|

काठमाडौँ : खाद्य पदार्थमा प्रयोग हुने ट्रान्स–फ्याट (अति खराब चिल्लो)को स्तरलाई सीमित गरेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई बधाई दिएको छ। 

डब्लूएचओले स्वास्थ्य प्रवर्धन र जीवन बचाउने उद्देश्यले कानून बनाई खाद्य आपूर्तिमा औद्योगिक रूपमा उत्पादन हुने ट्रान्स–फ्याट (अति खराब चिल्लो) एसिडको स्तरलाई सीमित गरेकोमा नेपाललाई बधाई दिएको हो। 

'स्वास्थ्य प्रवर्धन गर्ने तथा जीवन बचाउने उद्देश्यसहित नेपालले विधान निर्माण गरी औद्योगिक रूपमा उत्पादित खाद्य पदार्थमा ट्रान्स-फ्याट एसिड अर्थात् अति खराब चिल्लो पदार्थको मात्रा नियन्त्रण गरेकोमा हामी बधाई दिन्छौँ। ट्रान्स–फ्याट एसिड उन्मूलन गर्न यो एक प्रभावी उपाय हो जुन मुटु रोगबाट अकाल मृत्यु रोकी ठूलो स्वास्थ्य लाभ प्रदान गर्नेछ’, डब्लूएचओकी दक्षिण पूर्वी एशियाकी क्षेत्रीय निर्देशक साइमा वाजेदले भनिन्।

दक्षिण पूर्वी एशिया क्षेत्रमा नसर्ने रोगको रोकथाम र नियन्त्रणलाई प्राथमिकता दिँदै डब्लूएचओले अन्य उपाय सहित राष्ट्रिय खाद्य आपूर्तिबाट ट्रान्स-फ्याट एसिड उन्मूलनका लागि सहयोग गर्दै आएको छ।

नेपालको कानूनसँगै अब यो क्षेत्रका १ अर्ब ६० करोड मानिस ट्रान्स-फ्याट एसिडको हानिबाट सम्भावित रूपमा सुरक्षित हुने समेत डब्लूएचओले जनाएको छ। 

विश्वव्यापी रूपमा, औद्योगिक रूपमा उत्पादित ट्रान्स–फ्याट एसिडको सेवन वर्षेनि ५ लाख ४० हजार मृत्युको कारण हुन सक्छ। उच्च ट्रान्स-फ्याट सेवनले मुटु रोगबाट मृत्युको जोखिम उल्लेख्य रूपमा बढ्छ। ट्रान्स-फ्याटको कुनै ज्ञात स्वास्थ्य लाभ छैन।

डब्लूएचओको दक्षिण पूर्वी एशिया क्षेत्रमा हरेक वर्ष हुने करिब ९० लाख मृत्युमध्ये ६९ प्रतिशतको कारण नसर्ने रोग हो।

सन् २०१८ मा डब्लूएचओले औद्योगिक रूपमा उत्पादित ट्रान्स–फ्याट एसिडको उन्मूलन हासिल गर्न सघाउन ६ वटा रणनीतिको एक ‘रिप्लेस’ गाइड जारी गर्‍यो। ‘रिजल्भ टु सेभ लाइभ्स’को सहकार्यमा, ‘रिप्लेस’ प्रोटोकल क्षेत्रभर लागू भइरहेका छन्।

सन् २०२२ सम्म थाइल्याण्ड, भारत र बंगलादेशले खाद्यान्न आपूर्तिमा ट्रान्स–फ्याट एसिड उन्मूलनका लागि नियम अपनाएका थिए। इण्डोनेशियासँग पूरक नीतिगत उपाय थिए। श्रीलंकाले सन् २०२३ मा नियमावली जारी गर्‍यो। नेपालले ८ फेब्रुअरीमा ट्रान्स–फ्याट एसिड सम्बन्धी कानून जारी गरेको थियो। 

ट्रान्स–फ्याट एसिड प्रतिबन्धित गर्नु डब्लूएचओ दक्षिण पूर्वी एशिया क्षेत्रको ‘सी हार्टस्’ अन्तर्गतका उपाय अपनाएको छ। 

डब्लूएचओले यो क्षेत्रका देशलाई ट्रान्स–फ्याट एसिडविरुद्धको प्रगतिलाई अगाडि बढाउन उत्तम अभ्यास नीतिहरू, अनुगमन र निगरानीमा ध्यान दिन आग्रह गरेको छ।

गत महिना, थाइल्याण्ड औद्योगिक रूपमा उत्पादित ट्रान्स–फ्याट एसिड उन्मूलनमा प्रगति प्रमाणित गर्ने डब्लूएचओ प्रमाणपत्रको पहिलो पाँच प्राप्तकर्तामध्ये एक थियो।

खाद्य आपूर्तिबाट ट्रान्स–फ्याट एसिड हटाउनाले मानिसहरूको स्वास्थ्य र कल्याणमा सुधार हुनेछ र सन् २०३० सम्म नसर्ने रोगबाट समयअगावै हुने मृत्युदरलाई एक तिहाइसम्म घटाउने एसडीजी (सस्टेनेबल डेभलपमेन्ट गोल) लक्ष्य प्राप्त गर्न मद्दत मिल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.