|

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयअन्तर्गतको महाराजगंज मेडिकल क्याम्पसको कार्डियो विभाग प्रमुखमा एसोसिएट प्रोफेसर डा. चन्द्रमणि पौडेल नियुक्त भएका छन्।

कलेजले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुरोग विशेषज्ञका रुपमा कार्यरत डा. पौडेललाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो।

क्याम्पसले गत साता विभागीय प्रमुखको जिम्मेवारी दिएसँगै उनले कार्यभारसमेत सम्हालिसकेका छन्। चिकित्साशास्त्रमा विद्यावारिधि गरेर भारतबाट इन्टरभेन्सनल कार्डियोलोजीमा फेलोसिपसमेत हासिल गरिसकेका डा पौडेलसँग करिब २० वर्षको अनुभव छ।

डा पौडेल रोयल कलेज अफ फिजिसियन अफ इडेनबर्ग, सोसाइटी अफ कार्डियोभास्कुलर एन्जियोग्राफी एण्ड इन्टरभेन्सन अमेरिका तथा एशिया प्यासिफिक सोसाइटी अफ कार्डियोलोजीबाट समेत विभूषित भैसकेका छन्।

उनी हृदयघात भएका हजार जनाभन्दा धेरै व्यक्तिलाई कोरोनरी एन्जियोप्लाष्टी गरेर बचाउन सफल डाक्टर हुन्। उनले विभिन्न मुटुरोग विशेषज्ञहरूलाई तालिम समेत दिएका छन्।

स्याङजाको हिमालयन बोर्डिङ स्कुलमा अध्ययन गरेका डा पौडेल एसएलसीमा जिल्लाकै सर्वोत्कृष्ट विद्यार्थी हुन्। त्यसका साथै पोखराको पृथ्वीनारायण क्याम्पसबाट विज्ञान संकाय अध्ययन गरेका डा. पौडेलले प्रवीणता प्रमाणपत्र तहमा पनि सर्वोत्कृष्ट भएका थिए।

नेपालगंज मेडिकल कलेजबाट पूर्ण छात्रवृत्तिमा चिकित्सा शास्त्रमा स्नातक गरेका डा. पौडेलले इन्टर्नल मेडिसिनमा स्नातकोत्तर (एमडी) गरेका छन्। त्यसैगरी उनले कार्डियो विषयमा विद्यावारिधि (डक्टरेट अफ मेडिसिन) डीएम गरेका छन्।

डा. पौडेलले चिकित्सा शास्त्रमा स्नातकोत्तर र विद्यावारिधि महाराजगंज मेडिकल क्यापसबाट नै हासिल गरेका हुन्। उनी सन् २००३ देखि चिकित्सकको रुपमा कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.