|

काठमाडौं : पाँच वर्षअघि संयोगले पंक्तिकारको भेट अभिनेता माओत्से गुरुङसँग भएको थियो। नाट्य र सिने क्षेत्रमा स्थापित बनेका गुरुङ त्यसबखत आफ्ना अभिनय यात्राका अनुभव सुनाउँदै भनेका थिए, ‘केही समयअघिसम्म नेपाली चलचित्र विशुद्ध मनोरञ्जनका लागि बनाइने गरेको थियो। अब यतिले मात्र एउटा चलचित्र पूर्ण हुन सक्दैन्।’

हामीले हाम्रा कथा मौलिक तरिकाले चलचित्रमार्फत भन्न नसकेको प्रति उनी खिन्न देखिन्थे।  ‘हामीले निर्माण गर्ने चलचित्र संरचना पनि हाम्रो मौलिक होइन। संरचना परिवर्तन नेपाली चलचित्रका लागि आजको आवश्यकता हो', उनले भनेका थिए। कुनै चलचित्र निर्देशनको चटारोमा रहेका उनी हतारमा रहेको भन्दै बिदा भएका थिए।

त्यसको पाँच वर्षपछाडि गुरुङले निर्देशन गरेको चलचित्र दयारानी प्रदर्शनमा आउँदैछ। प्रदर्शनमा आउँदै गरेको चलचित्र नि:सन्तान दम्पतीको कथामा आधारित छ।

निसन्तान श्रीमान्-श्रीमतीबीच कस्ता उत्तारचढाव आउँछन्? बच्चा नहुनुको दोष कसलाई बढी दिइन्छ पुरूष वा महिला?

बच्चा नहुनु समस्या हो या पाप? नेपाली समाजमा यदी कोही निसन्तान श्रीमान श्रीमती छन् भने यसको दोष महिलालाई नै लगाइन्छ। कमजोरी पुरुषमा पनि हुन सक्छ। तर, पुरुषमाथि त्यति धेरै प्रश्न गरिँदैन। जति महिलामाथि गरिन्छ। किनभने यो पुरुषवादी चिन्तनले भरिएको समाज हो।

नेपाली समाजमा अझै पनि महिलाहरू पुरुषवादी चिन्तनको चपेटामा छन्। त्यसमाथि नि:सन्तान हुँदा महिलाले भोग्नुपर्ने अतरिक्त भार पीडादायक छ।

गुरुङले महिलामाथि भएको पीडा देखेका छन् । ‘मैले समाजमा निसन्तान दम्पती देखेको छु। यसको पीडा दुवैलाई हुन्छ। तर भार भने महिलाले भोग्नुपर्छ’, उनले चलचित्रको कथाबारे भन्छन्, ‘नि:सन्तान भएपछि हुने पारिवारिक द्वन्द्व नै चलचित्रको विषय हो।’

विवाह गरेको धेरै समयपछि सन्तान नभएपछि उपचार खोज्न हिँड्ने विषयमा चलचित्र बनेको उनले बताए।  ‘आफूलाई मर्दको रूपमा देखाउन चलचित्रको पुरुष पात्रले यथार्थ लुकाउँदा महिलाले भोग्नुपर्ने पारिवारिक सामाजिक तथा मनोवैज्ञानिक दबाबले  विभिन्न आयाम चलचित्रमा विस्तृत रूपमा देखाउन खोजिएको छ’, निर्देशक गुरुङ भन्छन्।

कथा चलचित्रमा देखाए पनि आजको नेपाली समाजको मुल समस्या पनि यहि रहेको उनको बुझाई छ। ‘हामी पुरुष अहंकारमा हुर्किएका छौँ। आज पनि हाम्रो अहंकार उस्तै छ’, उनले सुनाए, ‘यहि अहंकारमार्फत सन्तानप्राप्तिको रस्साकस्सीमा महिलालाई कसरी प्रताडित बनाइन्छ? चलचित्रबाट देखाउन खोजेको हुँ।‘

 गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित रहे नि यो नेपाली समाजको साझा कथा हो। सातभन्दा बढी गुरुङ चलचित्र निर्देशन गरेका माओत्सेले यो चलचित्रबाट नेपाली भाषाको चलचित्रमा डेब्यु गरेका हुन्।

अब चलचित्र विशुद्ध मनोरञ्जनका लागि मात्र हेरिदैँन। यसले दिने सन्देश र समाजको वास्तविकतालाई पनि केलाउन थालिएको छ।

अभिनय, कला र विषयलाई नजिकैबाट गहिरिएर बुझ्न खोज्ने जमात बढ्दै गएको छ। दर्शकमा बढ्दो चेतनाका कारण पनि मनोरञ्जनसँगै  चलचित्रले समाज देखाउन जरुरी रहेको गुरुङले बताए। यसको मतलब चलचित्र समाजको ऐना नभए पनि  देशमा सामाजिक, आर्थिक र राजनीतिकरूपमा  चलिआएको, चलिरहेको, चल्न बाँकी संगति र विसंगतिका कथा आउन जरुरी रहेकाले आफूले दयारानीबाट प्रयास गरेको गुरुङ बताउँछन्।

पाँच वर्षअगाडि छायाकंन

करिब पाँच वर्षअघि कास्कीको मादी गाउँपालिका  याङ्जाकोट गाउँमा यो  चलचित्रको छायाङ्कन भएको हो। प्रदर्शन गर्न भने लामो समय लाग्यो। कारण नसोधिदिए पनि हुन्थ्यो भन्ने लाग्छ गुरुङलाई।

भेटमा पंक्तिकारले सोध्यो, ’प्रदर्शन गर्न किन ढिला गर्नुभयो?’  यसको जवाफ नदिऊँ कि क्या हो भन्ने शैलीमा उनले भने, ‘चलचित्र छायाङ्कन गरेपछि काठमाडौं फर्किएँ। अन्य चलचित्रमा यति धेर अफर आएकी यो चलचित्रबारे सोच्न छोडिसकेको थिएँ।’

उनका अनुसार अन्य चलचित्रमा व्यस्तता बढेको सत्य हो। त्यसपछि कोरोनाले रोकिएको पनि सत्य हो। त्यो भन्दा ठूलो सत्य के हो भने आफूलाई आफ्नो चलचित्र रिलिज गर्न डर लाग्यो। 

निर्माण भएर राखिएको चलचित्र प्रदर्शन गर्नुपर्छ भन्ने कुरा नै उनले भुलिसके पनि एकदिन चलचित्र वितरक प्रचण्डमान श्रेष्ठले चलचित्रबारे कुरा उठाएपछि  प्रदर्शनमा ल्याउन हिम्मत आएको उनले सुनाए।

नाटक हुँदै चलचित्र

लाहुरेको विरासत त्यागेर  ५० को दशकबाट नेपाली नाट्य क्षेत्रमा लागेका गुरुङले थुप्रै नाटकमा अभिनय गरे। चलचित्र पनि गरे।  उनको अभिनयलाई दर्शकले मन पनि पराए।

साना नाटकलाई छाडेर चर्चामा आएका नाटकको हिसाबले 'क्रिया : नाम, सर्वनाम, विशेषण', 'भीक्षां देही', 'मलामी', 'सिरुमारानी', 'अटलबहादुरको आतंक', 'हारेका मान्छेहरू', 'तपस्या'लगायत नाटक गरेका छन्।

चलचित्रको हिसाबले गुरुङ भाषाको चलचित्र 'रिचमे', 'पतझड', 'काँडा', 'कृपा', 'अचम्मै भो', 'नकैफूँ' चलचित्र, 'पाते २' र 'कबड्डी कबड्डी', 'व्हाइट सन', 'पुरानो डुंगा', 'अग्निदहन', 'चङ्गाचेट' लगायत २० भन्दा बढी छन्। 

नेपाली भाषाको चलचित्रमा निर्देशनमा डेब्यु गरेका गुरुङलाई कस्तो प्रतिक्रिया आउँछ? उनी माघ २६ गतेको प्रतीक्षामा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.