|

 काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा औषधि व्यवस्था विभागका अधिकारीहरुको समेत निरीक्षणपछि कानूनविपरीत महँगोमा औषधि बिक्री वितरण गरिरहेका वीर अस्पतालछेउकै दुईवटा फार्मेसी बन्द गराएको छ।

वीर अस्पतालको नयाँ भवन (सर्जिकल) को छेउमै गुठीको जग्गामा निजी तवरमा सञ्चालित उपकार फर्मा र सत्यम फर्माले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधि महँगोमा विरामीलाई बिक्री वितरण गरिरहेको फेला परेपछि दुईवटै फार्मेसी बन्द गरिएको हो।

विरामीलाई आवश्यक पर्ने औषधि वीर अस्पतालभित्रका फार्मेसीमा नपाउने र वीरका निर्देशकले मिलेमतोमा विरामीलाई बाहिरका फार्मेसीबाट महँगो औषधि किनाउने गरेको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले औषधि व्यवस्था विभागका विज्ञहरु र मन्त्रालयका अधिकारी लिएर बिहीवार आकस्मिक रुपमा वीर अस्पतालले सञ्चालन गरेका अस्पतालभित्र रहेका फार्मेसी र अस्पतालबाहिर सञ्चालनमा रहेका निजी फार्मेसीहरुको अनुगमन गरेका थिए।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा, डा दीपेन्द्ररमण सिंह र नीति तथा योजना प्रमुख डा कृष्ण पौडेल र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा सिनियर फर्मासिस्टसहितको विज्ञ टोली वीर अस्पताल पुगेको थियो। अनुगमनमा स्वास्थ्यमन्त्री बस्नेत आफू नै सहभागी भएका थिए।

सो अवसरका मन्त्री बस्नेतले वीरलगायत अधिकांश सरकारी अस्पतालहरुले आफूले सञ्चालन गरेका फार्मेसीहरुमा विरामीलाई चाहिने औषधि उपलब्ध नगराएर बाहिरका निजी फार्मेसीहरुसँगको कमिसनको मिलेमतोमा महँगोमा औषधि किनाउने गरेको गुनासो आए पनि आकस्मिक निरीक्षण गर्नु परेको बताए।

मन्त्री बस्नेतले भने‚ ‘वीरलगायतका सरकारी अस्पतालहरुका फार्मेसीमा विरामीलाई आवश्यक पर्ने औषधि नराख्नुको कारण पत्ता लगाएर समाधान खोज्न अनुगमन गरिएको हो। जनतालाई अस्पतालकै फार्मेसीबाट न्यूनतम मूल्यमा सहज रुपमा औषधि उपलब्ध गराउनु पर्छ। कसैको मिलेमतो र कमिसनको चक्करमा विरामीले महँगोमा औषधि किन्नुपर्ने बाध्यता हटाउनु पर्छ।’

अनुगमनको रिपोर्ट आएपछि वीरलगायत देशभरिकै सरकारी अस्पतालहरुमा सहज रुपमा अस्पतालकै फार्मेसीबाट औषधि उपलब्ध गराइने व्यवस्था गर्ने मन्त्री बस्नेतले बताए।

अनुगमनका क्रममा वीर अस्पतालभित्र सञ्चालनमा रहेका तीनवटै फार्मेसीमा आवश्यक औषधि फेला नपरेको अतिरिक्त सचिव डा विकास देवकोटाले बताए। भित्रै उपलब्ध हुने औषधिको लागि समेत बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता रहेको विरामीहरुले गुनासो गरेका छन्। 

अस्पतालबाहिरका दुईवटा फार्मेसी निरीक्षण गर्दा भद्रगोल अवस्था देखिएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए।

सत्यम र उपकार फर्माले औषधि व्यवस्था विभागमा दर्ता नै नभएका औषधि बिक्री वितरण गरिरहेको, म्याद गुज्रेका औषधि बिक्री वितरण गरिरहेको र औषधिको भण्डारण पनि सही ढंगले नगरेको पाइएपछि ती दुवै फार्मेसी बन्द गर्ने निर्णय गरेको महानिर्देशक ढकालले जानकारी दिए।

अन्य फार्मेसीहरुको पनि निरन्तर अनुगमन गरेर निर्णय लिइने ढकालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.