|

काठमाडौं : नेपालमा हुने नसर्ने रोगबाट हुने कुल मृत्युको कारणमध्ये ११.११ प्रतिशत क्यान्सर रहेको पाइएको छ। 

आइतबार विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देश्क डा. रुद्रप्रसाद मरासिनीले नसर्ने रोगको कारण हुने मृत्युदरमा  क्यान्सर पहिलो कारणमा रहेको र जसमा  फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने दर झन धेरै रहेको बताए। ‘आजसम्ममा हाम्रोमा नसर्ने रोगबाट हुने मृत्युदरमा क्यान्सर रोग पहिलो नम्बरमा छ’, उनले भने, ‘यो हाम्रो लागि चुनौतीको विषयले हो त्यसैले हामी सबै अबका दिनमा यसको न्यूनीकरणमा लाग्नु पर्ने अवस्था छ।'

अहिले हरेक वर्ष २० हजार नयाँ क्यान्सरका बिरामी थपिने र यसमा  १६ हजार मृत्यु हुने तथ्याङ्क छ। २०२० को तथ्याङ्कअनुसार जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री अनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी रहेको मन्त्रालयले जनाएको छ।

वीर अस्पतालका क्यान्सर रोग उपचार विभागका प्रमुख डा. विवेक आचार्यले पछिल्ला दिनमा क्यान्सर झनै भयावहरूपमा फैलिँदै गएकाले झन् जनचेतना फैलाउनु पर्ने बताए। यस्तै उनले बिरामी बढ्दै जादा यसको उपचार गर्ने विज्ञ चिकित्सकको कमि हुदै गएको हुँदा झन् अफ्ठ्यारो परिस्थिति सिर्जना भएको बताए। डा आचार्यले भने ' एकातिर हाम्रोमा क्यान्सरका बिरामी झन् बढ्दै छन्। अर्कोतर्फ उपचार गर्ने विज्ञ चिकित्सक तथा क्यान्सरकै उपचारमा खटिने रेडियोलोजिष्ट कम हुँदै गएको अवस्था छ। यो हाम्रो लागि चुनौतीको वियष हो। त्यसैले राज्यले यसमा ध्यान दिनु पर्छ।’

यस्तै क्यान्सर रोग विशेषज्ञ समेत रहेका नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले क्यान्सरको रोकथाम र प्रभावकारी उपचारका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गत छुट्टै विभाग गठन गर्नुपर्ने बताए। ' म क्यान्सरको उपचारको क्षेत्रमा २४ वर्षदेखि लागिरहेको छु, अहिले क्यान्सरको केस झन् बढ्दै गएका छन्’, उनले भने, ‘यही अवस्था रहे भोलिका दिनमा राज्यले धान्नै नसक्ने अवस्था पनि हुनसक्छ। त्यसैले अहिलेदेखि नै रोकथामको लागि छुट्टै विभाग गठन गर्नुपर्छ।'

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.