमाले लक्षित नभएको दावी गरे। पहिचानको आन्दोलन एमाले, काँग्रेस कुनै पनि पार्टीप्रति लक्षित नभएको उनले बताए।

उनले १० महिनादेखि प्रदेशको नाम खारेज गरेर पुनः नामकरण गर्ने मागसहितको आन्दोलन गरिएको र पक्राउ परेकाहरुलाई रिहाइको मागसहितको आन्दोलन रहेको बताए। 

प्रदेशका ८२ प्लस ३ सांसदहरुलाई कुनै पनि औपचारिक कार्यक्रम नगरिदिन आग्रह गरेको भए पनि एमालले कार्यक्रम गरेको हुँदा आन्दोलनको भागीदारीको रुपमा एमाले देखिएको बताए।

‘१९ गते कोशीको मुख्यमन्त्रीमाथि पनि हामीले कारबाही गरेका छौँ, त्यसले गर्दा एमालेप्रति लक्षित भन्ने गलत बुझाई हो,’ उनले भने, ‘तर अहिले एमालेले गरेका औपचारिक कार्यक्रमसँगै काँग्रेसका कार्यक्रममा पनि अवरोध गरेका छौँ।’ वार्ताका लागि मुख्यमन्त्री कार्कीले मौखिक रुपमा कुरा गरेको भए पनि औपचारिक रुपमा वार्तामा नबोलाएको उनको भनाई छ।

अहिलेसम्म आन्दोलनमा  उत्रिएका ६७ जनालाई प्रहरीले गिरफ्तार गरेको उनले जानकारी दिए। बन्धकहरुप्रति प्रशासन कडारुपमा गएकाले पक्राउ परेका आन्दोनकारीलाई बिना शर्त रिहाई नगरे आन्दोलनका कार्यक्रम थप गरेर कडा रुपमा प्रस्तुत हुने चेतावनी उनको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.